राजेश मिश्र‘अफेन्स ईज द बेस्ट डिफेन्स’, अर्थात् आक्रामकता सुरक्षाको सर्वाधिक बलियो हतियार हो । यो उट्पट्याङ्ग पहिले कसले भन्यो, थाहा छैन । तर लेखनीमा उदृत पहिलो इतिहास खोतल्दा यस्तो भन्ने मान्छे अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिंगटन हुन् भन्न सकिन्छ । सन् १७७६ मा बेलायती उपनिवेश विरुध्द स्वतन्त्रताको उद्घोष गर्ने अमेरिकाका जर्साब उनले सन् १७९९ मा भनेको यो कुरा आज संसारभरीका अधिनायकवादीहरुको मन्त्र भएको छ । अधिनायकवाद लोकरञ्जन र समाजवादको घोडा चढेर जनतामाझ निहुरिँदै आउँछ । प्रजातन्त्र नामको पध्दति निर्वाचित तानाशाहहरुका निम्ति ओछ्याईएको रातो गलैंचा हो । दोस्रो विश्व युध्दमा जर्मनीका समाजवादी तानाशाह अडोल्फ हिटलरलाई परास्त गरेपछि तत्कालीन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए, ‘प्रजातन्त्र विश्वको सबैभन्दा गएगुज्रेको राजनीतिक पध्दति हो, तर यो भन्दा राम्रो अर्को व्यवस्था पनि आजसम्म भेटिएको छैन ।’ हिटलर शाकाहारी थिए । मदिरामा आसक्त थिएनन् । यौनेच्छाको मामिलामा उनी संयमित थिए । इभा ब्राउन बाहेक अरु कुनै नारीसँग उनको संसर्गको किस्सा सुनिएको छैन । तर उनले आर्यन रगत शुध्द बनाउने नाममा साठी लाख यहुदीको संहार गरिदिए । इतिहासमा उनको नाम लुसिफर भन्दा कलंकित छ । विन्स्टन चर्चिल ब्रेकफास्टमा पाउरोटीसँग स्कच पिउँथे । खानामा मासु नभई हुँदैनथ्यो । दक्षिण अमेरिकामा कोकीन उत्पादनले गति लिन थालेको थियो । उनी त्यसको सर्को लगाउन पनि धक मान्दैन थिए । नारीसँगको उनको बसाउठाबारे इतिहासमा अभिलेख छैन । तर पनि उनी लसपसका पारखी थिए भन्ने कुरा बेलायती टेब्लोईडहरुले खुब लेखेका छन् । अमेरिकामा जन्मिएर बेलायती संसद सदस्य भएकी महिला थिईन् एकजना– न्यान्सी एस्टर । चर्चिल र उनको जहिल्यै दन्तबझान हुने । एउटा समारोहमा न्यान्सीले चर्चिललाई भनिन्, ‘म तिम्रो स्वास्नी भए तिमीलाई चियामा बीष हालिदिने थिएँ ।’ चर्चिलले जवाफ दिए, ‘म त त्यो चिया सहर्ष पिउने थिएँ । तिमीलाई पुलीसले जे गर्ने हो त्यो गथ्र्यो ।’ अर्कोचोटी अर्कै समारोहमा चर्चिल अलि मातेका थिए, मदिरा बढी भएछ । लेडी एस्टरले भनिन्,‘ए चर्चिल, तिमी मातेको छौ ।’ चर्चिलको जवाफ थियो,‘म त भोली बिहान ब्यूँंझिँदा होशमा हुनेछु, तिमी चाहिं अहिले जस्ती कुरुप छ्यौ, त्यस्तै कुरुप देखिनेछौ ।’ केपी ओली नेपाली राजनीतिक परिदृश्यमा पनि छन् यस्तै एक वाचाल चरित्र । नाम हो— केपी ओली । उखानटुक्काका भकारी । चर्चिलले बेलायतलाई युध्दमा जिताए । ओलीले नेपाली आकांक्षालाई सधैं धुलिसात तुल्याएका छन् । बाल्यकालमा लिम्बुहरुले खेदेर झापा पुगेको तुष छ उनमा । सोह्र बर्षमा नरसंहार गरेको सम्झनाले उनलाई कहिल्यै छोड्ने छैन । रौतहटमा लुकेर बस्दा अल्लारेपनाले गर्दा मोहनचन्द्र अधिकारीलाई समेत पक्राएको कुरा उनलाई अहिले क्रान्तिकारी रोमाञ्च लाग्छ । मदन भण्डारी सक्रिय हुन्जेल उनले कुनै जिम्मेवारी पाएनन् । जेल बस्दा जसले स्याहार गरेको थियो, उनै राधाकृष्ण मैनालीले झापाबाट झिकाएको पैसाले पाटनमा लोकल ठर्रा र खैनीको जुगाड गर्ने अवस्था थियो । तत्कालीन माले पार्टीले राजधानी उपत्यकाका नेवार समुदायमा हेलेमेल गरेर केटी फसाउने निर्देशिका जारी गरेको थियो । इश्वर पोखेल देखि पार्टीका तल्लो तहका शंकर पोखरेल सम्मले आफ्नो ‘जिम्मेवारी’ पूरा गरिसकेका थिए । ओलीलाई पत्याउने कन्या फेला परेका थिएनन् । पार्टीकै मान्छे लागेर राधिका शाक्य फेला पारिदिए । बैंकमा काम गर्ने कार्यकर्ता पाएपछि ओलीको खाना, दाना, माना, छाना व्यवस्थित भएको हो । मदन भण्डारीको असामयिक निधन पछि एमालेका दोस्रो दर्जाका नेताहरुको भाग्य खुल्यो । माधव नेपाल बैंकका खजाञ्ची मात्र थिएनन्, सानो कदकाँटीका हिटलर जुंगे उनी संगठन निर्माणमा निपुण थिए । महत्वाकांक्षाका महाधनी ओलीलाई माधव नेपालप्रति ईष्र्या हुनु स्वाभाविक थियो । मनमोहन अधिकारीको निधन पछि एमाले दुई कित्तामा बाँडिएको परिणाम आज जे छ त्यो त्यही हो । महाकाली सन्धी गरेर नेपालको जलस्रोत भारतको पोल्टामा सुम्पिनु बाहेक माधव र ओली कहिल्यै कुनै कुरामा एकमत छैनन् । यी दुवैमा को भारतको प्यादा बन्ने भन्ने कुरामा प्रतिस्पर्धा थियो र छ । माधव नेपाल आफूले आर्जेको पार्टीमा ओलीले गरेको दोहन देखेर कुपित छन् । ओली भारतको बिरोध गरेको नाटक गर्दै भारतकै हितमा छन् । एमाले कार्यकर्ता रनभूल्ल छन् । नेकपा (एस) भारतको अर्को स्लिपिंग सेल मात्रै हो । बुझ्नेले कुरा बुझेका छन् । शेर बहादुर गगन थापालाई अघि सारेर चुपचाप बसेका होईनन् ।
प्रतिक्रिया