भदौ २२ देखि विराटनगर विद्यालय नाटक महोत्सव, आवेदन खुला

शनिबार, १९ साउन २०८१
विराटनगर : विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ । विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिंक प्रयोग गर्न सकिनेछ । आवेदन दिएकामध्ये नौवटा विद्यालय छनोट हुनेछन् । विद्यालयलाई गुरुकुलले नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर हाटखोलास्थित गुरुकुलका नाटकघरमा हुने महोत्सवमा नाटक मञ्चनको अवसर दिनेछ । पाठ्यक्रममा भएको वा शिक्षक तथा विद्यार्थीले लेखेको एक घण्टा अवधि हाराहारीको नाटक विद्यार्थीले नै अभिनय गरी मञ्चन गर्नुपर्ने हुन्छ । नौ विद्यालय र आयोजकको एउटासमेत गरी १० नाटक मञ्चन हुने यो महोत्सव विद्यार्थीलाई रंगमञ्चसँग जोड्ने उत्सव भएको आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । विद्यालयले आवेदन दिएपछि त्यसपछिको सम्पूर्ण प्रक्रियामा गुरुकुलले सहयोग गर्ने उनले बताए । विगतका तीन संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको नाटक महोत्सवमा अवार्डको पनि व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले बताए । नौ विद्यालयमध्येबाट उत्कृष्ट नाटक, नाटककार, निर्देशक, अभिनेता र अभिनेत्रीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार