इटहरी : इटहरीस्थित यातायात कार्यालयमा ‘कर्मचारीसँग सेटिङ गरी’ बिचौलियाले रजगज गर्दै घटना पहिलो होइन ।
बर्षौँदेखि यातायातका कर्मचारी र बिचौलियाको सेटिङले सर्वसाधारण मर्कामा पर्ने गरेको घटना यसअघि पटकपटक बाहिरिएपनि सरोकारवाला निकाय भने मूकदर्शक बन्दै आएको थियो । तर, बुधबार अचानक जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रहरीसँगको समन्वयमा बिचौलियालाई पक्राउ गरेको छ ।
१७ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेसँगै यहाँभित्र हुने घटनाको रहस्यसमेत बाहिरिएको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)मा शून्य मूल्यमा मेडिकलमा ठेक्का पार्दै सर्वसाधारण मानिसबाट रकम असुल्ने गरेको पाइएको छ ।
इटहरी १२ स्थित खनारमा मेडिकल सञ्चालन गर्दै आएका सोनु शाह र मनिषकुमार यादवले लाइसेन्सको मेडिकल गर्ने भनेर । असोज १ गतेदेखि जारी हुनेगरी ठेक्का पारेका थिए ।उनीहरूले ठेक्का पारेसँगै सर्वसाधारणसँग चर्को शुल्क असुल्दै आएका थिए ।
यसअघि मेडिकल जाँचका लागि १० रुपैयाँको रसिद काट्नुपर्ने भएपनि अहिले सेवाग्राहीले उक्त शुल्क तिर्नुपर्दैन । तर, मेडिकलमा सबैलाई फेल गराइन्छ । र, मोटो रकम लाग्ने भन्दै असुली गर्ने गरेको खुलेको हो ।
‘सेवाग्राहीलाई मनपरी फेल गराउने अनि एक हजारभन्दा माथि मोटो रकम दिएमा पास गरिने भन्दै रकम असुल गरिन्छ,’ स्रोतले भन्यो, ‘यसअघि पनि शून्य मूल्यमा ठेक्का पारिएको थियो । यो सबै काममा कहिँ न कहिँ कर्मचारी पनि मुछिन्छन् ।’ आँखा परीक्षणको नाममा सेवाग्राहीमार्फत मोटो शुल्क लिने गरेको खुलेको छ ।
खासगरी यातायात कार्यालयमा यसअघिदेखि नै चरम बेथिति हुँदै आएको छ । सेवाग्राहीले सहज रूपमा सेवा लिनै सक्दैनन् । बिचौलियामार्फत मात्रै काम हुने गरेकोसमेत गुनासो पटकपटक आएको छ । तर, बुधबार १७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मी, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीसहितले बुधबार यातायात कार्यालय पुगेका थिए ।
स्रोतका अनुसार यसअघि इटहरीकै दीपक थापाले शून्य मूल्यमा ठेक्का पाएका थिए । उनले शून्य मूल्यमा ठेक्का पाएपनि सेवाग्राहीलाई मेडिकल (आँखा परीक्षण)मा फेल गराएर मोटो शुल्क लिने गरेको स्रोत बताउँछ ।
‘शून्य मूल्यमा ठेक्का पारेर ठेकदारलाई के फाइदा हुन्छ ? त्यहाँ खटिने कर्मचारीले कसरी पैसा कमाउँछन् ? त्यसरी शून्य मूल्यमा ठेक्का दिनु नै कर्मचारीको नियतमाथि पनि प्रश्न उठ्छ,’ ती व्यक्ति भन्छन्, ‘झट्ट सुन्दा सेवाग्राहीलाई फाइदा हुने भनिएपनि मेडिकल जाँचमा फेल गराएर मोटो शुल्क लिनुले यहाँभित्र चरम हिनामिना हुने गरेको स्पष्ट छ ।’
खासगरी यातायात कार्यालयले खुलाएको ठेक्काबमोजिम सबैभन्दा कम मूल्यमा ‘बिलो’ गर्नेले ठेक्का प्राप्त गर्ने प्रावधान छ । तर, शून्य मूल्य अर्थात् सेवाग्राहीबाट कुनै शुल्क नै नलिने भन्दै ठेक्का पार्ने गरिएको छ ।
बुधबार पक्राउ परेका ठेकदार मनिष कुमार यादवले आफूलाई डाक्टर बताउने गरेका छन् । तर, उनी नक्कली डाक्टर रहेको प्रशासनको पत्रमा उल्लेख छ । अहिले पक्राउ परेका १७ जनालाई नै इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरू नक्कली डाक्टरसहित बिचौलियाहरू रहेका छन् । उनीहरूले बर्षौँदेखि सेवाग्राहीबाट मोटो रकम असुली गर्दै कर्मचारीसँगको सेटिङमा पैसा बुझाउने कर्मचारीको छिटो काम गर्दै आएको स्रोत बताउँछ ।
तस्बिर :समिर दुलाल
प्रतिक्रिया