नियन्त्रणबाहिर आगलागी र डढेलो,१४ दिनमा १० जनाको मृत्यु, ४६३ घर पूर्ण रूपमा ध्वस्त, ९४४ परिवार विस्थापित

शनिबार, १५ बैशाख २०८१
४३ जना घाइते २०२ मा घरमा आंशिक क्षति २७१ गोठ जले, ४४६ पशुचौपाया मरे २३ करोड ७३ लाखको भौतिक क्षति काठमाडाैं- वैशाख लागेयता देशभर आगलागी र डढेलो भयावह बनेको छ । गत वर्षको तुलनामा क्षति पनि दोब्बरले बढेको छ । शुक्रबार मात्र देशका दर्जनौँ ठाउँमा आगलागी भएको छ । गृह मन्त्रालयमातहतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक (नेपाल प्रहरीले संकलन गरेको) हेर्दा १४ वैशाखसम्म देशका चार सय २६ ठाउँमा आगलागी भएको छ भने दुई सय ४३ स्थानमा डढेलो बस्ती पसेको छ । १४ दिनमा आगलागीमा परी १० जनाले ज्यान गुमाएका छन् । ४३ घाइते भएका छन् । ६ सय ६५ घरमा आगलागी हुँदा नौ सय ४४ परिवार प्रभावित-विस्थापित भएका छन् । २३ करोड ७३ लाखको भौतिक क्षति आकलन गरिएको छ । गत वर्ष यही अवधि ९१–१४ वैशाख०मा तीन सय ३३ ठाउँमा आगलागी–डढेलो लाग्दा पाँचजनाको मृत्यु भएको थियो, २२ जना घाइते भएका थिए । एक सय २५ घर पूर्ण र ९१ घर आंशिक गरी दुई सय १६ घरमा आगलागी हुँदा तीन सय ९७ परिवार प्रभावित भएका थिए । एक सय चार गोठमा आगो लाग्दा दुई सय तीन चौपाया मरेका थिए भने १४ करोड १३ लाखको क्षति भएको छ । महोत्तरी मटिहानी नगरपालिका– ६ जरलहवा टोलमा बुधबार भएको भीषण आगलागी एक सय तीन घरमा सल्कियो । एक सय घर पूर्ण रूपमा जलेका छन् । झन्डै पाँच सय स्थानीय विस्थापित भएका छन् । परालको कुनिउँमा लागेको आगो बस्तीभर फैलिएर एक करोड ६२ लाख ८५ हजारको क्षति भएको आकलन मटिहानी नगरपालिकाको छ । पछिल्लोपटक हरेक दिन कुनै न कुनै ठाउँमा आगलागी भइरहेको छ । तर, बस्ती नै सखाप पार्ने गरी भएको जरलहवाको आगलागी ०८१ कै पहिलो हो । वनमा लागेको डढेलो ८ वैशाखमा बस्ती पसेपछि इस्मा गाउँपालिका– २ हस्तीचौर र वडा नम्बर ४ सिदुंखाकाका २६ घर, ४९ गोठ जलेका थिए । एक सय ९९ स्थानीय छिमेकी र त्रिपालमुनि बसेका छन् । ९ वैशाखमा सप्तरी कञ्चनरूप नगरपालिका– ५ पडेमारामा आगलागी हुँदा १२ परिवारका २४ घर जलेका थिए । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आगलागीका कारण र आगामी दिनमा ठूलो क्षति हुन नदिन अपनाउनुपर्ने सजगताबारे अध्ययन गर्न प्राधिकरणले टोली खटाएको बताए । ‘डढेलो निभाउन तीन प्रकारका तालिम दिएका छौँ । वन उपभोक्ता र युवालाई आगो निभाउने तालिम दियौँ । आगो निभाउन खटिने सुरक्षा अंगलाई पनि फायर फाइटिङसम्बन्धी तालिम दिएका छौँ । त्यस्तै, जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकायलाई पनि तालिम दिएका छौँ,’ उनले भने, ‘यसपटक महोत्तरी, सप्तरी र गुल्मीमा आगलागीका ठूला घटना भएका छन् । ती क्षेत्रमा भएको क्षतिको विस्तृत अध्ययन, आगलागीका कारण र आगामी दिनमा ठूलो क्षति हुन नदिन अपनाउनुपर्ने सजगताबारे अध्ययन गर्न प्राधिकरणले टोली नै खटाएको छ । देशभरका वनजंगलमा डढेलो देशभरका वनजंगलमा डढेलो छ । नासाले स्याटेलाइटबाट लिएको तस्बिरका आधारमा विश्लेषण गर्दा पछिल्लो २४ घण्टामा तीन सय ७६ ठाउँमा डढेलो लागेको छ । यो कम्तीमा एक किलोमिटर क्षेत्रमा लागेको डढेलो हो । नक्सा हेर्दा पश्चिम तराई र पहाड तथा मध्यनेपालको पहाडी क्षेत्रमा डढेलो धेरै देखिन्छ । सामुदायिक र राष्ट्रिय वन मात्र होइन, संरक्षित वन (निकुञ्ज, आरक्ष)मा पनि डढेलो छ । सबैभन्दा बढी कैलालीमा ३० ठाउँमा डढेलो लागेको छ । त्यस्तै, धेरै डढेलो लागेका जिल्लामा सल्यान र सुर्खेतमा २८–२८, बर्दियामा २५, डडेल्धुरामा २४, दाङमा २३, प्युठानमा १७, डोटीमा १५ र उदयपुरमा १३ ठाउँमा डढेलो छ । बिहीबार चार सय ४० र बुधबार चार सय ६३ ठाउँमा डढेलो थियो । वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । पछिल्लो तथ्यांक हेर्दा नेपालमा डढेलोमा मात्र ९बस्तीमा भएका आगलागीबाहेक० बर्सेनि सातजनाको ज्यान जाने गरेको छ । विपत् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भन्छन्– मान्छेको लापरबाहीकै कारण आगलागीले विकराल रूप लियो यसपटक आगलागी र डढेलोले विकराल रूप लिन्छ भनेर प्राधिकरणले पहिल्यै आकलन गरेको थियो । त्यहीअनुसार सजगता अपनाउन भनेका थियौँ । तर, मान्छेकै लापरबाहीका कारण आगलागीले विकराल रूप लिएको हो । खेतमा झारपात डढाउने नाममा होस् कि खर राम्रो हुन्छ भनेर जंगलमा आगो लगाउने होस्, मान्छेले नै गरेका हुन् । आगो फैलिन तयार भएर बसेको अवस्थामा सलाई कोरिदिँदा जंगल, बस्ती जलिरहेका छन् । यो हिउँदमा २० प्रतिशत मात्र पानी पर्‍यो, सुक्खा लम्बिएको छ । देशभर तापक्रम बढेर तराईमा त तातो हावाको लहर चलिरहेको छ । गत दुई वर्षमा डढेलो कम लागेको थियो, यसपटक जंगलमा पातपतिंगर, दाउरा थुप्रिएर बसेका थिए । जंगलमा चिस्यान कम भयो, हावाहुरी पनि चलिरहेको छ । को कहाँ चुके ? डा. धर्मराज उप्रेती जलवायु तथा विपत् व्यवस्थापनविज्ञ जनस्तरमा लापरबाही स् गहुँको छ्वाली जलाउन र फोहोर डढाउन लगाइएको आगो बस्ती र जंगलमा सल्किरहेको छ । जनस्तरमा यसरी भइरहेको लापरबाहीले घर मात्र जलेका छैनन्, मान्छेकै ज्यान गइरहेको छ । खर राम्रो हुने, घाँस पलाउँछ भनेर जंगलमा आगो लगाउने, चुरोटको ठुटा फ्याँक्ने गर्दा आगलागीले विकराल रूप लिएको हो । सामुदायिक वनको सक्रियता देखिएन स् यसपटक आगलागी वा डढेलो धेरै ठाउँमा हुन्छ भन्ने अनुमान थियो । देशभर २२ हजार सात सय सामुदायिक वन छन् । तर, आगो लाग्न नदिन सामुदायिक वनको भूमिका देखिएन । हरेक सामुदायिक वनले अग्निरेखा बनाएका हुन्छन् । यसले जंगलको डढेलो गाउँबस्ती पस्न दिँदैन । जंगलमा पनि ब्लक छुट्याइएको हुन्छ, एक ठाउँमा लागेको आगो अर्को ब्लकमा सल्किन पाउँदैन । तर, सामुदायिक वनले अग्निरेखा सफा ९डढेलो सल्किहाले अन्यत्र नफैलियोस् भनेर पातपतिंगर डढाएर बनाइएको रेखा० गरेन । यसले जंगल सखाप भएर बस्तीमा गइरहेको छ । पालिका र प्रदेश सरकारको भूमिका देखिएन स् आगो लागिसकेपछि निभाउनमा स्थानीय तह अगाडि छन् । तर, आगलागी हुन नदिनका लागि माइकिङ गर्ने, सचेतना फैलाउने काम गर्नुपर्ने हो, त्यो देखिएन । यसमा प्रदेश सरकारको त झनै भूमिका देखिएन । संघ सरकार लाचार स् आगलागीको प्रक्षेपण भइसकेपछि संघ सरकारले पूर्वतयारी गर्नुपथ्र्यो, गरेन । देशभर आगलागी, डढेलो लाग्न थालेपछि गृह प्रशासन र जिल्ला प्रशासनले सुरक्षाकर्मी परिचालन गर्नुपर्दथ्यो । अटेरी गर्ने, आगो लगाउनेलाई पक्रेर कारबाही गर्ने अभियान नै थालेको भए जनस्तरको लापरबाही कम हुन्थ्यो । प्रशासनले एक्सन लिएमा डराउँथे, तर यसप्रति ध्यान गएन । ठूलो क्षेत्रमा डढेलो, बस्ती नै सखाप हुने गरी आगलागी भइरहेको छ । दमकल प्रयोग गर्दा पनि निभाउन दिनभर लागिरहेको छ । यस्ता ठूला आगलागी भएका क्षेत्रमा सरकारले हेलिकोप्टरको बकेटमार्फत पनि आगो निभाउनुपर्ने हो । डढेलो बस्तीमा जानबाट रोक्न सकिन्थ्यो । यसमा सरकारले मतलब गरेको छैन । आगो लागिसकेपछि सुरक्षाकर्मी निभाउन जान्छन्, यथोचित उपकरण नहुँदा ज्यान गुमाउनुपरेको छ । डोल्पामा तीन सैनिकको ज्यान गयो । स्याउलाले आगो निभाउन पठाइन्छ । आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार