उपमहानगरको नियम मान्दैनन् इटहरीका निजी विद्यालय, जथाभावी शुल्क असुल्दै

मंगलबार, २९ साउन २०८१
नवीन दहाल इटहरी । इटहरी उपमहानगरले बनाएको नियम यहाँका निजी विद्यालयहरूले मानेका छैनन् । शिक्षा सम्बन्धी नियम नमानी मनोमानी शुल्क उठाउने गरेको पाइएको हो । सङ्घीय सरकारद्वारा जारी भएको संस्थागत शुल्क निर्धारण मापदण्डमा उल्लेख भएको मापदण्डलाई बेवास्ता गर्दै इटहरीका निजी विद्यालयहरूले जथाभावी शुल्क असुल्ने गरेको पाइएको हो । इटहरीमा रहेका एक  सय ३४ वटा निजी विद्यालयमध्ये केही विद्यालयहरूले विभिन्न शीर्षकमा शुल्क लिने गरेको पाइएको इटहरी उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत तीर्थराज गौतमले बताए । ‘हामीले पटकपटक गरेर ५० वटा भन्दा बढी निजी स्कुलहरूमा अनुगमन गरेका छौँ । अनुगमनको क्रममा उपमहानगरले तोकेको बाहेकका शीर्षकमा र तोकिएकोभन्दा बढी रकम उठाउने गरेको पाइयो’ गौतमले भने, ‘यसरी नियम विपरीत शुल्क लिदाँ वार्षिक शुल्क, प्रशिक्षण शुल्क दुई वटा शीर्षकमा लिने गरेको अविभावकहरूको गुनासो छ ।’ उपमहानगरले गत जेठ ३ गते एक सूचना जारी गर्दै विभिन्न १४ वटा शीर्षकमा मात्र शुल्क लिन पाउने जनाएको थियो । उपमहानगरद्वारा जारी गरिएको सूचनामा मासिक पढाइ शुल्क, वार्षिक शुल्क, भर्ना शुल्क, धरौटी शुल्क, परीक्षा शुल्क, कम्प्युटर शुल्क, स्थानान्तरण शुल्क, विशेष प्रशिक्षण शुल्क, आवास शुल्क, भोजन शुल्क, यातायात शुल्क, शैक्षिक भ्रमण शुल्क, अन्तर विद्यालय प्रतियोगिता सञ्चालन, शैक्षिक सामाग्री शुल्क गरेर १४ वटा शीर्षकमा शुल्क लिन पाउने सूचनामा उल्लेख छ । उल्लेखित शीर्षकहरूमा शुल्क लिँदा कति लिने भनेर समेत तोकिएको छ । वार्षिक शुल्क लिदाँ मासिक शुल्क बराबरको दुई महिनाको मात्र लिन पाइने उपमहानगरद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । यसैगरी विशेष प्रशिक्षण शुल्कमा सुविधा उपभोग गर्ने विद्यार्थीहरूको अविभावकहरूको दुई तिहाई भेलाबाट पारित भएअनुसार शुल्क लिन पाइने सूचनामा उल्लेख गरिएको छ । तर, वार्षिक शुल्क लिदाँ उपमहानगरले व्यवस्था गरेअनुरूप नलिई मनोमानी रूपमा लिने गरेको गुनासो आएको उपमहानगरका शिक्षा अधिकृत गौतमले बताए । विशेष प्रशिक्षण शीर्षक अन्तरगत रहेका जुडो, मार्सल आर्ट, पौडी, गायन नृत्य खेलकुद सङ्गीत र साहित्यिक क्रियाकलापको प्रशिक्षण तथा विभिन्न प्रकारका तालिम प्रशिक्षण नै नदिई शुल्क असुल्ने गरेको समेत पाइएको उनले बताए । यसैगरी उपमहानगरले तोकेको १४ वटा शीर्षक बाहेकका अन्य शीर्षकहरूमा पनि शुल्क उठाएको अनुगमनको क्रममा भेटिएको गौतमले बताए । ‘यसरी मनोमानी रूपमा शुल्क उठाउने प्रवृत्ति रोक्न हामीले तोकेको १४ वटा शीर्षकहरू बाहेकका अन्य शीर्षकहरू रसिदमा राख्न नपाइने सबै विद्यालयहरूलाई पटक पटक सूचित गरेका छौ’ उनले प्रदेश खबरसँग भने । अविभावकहरूसगँ शुल्क लिदाँ के शीर्षकमा लिएको हो नखुलाई एकमुष्ट रूपमा रकम लिएर निजी विद्यालयले झुक्क्याउने गरेको उनले बताए । अनुगमनको क्रममा यसरी निजी विद्यालयले मनोमानी गरेपछि गुनासो भएमा उपमहानगरलाई जानकारी गराउन उनले आग्रह गरे । यसरी उपमहानगरको नियम नमानी जथाभावी शुल्क असुल्ने विद्यालयहरूलाई सङ्घीय शिक्षा ऐन र नगर शिक्षा ऐनमा भएको व्यवस्था बमोजिम कारबाही गरिने उनको भनाइ छ । इटहरीमा सञ्चालित निजी विद्यालयहरूले श्रेणीगत रूपमा शुल्क लिन पाइने नियम रहेको छ । विद्यालयको भौतिक संरचना, यातायात, खानेपानी लगायतका सेवा सुविधाको आधारमा शुल्क लिन पाउने व्यवस्था रहेको छ । इटहरीमा सञ्चालित निजी विद्यालयहरूलाई (क), (ख), (ग), (घ) र श्रेणी विहीन गरेर पाँच वटा श्रेणीमा विभाजन गरिएको छ । क श्रेणीमा १३ वटा, ख श्रेणीमा ४८ वटा, ग श्रेणीमा २१ वटा, घ श्रेणीमा २ वटा र श्रेणी विहीनमा ४४ वटा विद्यालय रहेको उपमहानगरको तथ्यांकमा उल्लेख छ । यसरी उल्लेखित श्रेणीमध्ये ‘क’ श्रेणीको विद्यालयले मासिक रूपमा पूर्व प्राथमिक कक्षा (नर्सरी) को अधिकतम् दुई हजार पाँच सय रुपैयाँ लिन पाउने व्यवस्था छ भने कक्षा १० को अधिकतम पाँच हजार रुपैयाँ लिन पाउने व्यवस्था छ । यसैगरी ‘ख’ श्रेणीको विद्यालयले मासिक रूपमा पूर्व प्राथमिक कक्षा (नर्सरी) को अधिकतम् एक हजार आठ सय ५० रुपैयाँ लिन पाइने र कक्षा १० को अधिकतम् तीन हजार सात सय ५० रुपैयाँ लिन पाउने तोकिएको छ । यस्तै ‘ग’ श्रेणीको विद्यालयले मासिक रूपमा पूर्व प्राथमिक कक्षा (नर्सरी) को अधिकतम् एक हजार दुई सय ५० र कक्षा १० को अधिकतम् दुई हजार पाँच सय लिन पाउने उपमहानगरले जनाएको छ । यसैगरी ‘घ’ श्रेणी र श्रेणीविहीन विद्यालयहरूले अविभवकहरूको भेलामा छलफल गरेर दुई तिहाईको सहमतिबाट पास भएको शुल्क लिन पाउने व्यवस्था रहेको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख द्रोण दाहालले बताए । अनुगमनका क्रममा तोकिएको शुल्कभन्दा धेरै लिएको पाइएपछि अभिभावकलाई गुनासो गर्नसमेत आग्रह गरिएको उनको भनाइ छ । ‘विद्यालयले धेरै पैसा तिर्न भनेको अवस्थामा उपमहानगरलाई जानकारी गराउन अनुरोध छ,’ उनले भने, ‘कतिपय ठाउँमा अभिभावकलाई निजी विद्यालयले मनोमानी हिसाबमा शुल्क लिएको पाइएको छ ।’ तोकिएको भन्दा धेरै शुल्क लिने विद्यालयलाई नियानुसार कारबाही गरिने उनले बताए ।यता, नगर शिक्षा समितिका सदस्यसमेत रहेका प्याव्सन इटहरीका अध्यक्ष पूण्यप्रसाद सापकोटाले सङ्घीय सरकारद्वारा जारी भएको संस्थागत शुल्क निर्धारण मापदण्डको सबैले पालना गर्नुपर्ने बताए । मापदण्डमा तोकिएको १४ वटा शीर्षक बाहेक अन्य शीर्षकमा रकम लिएको भए जो कोही पनि भागिदार हुनुपर्ने उनको भनाइ छ । `शुल्क निर्धारण मापदण्डको पालना हुनुपर्नेमा प्याव्सन इटहरी प्रतिबद्ध छ, ´ उनले भने ।

प्रतिक्रिया

नवीन दहाल
लेखकको बारेमा
नवीन दहाल

सम्बन्धित समाचार