चुलाचुली / नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले वैशाख १५ गते हुन लागेको उप निर्वाचनमा डम्बर खड्कालाई भोट दिएर विकासको जिम्मा आफूलाई दिन आग्रह गरेका छन् ।
चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले युवा र सक्षम उम्मेद्धार भएकाले डम्बर खड्कालाई जिताउन आग्रह गरेका हुन् । उनले भने ‘डम्बर खड्कालाई भोट दिनुहोस् विकासको जिम्मा म लिन्छु ।’
रुख चुनाव चिन्हमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाए विकासले समेत गति लिने उनको भनाई छ ।
नेता कोइरालाले नेपाली काँग्रेसले पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने गरेको बताए ।
काँग्रेस सधैँ पहिचान, पहुँच र प्रतिनिधित्वको पक्षमा भएको भन्दै उनले काँग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध गरे ।
‘गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरु बिराटनगर जानुभएको थियो, मैले उहाँहरुलाई पहिचानको मुद्दामा म सम्बेदनशिल रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ’ उनले भने ‘अर्को कुरा प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईं सबैलाई थाहा नै छ ।’
सम्बोधनको क्रममा उनले अन्य दलहरु आफ्नो दल र तिनका नेता भन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन् भन्ने कुरा लिएर हिंडेको उल्लेख गरे ।
नेता कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चियाबगानमा काम गर्ने श्रमिकहरुका लागि समान ज्याला र उनीहरुको हकहितका पक्षमा काम गर्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया