गीतकार लम्सालको ‘हारे आफैँसँग’ गीती सङ्ग्रह सार्वजनिक

बुधबार, २३ असोज २०८१
इटहरी : इटहरी निवासी, गीतकार गायत्री लम्सालको ‘हारे आफैँसँग’ गीती सङ्ग्रह सार्वजनिक भएको छ । बुधबार इटहरीमा गीतकार विजय श्रेष्ठ, शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमिरे, प्रा.डा. बद्रीविशाल पोखरेललगायतले लम्सालको सङ्ग्रह सार्वजनिक गरे । समाजमा सकारात्मक प्रेरणाका लागि प्रेरित गर्ने सोचले रचना गरिएका लम्सालको गीती सङ्ग्रहमा ८४ वटा गीत समावेश गरिएको छ । लम्सालले गीती सङ्ग्रह सार्वजनिक काक्रममा महत्वपूर्ण १२ वटा गीत प्रस्तुत गरे । लम्सालका यसअघि दुईवटा कृति आकाश हेर्दै दोबाटो २०६९ र पानीको रंग २०७५ सार्वजनिक भइसकेका छन् । दोस्रो कृति प्रकाशनपछि लम्सालको बढी संगत गीतकारसँग भएकाले गर्दा गीत रचनामा लागेको बताए । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नेपालीपनका गीत भएकाले गर्दा सारै मन परेको बताए । ‘जसरी ऐनामा व्यक्तिको अनुहार देखिएजस्तै गीतमार्फत समाजको अनुहार देखिएको छ,’ उनले भने । कार्यक्रममा कवि मनु मञ्जिलले लम्सालको गीती सङ्ग्रहमा समावेश भएका गीत राष्ट्रिय धरातल टेकेर रचिएको बताए । ‘लोक जनजीवनका गीतका रचनाकार लम्सालले एक से एक रचना गरेको पाइयो,’उनले भने । कार्यक्रममा शिक्षासेवी तथा साहित्यकार घिमिरेले लम्सालको गीत रचनामा अब्बल रहेको जनाए । सो क्रममा डा. पोखरेलले समाजलाई सकारात्मक ढंगले गीतमार्फत लम्सालले प्रेरित गरेको र सामाजिक विकृतिलाई पनि व्यङ्ग्य गरेको उल्लेख गरे । सगरमाथा साहित्य प्रतिष्ठान कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रम मिश्रा गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार