धरान : ‘विमल कृति पुरस्कार–२०८०’ बाट साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ पुरस्कृत हुने भएको छ ।
देश तथा विदेशबाट नेपाली भाषी, लेखक, साहित्यकार सर्जकहरूबाट प्राप्त भएका एक सय दुई जना लेखकका विभिन्न विधाका कृतिहरू मध्येबाट निर्णायक समितिको सिफारिस अनुसार साहित्यकार थाम्सुहाङको निबन्ध कृति पुरस्कृत गर्ने निर्णय गरिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
शब्दथुमभित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहिन रूपमा उतारिएको कवि विमल गुरुङ स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । तिनै रैथाने चेत, संस्कृति र जीवनशैलीलाई आवाज दिने काम निवन्धले गरेको उनले बताए ।
निबन्ध संग्रहभित्र आफ्नो भूगोलको सांस्कृतिक पक्ष र सिमान्तकृत चेतलाई उजागर गर्दै सशक्त विचार प्रवाह गरिएको उनको भनाइ छ ।
शब्दथुममा माटोको सुगन्ध र सांस्कृतिक रोमाञ्चचकताले भर्दै आफ्नो समुदाय र परम्परामाथि विमर्श गरिएको पुस्तकालयको सचिव भीम चाम्लिङले बताए ।
प्राप्त भएका कृतिमध्ये यसअघि श्रेष्ठ १० कृति चयन गरिएको थियो । पुरस्कार यही कात्तिक २४ गते आयोजना हुने ३३ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरूङको ५३ औं जन्मजयन्तीको अवसरमा कृतिकार प्रकाश थाम्सुहाङलाई नगद दुई लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित अर्पण गरिने आयोजकले जनाएको छ ।
यसैगरी उक्त अवसरमा सुनसरीको इटहरी २० तरहरामा रहेर नेपाली साहित्यसँगै पत्रकारिता क्षेत्रमा सक्रिय रहेका सिर्जनशील युवा विवेक विवश रेग्मीलाई यो वर्षको कवि विमल गुरूङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान प्रदान गरिने पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताए ।
सोही दिन उत्कृष्ट १० कविताहरू प्रस्तुत हुनेछन् । जसमा प्रथम, द्धितीय र तृतीय हुने कविहरूलाई क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया