काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले व्यावसायिक विवाद समाधानका लागि छिट्टै एक मध्यस्थता केन्द्र स्थापना गरिने घोषणा गरेका छन् ।
ललितपुरमा बिहीबारबाट सुरु भएको उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
अध्यक्ष ढकालले नेपालमा व्यावसायिक वातावरणलाई अझै प्रभावकारी बनाउन महासङ्घले विभिन्न योजनाहरू अघि बढाइरहेको उल्लेख गरेका छन् । ‘मध्यस्थता केन्द्र स्थापना भएपछि नेपालमा व्यापारिक वातावरण झन् सुदृढ हुने विश्वास छ, ।’उनले भने ।
नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गर्ने मध्यस्थता केन्द्रले व्यावसायिक विवाद समाधानलाई सहज बनाउने मात्र नभई, नेपालको व्यावसायिक वातावरणलाई लगानीमैत्री बनाउन पनि सहयोग पु¥याउने अध्यक्ष ढकालको भनाइ छ । व्यवसाय क्षेत्रका विवादलाई समयमै र निष्पक्ष रूपमा समाधान गर्ने प्रक्रियालाई सुलभ बनाउन वैकल्पिक विवाद समाधान (एडीआर) को महत्त्वमा अध्यक्ष ढकालले जोड दिए ।
‘निर्माण, पूर्वाधार, बैङ्किङ र व्यापारजस्ता महत्त्वपूर्ण क्षेत्रमा उत्पन्न हुने विवादहरूलाई छिटो र न्यायसङ्गत रूपमा समाधान गर्न यो केन्द्रले विशेष भूमिका खेल्नेछ,’उनले भने ।
अध्यक्ष ढकालले नेपाल सरकारले पछिल्लो समय लगानी सम्बन्धी कानुनी सुधारका क्षेत्रमा चालेका कदमहरूको प्रशंसा गरे । उनले भने ‘हामीले लगानीसम्बन्धी आठ महत्त्वपूर्ण कानुन संशोधन गरेका छौँ, जसले प्रक्रियागत समस्या हटाउँदै पारदर्शिता र विश्वासको वातावरण निर्माण गरेको छ ।’
प्रतिक्रिया