इटहरी उपमहानगरले जारी गरेको ड्रेस कोडप्रति नागरिक समाजको असहमति, शिक्षाको गुणस्तर सुधार्न जोड

बुधबार, १२ बैशाख २०८१
इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरी भित्रका विद्यालयहरूलाई ड्रेस कोड अनिवार्य गरेपछि नागरिक समाज त्यसको विरुद्धमा उत्रिएको छ । नागरिक समाज इटहरीले इटहरीका विद्यालयहरूमा पुरानै पोसाकलाई निरन्तरता दिन आह्वान पनि गरेको छ । मङ्गलवार एक ध्यानाकर्षण पत्र जारी गर्दै समाजले विगत केही समयदेखि विद्यालय पोसाकमा एकरूपता कायम गर्ने सम्बन्धमा उपमहानगरले जारी गरेको सूचनाले अभिभावक, विद्यार्थी, विद्यालय र समग्र समाजलाई नै दुबिधामा पुऱ्याएको समाजको ठहर छ । ‘आर्थिक मन्दिले आक्रान्त समाजलाई विद्यार्थीको पोसाक परिवर्तनले आर्थिक बोझ मात्र बढाउने र शिक्षाको गुणस्तर बढाउन विद्यालय पोसाकमा एकरूपताले भूमिका खेल्छ भनेर अभिभावक तथा नागरिक समाजलाई स्विकार्न कठिन भएको छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ । अधिकांश कार्यक्रमहरूमा अभिभावकहरूले विद्यालय पोसाकमा एकरूपता कायम गर्ने सम्बन्धमा नकारात्मक धारणा प्रस्तुत गर्नाका साथै अधिकांश वडा अध्यक्ष तथा पालिका सदस्यहरू विद्यालय पोसाकमा एकरूपता कायम गर्ने बारेमा पालिका सभाबाट निर्णय नभई उपमहानगरपालिकाले जारी गरेको सूचनाको वैधानिकता नभएको पत्रमा उल्लेख गरिएको छ ।   शिक्षा सुधारको नाममा हालको विवादले इटहरीले पहिचान बनाउँदै गरेको शैक्षिक गन्तव्यको छविमा नकारात्मक प्रभाव समेत पारेको नागरिक समाजकी अध्यक्ष वालिका भट्टराईले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ इटहरीका संस्थागत विद्यालयहरूले उपमहानगरले तोकेको ड्रेस कोड नमान्ने जनाएका थिए । उपमहानगर भित्र सञ्चालित संस्थागत विद्यालयको छाता सङ्गठनहरूले ड्रेस कोड र शुल्क निर्धारणप्रति असहमति जनाएका थिए । उपमहानगरले नगरभित्र सञ्चालित विद्यालयहरूमा एउटै ड्रेस कोड लागु गर्ने निर्णय गरेको थियो। सो निर्णय विरुद्ध उच्च अदालतमा मुद्दा समेत परेको थियो । सो मुद्दामा उच्च अदालत विराटनगरले उपमहानगरपालिकाको पक्षमा फैसला गरेको थियो । तर ड्रेस कोडको चौतर्फी रूपमा विरोध सुरु भएको छ । उपमहानगर क्षेत्रमा संस्थागत विद्यालयहरूमा झन्डै ४२ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार