इटहरी : ‘नेपालमा सुरुङयुद्ध’को शनिबार विमोचन गरिएको छ । इटहरीस्थित सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा सहिद रत्नकुमार बान्तवाको जीवनमा आधारित रहेर तयार पारिएको पुस्तक ‘नेपालमा सुरुङयुद्ध’को विमोचन गरिएको हो ।
लेखकद्धय अर्जुनकुमार उप्रेती र जसकुमार राईले पुस्तक लेखेका हुन् । लेखकद्धयसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस्तकको विमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आफू पनि उनै रत्नकुमारको प्रेरणाबाट राजनीतिमा आएको सुनाए । ‘अलिकता जीवनी, अलिकता उहाँका वैचारिक धारबारे यो पुस्तक लेखिनु आफैँमा राम्रो कुरा हो,’ मुख्यमन्त्री कार्कीले भने, ‘म उहाँको (रत्नकुमार) मृत्युपछि पार्टीमा संगठित भएको कार्यकर्ता हुँ ।’
रत्नकुमारकै आदर्श र उनैले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा आफू जोडिइराख्ने मुख्यमन्त्री कार्कीले बताए । ‘म रत्नकुमार बान्तवाकै घरमा पुगेको छु, अहिले पनि त्यो सुरुङ छ,’ उनले भने, ‘त्यो सुरुङ वर्ग सत्रुबाट बच्न बनाएकोजस्तो देखिन्छ । जसलाई हामीले संरक्षण गरेर राखेका छौँ ।’
यो पुस्तकले सुरुङयुद्ध सुरु गरेको हो भन्ने सन्देश दिन सक्ने उनको भनाइ छ ।
कार्यक्रममा टिप्पणीकर्ताद्धय डा. दिवाकर रेग्मी र डा. अस्मिता विष्टले पुस्तकमाथि विचार राखेका थिए । डा. रेग्मीले इतिहास शासकको चस्माबाट मात्रै नियालिएको बताए ।
पुस्तकमाथि टिप्पणी गर्दै डा. विष्टले रत्नकुमार वान्तवाले आफ्नो सम्पत्तिसमेत बेचेर सुरुङ युद्ध प्रारम्भ गरेकाले त्यसबाट राजनीतिक क्रान्ति सुरु भएर गणतन्त्र उन्मुख गराएको बताइन् ।
पुस्तकमा इलामको चित्रेबाट सुरु भएको सुरुङयुद्धको बयान गरिएको छ ।
प्रतिक्रिया