नवीन दाहाल/इटहरी : सुनसरी जिल्लाका स्थानीय तहले संस्थागत क्षमता स्वमूल्यांकनमा बराहक्षेत्र नगरपालिका सबैभन्दा अगाडि देखिएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लामै बराहक्षेत्र उत्कृष्ट देखिएको छ ।
पालिकाहरूले गत आर्थिक वर्ष ०८०।८१ मा गरेका कामको विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा बराहक्षेत्र नगरपालिकाले सुनसरी जिल्लाका १२ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै अङ्क प्राप्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणमा उल्लेख छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को प्रतिवेदन सार्वजनिक गरेको छ ।
स्थानीय तहहरूले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो । जसअनुसार
पालिकाहरूले १० वटा मुख्य सूचकका आधारमा आर्थिक वर्ष ०८०।८१ मा आफूले गरेका कामको आफैँले मूल्याङ्कन गरेका हुन् ।
जसमा बराहक्षेत्र नगरपालिकाले जिल्लामै सबैभन्दा धेरै ८१.७५ अङ्क प्राप्त गरेको छ । यसैगरी सुनसरीमा सबैभन्दा कम देवानगञ्ज गाउँपालिकाले अङ्क प्राप्त गरेको छ । देवानगञ्जले ४९.७५ अङ्क प्राप्त गरेको छ । बराहक्षेत्रपछि हरिनगरा गाउँपालिकले ७९.५० अङ्क प्राप्त गरेको छ ।
यसैगरी इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, भोक्राहा–नरसिंह गाउँपालिकाले क्रमशः ७९.२५, ७०.७५, ७७.७५,, ६९.०० र ६६.२५ अङ्क प्राप्त गरेका छन् ।
यसैगरी इनरुवा नगरपालिका, बर्जू गाउँपालिका, गढी गाउँपालिका, कोशी गाउँपालिकाले क्रमशः ६४.७५, ६२.७५ ,६२.००, ५१.५०, अङ्क प्राप्त गरेका छन् ।
पालिकाहरूको शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरण जस्ता सूचकलाई मूल्याङ्कनको आधार मानिएको हो ।
स्थानीय तहहरुको कार्यप्रकृया र उपलव्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यो प्रकृयामा प्रतिस्पर्धा गराउने काम गर्छ ।
यस्तै, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वयसहितका १० वटा सूचकका आधारमा स्थानीय तहले आफ्नो कामको मूल्याङ्कन गरेका हुन् ।
प्रतिक्रिया