स्वामी आनन्द अरुणज्युको सत्संगमा हुर्किएको म उहाँसँगै धिरेन्द्र कृष्णजीको कथावाचनमा सहभागी बनें । इन्डियाका प्रायः सबै गुरुहरुलाई भेट्न रुचाउनुहुने ओशो शिष्य स्वामी आनन्द अरुण र श्री धिरेन्द्रकृष्ण शास्त्रीजीको बहुत राम्रो मित्रता छ । पहिलो र दोस्रो दिन त स्वामी अरुणलाई कथाबाचक शास्त्रीले आफ्नै गाडीमा बसाएर कथास्थलसम्म लगे ।
स्वामी आनन्द अरुणलाई मन्चमा देख्ने बित्तिकै कथाबाचक धिरेन्द्र कृष्णजीले ओशोको मुक्तकण्ठले प्रसंशा गर्न थाल्दछन । कथास्थलमा उपस्थित बिशाल जनसागरको बिचमा जव धिरेन्द्र कृष्ण शास्त्रीले महान गुरु ओशोको बहुत उत्साही ढंगले प्रसंशा गर्दछन अनि ओशोका दिवाना स्वामी अरुण खुशीले दंग हुन्छन् । मलाई त कता कता बिशाल र भब्य साधकजनहरुको उपस्थितिमा धिरेन्द्र कृष्ण शास्त्रीको मुखबाट ओशोको प्रशंसा सुन्नकै लागि स्वामी अरुण कथा स्थलमा आएजस्तो भान हुन्छ ।
जगतगुरु श्रीरामानान्दाचार्य सेवापिठ चतराको आयोजनामा कोशी नदीको किनारमा बनाइएको ब्यवस्थित बिशाल पन्डाल भित्र श्री धिरेन्द्र कृष्ण शास्त्रिजीको कथा भएको थियो । उनी यसपटक महायोगी सिद्धबाबा कृष्णदासजीको निमन्त्रणामा दोस्रो पटक नेपाल आएका हुन् । त्यहाँ हरेक दिन करिव ८० हजार जना कथामा सहभागी थिए भने चौथो दिन भएको दिब्य दरबारमा करिब एक लाख भन्दा बढी व्यक्तिहरु सहभागी भएका थिए ।
कथाबाचक शास्त्रीजीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिशाल सुरक्षा दिएको थियो । बैशाख ५ गते शास्त्रीजीलाई जगतगुरु श्रीरामानान्दाचार्य सेवापिठ परिसरभित्र बन्न लागेको राम मन्दिरको पनि शिल्यान्याश गरेका थिए । पाँचदिने चतरा बसाइकै बिचमा शास्त्रीजीले धरानको पिण्डेश्वर, बुडासुब्बा, बराह क्षेत्रलगायतका धार्मिक महत्वका ठाउँहरुको पनि भ्रमण गरेका थिए ।
२८ बर्षका एक बिराट आत्मविश्वासका साथ प्रस्तुत हुने यी युवा गुरु अहिले भारतमा बहुत चर्चित अनि बिबादास्पद छन् । सनातन हिन्दु धर्मका कट्टर पक्षपाती उनी हिन्दु धर्म माथिको कट्टरता अनि उनको दिब्य दरबारको नामले चिनिने समारोहमा साधकहरुको बीचबाट व्यक्तिहरुलाई मन्चमा बोलाइ पर्चा लेख्ने प्रसंग सबैभन्दा बढी चर्चा र बिबादको बिषय रहँदै आएको छ ।
चतरामा पनि उनले चौथो दिन बैशाख ८ गते दिउँसो दिब्य दरबार लगाई बिशाल जनसागरको बीचबाट केहि व्यक्तिहरुलाई मन्चमा आफू नजिकै बोलाइ अग्रिम उनीहरुको समस्या र जिज्ञासा पर्चामा लेखेका थिए । जुन उनले सबैको सामू भनेका थिए । उनले ति व्यक्तिहरुको समस्याको समाधानको लागि सुझाबहरु पनि दिएका थिए ।
म चमत्कार देखाउन आएको होइन जुन हनुमानको पछाडि म पागल छु तिनै हनुमानको पछाडि तपाईंहरुलाई पनि दिवाना बनाउन नेपाल आएको हो भन्नुहुने उनको दिब्य दरबारमा उनको क्रियाकलाप चमत्कारयुक्त देखिन्थ्यो । उनले भारत र नेपाल एक अर्काका परिपुरक देशहरु हुन् भन्दै यी दुवै देशलाइ हिन्दुराष्ट्र बनाउनु पर्दछ भनि सनातन हिन्दु धर्मको वकालत गरे । उनले कथा बाचनको सुरुमै भने– म सबै धर्मलाई सम्मान गर्दछु तर म हिन्दु सनातनको कट्टर हुँ । उनले अगाडि भने, ‘मैंले आफ्नो बाउलाई आफ्नो बाउ भन्न किन लजाउनु पर्यो, उनले प्रश्न गरे,‘आफ्नो बाउलाई आफ्नो बाउ नभनी छिमेकीको बाउलाई आफ्नो बाउ भन्ने त ?’
ओशोले अध्यात्मलाई बिज्ञान र तर्कको कसीबाट गुज्रन्थे । ओशोको प्रवचनमा अध्यात्मप्रतिको विश्लेषण एकदम बैज्ञानिक र तर्कसंगत हुन्थ्यो । ओशो धर्मको नाममा हुने गरेको पाखण्ड, अन्धविश्वास र रुढीबादी परम्पराको भण्डाफोर गर्ने गुरु हुन् । ओशोले साधकहरुलाई ध्यान गर्न सिकाउँदथे । उनको सारा जोड ध्यानमा थियो ।
ओशोले दिने प्रवचनपनि साधकहरुलाई ध्यानको लागि निमन्त्रणा थियो । ओशो बहुत आत्मविश्वासका साथ बोल्दथे । उनको प्रवचनमा एक मेलोडी हुन्थ्यो । उनको प्रवचन यस्तो हुन्थ्यो कि उनको प्रवचन सुनेपछि कोही पनि मान्छे तटस्थ बस्न सक्दैनथ्यो । कि उ ओशोको समर्थनमा हुन्थ्यो कि त उ विरुद्दमा हुन्थ्यो ।
ओशो कुनैपनि धार्मिक कट्टरताको बिरोधी हुनुहुन्थ्यो । ओशोको देशना भन्दा कथाबाचक धिरेन्द्र कृष्णजीको शैली बिल्कुल फरक देखिन्छ । ओशो सँधै अध्यात्मिक साधनामा चमत्कार र सिद्धि प्रदर्शनको निषेधको वकालत गर्नुहुन्थ्यो । मैंले ति महान गुरुसँग कथाबाचक शास्त्रीजीको तुलना गर्न त खोजेको होइन ।
न मसँग अहिलेका चर्चित गुरु श्री धिरेन्द्र कृष्ण शास्त्री जस्तो महान सनातन हिन्दु गुरुको विश्लेषण गर्ने क्षमता नै छ । मैंले त केवल उनी नेपाल आएको सन्दर्भमा भएको कथा बाचनको चर्चा मात्र गर्ने प्रयास गरेको हो । त्यसैले ओशोका साहित्यहरु म खुब पढदछु भन्नुहुने शास्त्रीजी पनि ओशोको प्रशंसक भएको हुँदा केही कुराहरु प्रसङ्गबस उल्लेख भएका हुन् ।
शास्त्रीजीको दिब्य दरबारमा चमत्कार र सिद्धिको प्रयोग स्पष्ट देखिन्छ । कथाबाचक शास्त्रिजीमा सनातन हिन्दु धर्मप्रतिको कट्टरता भेटिन्छ । तर उनीमा देखिने आत्मविश्वास, संकल्प, उत्साह, उर्जावान व्यक्तित्व र हनुमानप्रतिको भक्ति अदभुत छ । ओशो परम्पराबादी, रुढिबादी र अन्धविश्वासको भण्डाफोर गरेको कारणले पनि आफ्नो जीवनकालमा अत्यन्त चर्चित र बिबादस्पद थिए ।
युवा शास्त्रीजी पनि अहिले त्यो भन्दा भिन्न हिन्दु धर्मप्रतिको कट्टरता र दिब्य दरबारको कारणले चर्चित र बिबादस्पद छन् । हुनत अध्यात्म अत्यन्त रहस्यमय क्षेत्र हो । अध्यात्मको बिज्ञान बिराट छ । अध्यात्मिक गुरुहरुमा अदभुत चमत्कारिक शक्ति हुन्छ । कुनै कुनै गुरुहरुको जीवनमा सिद्धि र चमत्कार देखिन्छ । तर कुनै गुरुको जीवनमा चमत्कार देखिदैन ।
कुनै गुरुको जीवनमा अलिअलि देखिन्छ । कुनै गुरुको जीवनमा बाहिर चमत्कार देखिदैन तर नजिकका शिष्यहरुले चमत्कार अनुभव गरिरहेका हुन्छन् भनिन्छ । अध्यात्मिक साधनाको उचाइमा पुगेपछि साधकहरुमा सिद्धिहरु आउन थाल्दछ ।
भगवान गौतम बुद्धले आफ्नो जीवनकालमा साधकहरुमा सिद्धि र चमत्कारको प्रदर्शन गर्न रोक लगाएका थिए । ओशो पनि अध्यात्मिक साधनामा सिद्धि र चमत्कारको बिरुद्धमा छन् । ओशो र बुद्ध अध्यात्ममा बैज्ञानिक सोच भएका गुरुहरु हुन् । अर्कोतिर जिससको जीवनकालमा चमत्कार देख्न सकिन्छ । सत्य साईबाबा चमत्कार देखाउँदथे ।
आम मान्छेहरुलाई साधना र जीवन रुपान्तरण भन्दा चमत्कारमा रुची छ । अधिकांश मान्छेहरु ध्यान र आत्म रुपान्तरण चाहदैनन् उनीहरु जीवनमा धन चाहन्छन, चमत्कारिक ढंगले रोग निवारण चाहन्छन । त्यसैले धिरेन्द्र कृष्ण शास्त्रीजीको कथामा एक लाख मान्छेहरु आएका थिए । केही महिना अघिमात्र ललितपुरको गोदावरीमा भएको अर्का हनुमानका भक्त मोरारी बापुको राम कथामा ५–६ हजार मान्छेहरुको मात्र उपस्थिति थियो ।
मोरारी बापु पनि बहुत रोचक ढंगले रामकथा भन्दछन । यसबाट पनि प्रष्ट बुझ्न सकिन्छ मान्छेहरुलाई ध्यान र कथामा भन्दा चमत्कारमा बढी रुची छ । मान्छेले आफ्नो जीवनमा चमत्कारिक ढंगले परिवर्तन आओस भन्ने चाहन्छ । आफूले मेहनत र साधना गरेर आफूमा रुपान्तरण ल्याउने मान्छे त संसारमा बहुत कम हुन्छन् ।
तथापि बागेश्वर धाम सरकारको नामले चिनिनुभएका अहिलेका चर्चित हिन्दुधर्मका गुरु कथाबाचक श्री धिरेन्द्रकृष्ण शास्त्रीजीले अहिले विश्वमा एक प्रकारको धार्मिक जागरण ल्याएका छन् । उनले मान्छेहरुलाई सनातन हिन्दु धर्मप्रति आकर्षित गरेका छन् । विभिन्न तनाब, चिन्ता, ब्याकुलातामा रुमलिएको अनि कुलतमा फस्ने सम्भावना भएको मान्छेहरुलाई राम कथामा ल्याएर राम र हनुमानको भक्तिमा डुबाएका छन् ।
मान्छेहरुमा भएको चिन्ता र व्याकुलता हटाउन सहयोग गरि व्यक्तिमा उत्साहको संचार गराएका छन् । निराश मान्छेमा धर्मको माध्यमबाट आशाको किरण छरेका छन् । उनले धेरै सामाजिक कामहरु पनि गरिरहेका छन् । उनले बागेश्वर धाममा ५०० शैयाको निशुल्क क्यान्सर हस्पिटल बनाउदै छन् ।
बागेश्वर धाममा हरेक दिन निशुल्क भण्डारा लगाइरहेका छन् । भारत र नेपाल मात्र होइन विश्वभरी राम कथावाचन गरेर मान्छेहरुलाई अध्यात्मिक बनाइ बिभिन्न पीडाबाट मुक्त बनाउन प्रयासरत छन् । कथावाचन गरि विभिन्न आश्रम र मन्दिरहरु बनाउन सहयोग गरिरहेका छन् ।त्यतिमात्र होइन उनले समाजमा अनगिन्ति सामाजिक कल्याणका कामहरु पनि निरन्तर गर्दै आइरहेका छन् । यस्ता धेरै प्रतिभाका धनी धार्मिक गुरु श्री धिरेन्द्रकृष्ण शास्त्रीजीप्रति हार्दिक नमन ।
(लेखक ओशोका शिष्य एवम ओशो तपोवनका सदस्य हुन्)
प्रतिक्रिया