किशोर नेपाल
विविधताले भरिएको जीवन बिताउनु भएका वीपी कोइरालाको चर्चा हामी उहाँभन्दा धेरैपछि जन्मिएका पुस्ताले कसरी गर्ने भन्नेमा समस्या छ । तर समस्या वीपी आफैँले समाधान पनि गर्नुभयो । यस विषयमा उहाँका पुस्तकहरू छन्, हामीले पढ्न सक्छौ । उहाँका लेखहरू छन्, त्यसलाई नियाल्न सक्छौ, केलाउन सक्छौ । उहाँको ज्ञानको गम्भीरता र गहिराई खोतल्न सक्छौ ।
शब्दको हिसाबले वैज्ञानिक भए पनि वीपीले के गर्नुभयो, कसरी गर्नुभयो भन्ने कुराको हामीसँग अनुभवहरू छैनन् । तर वीपीका योगदानहरूलाई सम्झिदा, पढ्दा रोमाञ्चक लाग्छ । उहाँले कसरी चिनियाँ र भारतीय नेताहरूसँग सन्तुलित सम्बन्ध स्थापना गर्नुभएको थियो । उहाँसँग किन भारतका प्रधानमन्त्री नेहरु र चीनका प्रधानमन्त्री दुवैले सम्मान भाव राख्थे, त्यसका कारणहरू के थिए रु उहाँले कस्तो अवस्थामा किन इजरायललाई मान्यता दिनु भएको थियो ? त्यो उहाँको साहस थियो वा दुस्साहस थियो । यी इतिहास खोतल्ने कुराहरू हुन् ।
मैले वीपीलाई चिनेको २६/२७ सालमा हो । बनारसमा गएर भेटेको थिएँ । १०–१५ मिनेट कुरा गरेको थिएँ । पछि वीपी नेपाल आइसक्नु भएपछि उहाँसँग निकटको सम्बन्ध भयो । नेपाली काँग्रेसको प्रचार समितिको कार्यालय जमलमा अर्थात् कमलादी जाने बाटोमा थियो । त्यहाँ वीपी सधैँ आउने गर्नुहुन्थ्यो । त्यहाँ उहाँको प्रेसको सम्पर्क शुत्रका रूपमा म थिएँ । उहाँसँग बाहिरका मान्छे भेटाउने काम गर्दथेँ ।
वीपी कस्तो हुनुहुन्थ्यो भन्ने विषयमा कुरा गर्दा मलाई डर पनि लाग्थ्यो । तर उहाँको माया हेर्दा अचम्म लाग्ने थियो । कुनै वर्षको फागुन ७ गते म वीपी भएको ठाउँमा पुगेको थिए । उहाँको सन्देश लिन पुगेको थिए । मैले डायरीमा टिप्न थालेँ, उहाँ बोल्न लाग्नुभयो । रातो डायरी थियो । लेख्दालेख्दै चिसोले मेरा औँलाहरू कठ्याङ्ग्रिएका थिए । वीपी आफैँले मेरो डायरी लिएर बाँकी रहेका टिप्पणी लेखिदिनुभयो । त्यस्तो मायालु पनि हुनुहुन्थ्यो । त्यो डायरी अहिले पनि सुरक्षित छ त्यसलाई वीपी संग्राहलयले राखेको छ ।
मलाई उहाँले बाहिरी संसार देखाउनु भएको थियो । उहाँले मलाई भोला चटर्जीसँग नजिकको सम्बन्ध बनाइदिनुभएको थियो । भोला बंगालका सुप्रसिद्ध पत्रकार एवम् लेखक थिए । भारतका नामी पत्रकारहरूसँग एउटा विध्वताको सम्बन्ध बनाइदिनुभयो । यस्ता कुरामा कहिले पनि कन्जुस्याइँ गर्नु भएन । यही हिसाबले उहाँलाई सम्झिने हो भने धेरै ठुलो काम गरेर जानुभयो । हामीले त्यस्ता ठुला काम गर्न सकेका छैनौ । जे जति भएका छन् त्यो पनि भत्किने बेलामा छन् जस्तो लाग्छ कहिलेकाहीँ । निराशाको कुरा होइन, अहिले सामाजिक सञ्जाल हेर्दा, पत्रपत्रिकाको अवस्था हेर्दा देशप्रतिको छटपटी नै छैन, माया छैन । आफू केन्द्रित मात्रै छ ।
यसलाई सुधार गर्नु, लयमा लानु भनेको ठुलो कुरा हो, हामीले जे गर्यौँ गर्यौँ । कति गर्न सकेनौ । तर नयाँ पत्रकार साथीहरूले भोलिको नेपाल र नेपाली सञ्चारलाई बलियो बनाउनु, आफ्नो भाषामा सुधार गर्नुहोस् । हाम्रो भाषाले हामीलाई नै विरोध गर्न थालेको छ । हामी इन्टरनेटमा गयौँ तर यहाँ नकराएसम्म केही हुँदैन । एआई ले केही गर्दैन । मानिसको मस्तिष्कभन्दा अगाडि कोही बढ्न सक्दैन । जस्तोसुकै आविष्कार गरे पनि थेक्न सक्दैन ।
(आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको ‘पत्रकारिताका सन्दर्भमा बीपी’ विषयक प्रवचन कार्यक्रममा व्यक्त विचार)
प्रतिक्रिया