नवीन दाहाल/इटहरी : इटहरी उपमहानगरपालिकामा समयमै नआउने र पोसाक नलगाउने कर्मचारीहरूलाई घर फर्काइएको छ ।
कर्मचारीहरू समयमै नआउँदा सेवाग्राहीलाई समस्या भएको र पोसाक नलगाउँदा कर्मचारीको पहिचान गर्न गाह्रो भएको भन्दै बिहीबार गेटैबाट फर्काइएको हो ।
इटहरी उपमहानगरपालिका नगर प्रहरी प्रमुख जेबी राईका अनुसार बिहीबार १३ जना कर्मचारीहरूलाई घर फर्काइएको छ ।
‘पोसाक नलगाउने र कार्यालय समयभित्र नआउने १३ जना कर्मचारीलाई हामीले गेटमा रोकेर फर्काएका हौँ,’ राईले भने, ‘माथिको आदेश आएकाले कार्यालय समयभन्दा ढिलो आएका कर्मचारीलाई फर्काएका हौँ ।’
उनका अनुसार १०ः१५ बजेभित्र कर्मचारीहरू कार्यालयमा हाजिर हुनुपर्छ । तर, त्यो भन्दा पछि आएकालाई फर्काइएको हो ।
१०ः१५ बजेपछि कार्यालयमा हाजिर हुने कर्मचारीको हाजिरी समेत नहुने बताइएको छ । बिहानको कार्यालय समय मात्र नभएर दिउँसो खाजा खाने र छुट्टी हुने समयमा कर्मचारीहरूलाई कडाइ गरेको उनले बताए ।
कर्मचारीहरू समयमा कार्यालयमा हाजिर नभएको र पोसाक नलगाएको गुनासो आएपछि उपमहानगरका मेयर हेमकर्ण पौडेलले कडाइ गर्न आदेश दिएको जनाइएको छ ।
भिडियो
प्रतिक्रिया