मोरङ : मोरङको कानेपोखरी गाउँपालिका ७ र उदयपुरको बेलका नगरपालिका ३ बाट सालकको खपटासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको बेलबारीबाट पथरीतर्फ आउँदै गरेको प्र. १–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक रंगेली नगरपालिका १ का ४५ वर्षीय गगनकुमार गच्छदार र मोटरसाइकल पछाडि सवार सप्तरी कंञ्चनपुरका ३५ वर्षीय बासुदेव सरदारले बोकेको झोला भित्रबाट ८५० ग्राम सालकको खपेटा फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका उनीहरूको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा उदयपुरको बेलका ३ रामपुर ठोक्सिलास्थित रहेको गिदेरी खोला बगरमा सोही स्थान बस्ने ४८ वर्षीय कृष्ण राज मगर, बेलका नगरपालिका ६ का ५६ बर्षीय डिकबहादुर पूर्वछाने मगर र सप्तरीका ५५ वर्षीय उमेशप्रसाद चौधरीले बा ८२ प ८८०५ र को ११ प ७६२१ नम्बरको २ वटा मोटरसाइकलमा ३ केजी ७१२ ग्राम सालकको खपटा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया