झापा : झापामा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको शिवसताक्षी नगरपालिका–८ स्थित निपत्रिया निवासी ४७ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरी प्रहार गरी आफ्नै श्रीमती अन्दाजी ५३ वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार खुकुरी प्रहारबाट रञ्जनाको मंगलबार (आज) साँझ पौने ७ बजे घटनास्थलमै मृत्यु भएको हो ।
श्रीमान–श्रीमतीबीचको घरायसी विवादका कारण खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनास्थलबाटै ओमप्रकाशलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता, झापाकै मेचीनगरमा सोमबार साँझ आफ्नै बुबाले धारिलो हतियार प्रहार गर्दा छोरा घाइते भएका छन्। मेचीनगर नगरपालिका ३ दोकान डाँडाका ५७ वर्षीय पूण्यप्रसाद दाहालले उनकै अन्दाजी ३० वर्षीय छोरा डिल्लीराम दाहाललाई धारिलो हतियार (दाउ) प्रहार गरेका छन्।
उनको स्थानीय मेडिकल दोकान डाँडामा उपचार भइरहेको छ। प्रहरीले दाउसहित पूण्यप्रसादलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया