तरकारी खेतीबाटै लाखौँ कमाउँदै किसान

आइतबार, ०२ भदौ २०८१
इलाम / पहाडी क्षेत्रका लागि यो काँक्राको सिजन हो । किसानले लगाएका काँक्राका झाङमा यति बेला हरिया काँक्रा फलेका छन् । केही काँक्रा पाकेर पहेँला पनि हुन थाले । यही सिजनमा सूर्योदय नगरपालिका –१२ का किसान रमेश गडतौलाले झापा पठाइरहेका छन् । उनले बेच्न ठिक पारेका काँक्रा खाऊँ–खाऊँ लाग्दो अर्थात् रहर लाग्दा छन् । उनले भने ‘यो साल राम्रै गरी काँक्रा बिक्री भयो’ । ‘झापाको चारआली र बिर्तामोड पुर्‍याउँदा कम्तीमा ३० रुपियाँ प्रतिगोटादेखि सरदर ९० रुपियाँ प्रतिगोटाका दरले हामीले बिक्री गरेका छौँ । वरपर अरू किसानको पनि भेला गरेर त्यही मूल्य हामीले दियौँ ।’ गडतौलाले करिब पाँच रोपनी जमिनमा काँक्रा रोपेको र यसबाट १५ हजार वटा काँक्रा उत्पादन भएको बताए । काँक्रा लगाउँदा करिब डेढ लाख रुपियाँ खर्च भएको थियो भने उनले ६–७ लाख रुपियाँ आम्दानी भएको बताए । भने ‘हाम्रो गाउँमा धेरै किसानले काँक्रा लगाएका छन् । प्रायः सबैजसो किसानले कम्तीमा चार–पाँच सय वटा काँक्रा बिक्री गरेका छन् । काँक्राबाट आम्दानी राम्रो हुने हुँदा किसान आकर्षित भइरहेका छन् ।’ सूर्योदय–१२ का योगेन्द्र राई, सञ्जय राईले पनि काँक्रा खेती गरेका छन् । सुरुमा खडेरीले अलि सतायो, सिँचाइ कम भयो, तर पनि दुई हजार जति काँक्रा फलाएको उनले सुनाए । सूर्योदय–१२ का मलिम, आठ घरे, याङ तरकारी उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ । मलिममा अहिले गोलभेँडा राम्रो रहेको र आफैँले ढुवानी सेवा दिंदैआएको अर्का किसान तथा पिक अप गाडी चालक राम राईले बताए । मलिम पुच्छर, विरिङ खोला नजिकसम्म गाडी जान्छ, असारे टार, लेप्चा गाउँदेखिको गोलभेँडा र अन्य तरकारी उठाउने गरेको किसान राईले बताए । यो वर्ष तरकारी नकुहिएको उनीहरूले बताएका छन् । यहाँका किसानले काँक्रा, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउली, इस्कुसका टुप्पा, फर्सीका टुप्पो लगायतका तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार