इटहरी : धरान निवासी प्रा.डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा. भीमप्रसाद खतिवडालाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका हुन् ।
प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम सोमबार (आज) उक्त जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले गत साउन २७ गते राजीनामा दिएपछि यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।
नवनियुक्त निमित्त उपकुलपति खतिवडालाई तीन महिनाका लागि जिम्मेवारी दिइएको हो । वरिष्ठ साहित्यकारसमेत रहेका खतिवडा खासगरी साहित्यको समालोचनामा रुचि राख्छन् ।
धरानमा बसेर विभिन्न साहित्य रचना तथा समालोचनमा सक्रिय रहेका उनी नेपाल संस्कृत विश्वविद्यालयको शिक्षाध्यक्ष नियुक्त भएपछि केही वर्षयता दाङमा बस्दै आएका छन् ।
उनी यसअघि धरानस्थित पिण्डेश्वर विद्यापीठमा क्याम्पस प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
प्रतिक्रिया