इटहरी प्रहरी : एक वर्षमा ६ सय ४६ मुद्दा दर्ता, सबैभन्दा बढी बैङ्किङ कसुर

विहीबार, १७ साउन २०८१
नवीन दाहाल इटहरी : इलाका प्रहरी कार्यालय इटहरीमा एक वर्षको अवधिमा ६ सय ४६ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा ६ सय ४६ वटा मुद्दा दर्ता भएको इटहरी प्रहरीले जनाएको छ । जसमा सबैभन्दा बढी बैङ्किङ कसुरमा आधारित छन् । आर्थिक वर्ष ०७९/८० मा भने पाँच सय ८ वटा मुद्दा दर्ता भएका थिए भने २०७८।७९ मा चार सय ६४ वटा मुद्दाहरू दर्ता भएको इलाका प्रहरी कार्यालय इटहरीको तथ्यांकमा उल्लेख छ । इटहरीमा यस वर्ष बैङ्किङ कसुरका मुद्दा बढी दर्ता भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले बताए । ‘इटहरीमा बैङ्कहरूको संख्या बढी हुन र व्यवसायी पनि बढी भएका कारण स्वभाविक हिसाबमा बैङ्किङ कारोबार पनि धेरै हुन्छ,’ उनले भने, ‘कारोबारका क्रममा चेक बाउन्स, चेक अनादर जस्ता कसुरका घटना धेरै छन् ।’ बैङ्क खाता बन्द गरेर चेक दिने, जग्गा कारोबारको क्रममा अर्काको जग्गा देखाएर बैना लिने जस्ता ठगीका मुद्दा बढी आउने गरेको डीएसपी कार्कीले बताए । इटहरी प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा २३ वटा, २०७८/७९ मा २६ वटा, २०७९/८० मा ८९ वटा बैङ्किङ कसुर सम्बन्धी मुद्दा दर्ता हुँदा गत आर्थिक वर्षमा भने यो संख्या बढेर एक सय ८१ पुगेको छ । प्रहरीकाअनुसार बैङ्किङ कसुरमा दर्ता भएको एक सय ८१ मध्ये एक सय ३२ वटा मुद्दा फछ्र्यौट भएका छन् भने ४९ वटा मुद्दा किनारा लाग्न बाँकी रहेको डएिसपी कार्कीले बताए । बैङ्किङ कसुरबाहेक अभद्र व्यवहारमा ९०, चोरीसम्बन्धी कसुरमा ५५, ठगीमा ८९, लागूऔषधमा ३७ वटा मुद्दा दर्ता भएका छन् । यस्तै, जबरजस्ती करणीमा ३०, भवितव्य ज्यानमा ४२, सवारी भवितव्य ज्यानमा १, कर्तव्य ज्यानमा ६, बाल यौन दुरुपयोग ३, ज्यान मार्ने उद्योगमा ७, बेवारिसे ज्यान फुटकरमा १२, सवारी ज्यान मुद्दामा २१, सवारी अङ्ग भङ्गमा ४, जुवा ऐनमा ४, दस्तखत कीर्तेमा ३, बहुविवाहमा ३ वटा मुद्दा दर्ता भएको डीएसपी कार्कीले जानकारी दिए । कुल ६ सय ४६ मुद्दामध्ये चार सय ४३ मुद्दा फछ्र्यौट भएको छ भने दुई सय तीनवटा मुद्दा फछ्र्यौट हुन बाँकी छ । ‘प्रहरीमा जाहेरी आएका मुद्दाको किनारा लगाउने र विवादसहित मिल्न सक्ने घटना मिलाएर पठाएका छौँ,’ डीएसपी कार्कीले भने, ‘पछिल्लो समय बैङ्किङ कसुर र लागूऔषधका घटना धेरै छन् ।’ उनले इटहरीका जनतालाई शान्ति सुरक्षाको प्रत्याभूत गराउन तथा अपराध न्यूनीकरण गर्न कोहीसँग कुनै पनि सम्झौता नगर्ने दाबी गरे ।

प्रतिक्रिया

नवीन दहाल
लेखकको बारेमा
नवीन दहाल

सम्बन्धित समाचार