विराटनगर । राजस्व चुहावटको आशंकामा विराटनगर भन्सार कार्यालयबाट छुटेका २ वटा ट्रकलाई विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका ट्रकले लाखौं रूपैयाँ राजस्व चुहावट गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीका अनुसार भन्सार कार्यालयबाट जाँचपास गराएर निस्किएका प्रदेश १–०२–००२ ख ०४१६ र ना ४ ख ८८७४ नम्बरको ट्रकलाई बिहान १० बजेतिर विराटनगर महानगरपालिका–१४ बाट नियन्त्रणमा लिइएको हो ।
जाँचपासका क्रममा राजस्व चुहावट गरेर भन्सारबाट ट्रक निस्किएको सूचना आएलगत्तै नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।
प्रहरीले ट्रकसहित चालकहरु विराटनगर–१९ का २९ वर्षीय ललित सरदार र मोरङको कानेपोखरी गाउँपालिका–५ का ४६ वर्षीय दुखनलाल चौधरीलाई समेत नियन्त्रणमा लिएको छ ।
सरदार ०४१६ र चौधरी ८८७४ नम्बरको ट्रकका चालक हुन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले राजस्व चुहावट गरेको विशेष सूचनाका आधारमा सामान लोड गरिएका २ वटा ट्रक र चालकलाई नियन्त्रणमा लिइएको बताए । उनका अनुसार भारतबाट सामान लिएर नेपाल प्रवेश गरेका दुवै ट्रक विराटनगर भन्सार कार्यालयमा सोमबार जाँचपास गराएर छुटेका थिए ।
प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी सामान ट्रकमा रहेको र भन्सार मूल्यांकन कम गरिएको आशंका छ । प्रहरीका अनुसार १ करोड ३५ लाख रूपैयाँ राजस्व चुहावट भएको सूचना आएको थियो ।
एसपी कार्कीले नियन्त्रणमा लिइएका ट्रक र चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जानकारी दिए । कार्यालयका अनुसन्धान अधिकृत सरोज कोइरालाका अनुसार ट्रकमा घरेलु तथा कृषिजन्य सामग्री छन् ।
भन्सार एजेन्ट अरुण खेतानमार्फत ट्रकको जाँचपास गराइएको फेला परेको छ । ‘भन्सार मूल्यांकन कम रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर राजस्वलाई बुझाएको छ,’ कोइरालाले भने, ‘एउटै प्रज्ञापन पत्रमार्फत दुवै ट्रकको जाँचपास गराइएको देखिन्छ ।’
उनका अनुसार सामानको आयातकर्ता कम्पनी विराटनगरको बागमती इन्टरप्राइजेज हो । बागमती इन्टरप्राइजेजका संचालक लक्ष्मीकुमार राठी हुन् । जाँचपासका क्रममा राजस्व चुहावट गरिएको छ कि छैन भनेर अनुसन्धानबाट मात्रै पत्ता लाग्ने राजस्वका अनुसन्धान अधिकृत कोइरालाको भनाइ छ ।
प्रतिक्रिया