विराटनगर । दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै कोशी प्रदेशमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर संचालनमा ल्याउन थालिएको छ ।
पहिलोपटक विराटनगर महानगरपालिका–११ बसपार्कमा मंगलबार कक्षाको स्थापना गरिएको छ । त्यसको उद्घाटन कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख, एसएसपी अविनारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भीमबहादुर दाहाल, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसएसपी जयराज सापकोटा, मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलगायतका प्रहरी अधिकारी, यातायात व्यवसायी, मजदुर, जनप्रतिनिधि, ट्राफिक प्रहरीलगायतको उपस्थिति थियो ।
कक्षको उद्घाटन गर्दै डीआईजी खापुङले चाडपर्वका बेला यात्रुलाई आइपर्ने समस्याको चाँडोभन्दा चाँडो सम्बोधन गर्न प्रहरीलाई निर्देशनसमेत दिए । खापुङले प्रदेशका १४ वटै जिल्लाका विभिन्न ठाउँ एवं सवारीसाधनको चाप धेरै भएका स्थानमा ‘यात्रु सहायता कक्ष’को स्थापना गरिने बताए ।
उनका अनुसार चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने ठूलो संख्याका यात्रुको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै कक्षको स्थापना गरिएको र सडकमा निगरानी बढाइएको उनको भनाइ छ ।
‘बाढी र पहिरोका कारण सडक यात्रा त्यति सहज छैन । अब विस्तारै सहज हुँदै जान्छ,’ डीआईजी खापुङ भन्छन्, ‘चाडपर्वमा सवारीसाधनमा यात्रुको चाप धेरै हुन्छ । सहायता कक्षले सर्वसाधारणको यात्रालाई सहज, सुरक्षित एवं भरपर्दो बनाउन, यात्रुमैत्री वातावरण तयार पार्न तथा सार्वजनिक सवारीलाई नियमन र निगरानी गर्न सहज बनाउने छ ।’
संवेदनशील ठाउँ भएका कारण बसपार्कमा प्रहरीको प्रभावकारी उपस्थिति आवश्यक रहेको उनी बताउँछन् । सडक यात्रालाई सहज बनाउन तथा ट्राफिक नियमको उल्लंघन रोक्न यातायात व्यवसायी, मजदुर, प्रहरी तथा सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको खापुङले बताए ।
‘यातायात क्षेत्रमा बिचौलियाको जगजगी हुनसक्छ । त्यस्ताले यातायात क्षेत्रको बदनाम गराउँछन् । गलत गर्नेलाई कारबाही गरेर समाजका अगाडि उदाङ्गो बनाउनुपर्छ । विपद्ले गर्दा यातायात क्षेत्र सहज छैन । त्यही पनि सबै मिलेर नेपालीका चाडपर्वलाई रमाइलो र हर्षोल्लासपूर्ण बनाउनुपर्छ,’ उनले भने ।
मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले यातायात व्यवसायी र ट्राफिक प्रहरीको सक्रियतामा कक्षको स्थापना गरिएको जानकारी दिए । उनका अनुसार कक्षलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा यात्रुका समस्या तत्काल सम्बोधन गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ । मोरङका विभिन्न ठाउँमा कक्ष स्थापना गरिने लम्सालले बताए ।
उनका अनुसार यात्रुको सहजताका लागि सबै सरोकारवालासँग समन्वय भइरहेको छ । यात्रामा कुनै समया आए तत्काल सहायता कक्ष र ट्राफिक प्रहरीलगायतका सुरक्षा निकायलाई जानकारी गराउन यात्रुहरुलाई आह्वान गरिएको इन्स्पेक्टर लम्साल बताउँछन् । ‘यातायात व्यवसायीलाई यात्रुको सुरक्षा र सुविधालाई पहिलो प्राथमिकतामा राखेर सवारीसाधन चलाउन अनुरोध गरिएको छ,’ उनले भने ।
सुनौलो पूर्वनेपाल यातायात सेवा प्रा।लिका महासचिव धर्मदेव साहले यात्रुमैत्री सेवा प्रवाहका लागि यातायात व्यवसायी र मजदुर प्रतिबद्ध रहेको बताए । विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले सवारीसाधन र सार्वजनिकस्थलका गलत गतिविधि रोक्न प्रहरी सक्रियता बढाउनुपर्ने बताए । ‘सबैको सहयोगमा गलत गतिविधिलाई निर्मूल पार्नुपर्छ,’ न्यौपाने भन्छन्, ‘यसमा प्रहरीको भूमिका अहम् हुन्छ ।’
त्यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मा समेत ‘यात्रु सहायता कक्ष’को स्थापना गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलबारीका प्रमुख एवं वरिष्ठ सइ लोकबहादुर दियालीले यात्रुको सहायताका लागि कक्षमा ट्राफिक प्रहरी परिचालन गरिएको बताए ।
बेलबारी–३ का वडाध्यक्ष योगेन्द्र सुवेदीले सार्वजनिक सवारीको यात्रा सहज बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए । कक्षको उद्घाटन वडाध्यक्ष सुवेदीले नै गरेका हुन् । उद्घाटन समारोहमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीलगायत उपस्थित थिए ।
यसैबीच, कोशी प्रदेशमा यात्रुमैत्री व्यवहार नगर्ने सवारीसाधनलाई प्रहरीले तत्काल कारबाहीको दायरामा ल्याउने भएको छ । दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै यात्रुको सहजतालाई ध्यानमा राखेर सार्वजनिक सवारीसाधनमाथि प्रहरीले निगरानी बढाएको छ ।
चाडपर्वमा यात्रुसँग बढी भाडा लिने, यात्रुलाई जथाभावी तान्ने, यात्रुका सामानको सुरक्षा नगर्ने, आरक्षण सिटको कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी र कोचाकोच यात्रु राख्नेलगायतका समस्या सार्वजनिक सवारीसाधनमा देखिने गरेको छ ।
साथै, यात्रुलाई सम्मानजनक व्यवहार नगर्ने, गन्तव्यसम्म नपुर्याउने, १ भन्दा बढी यात्रुलाई एउटै सिटको टिकट काटिदिने, मापदण्डविपरीत सवारी संचालन गर्ने, यात्रुलाई बिचल्ली बनाउने, अस्वस्थ्यकर खाना खान बाध्य पार्ने तथा बेचबिखन गर्ने र गैरकानुनी व्यवहार गरेर यात्रुलाई मर्कामा पार्ने गरिएको छ ।
यात्रुमैत्री व्यवहार गर्नसमेत प्रहरीले सबैलाई आह्वान गरेको छ । मोरङ प्रहरी प्रमुख नवराज कार्कीले यात्रुलाई असुविधा पुर्याउने खालका हर्कत गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइने बताए । उनका अनुसार यात्रुमैत्री व्यवहार नगर्ने र यात्रुलाई असुविधा पुर्याउनेले उन्मुक्ति पाउने छैनन् ।
प्रतिक्रिया