मोरङ : मोरङमा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ ।
गएराति १२ः१० बजेतिर मोरङको ग्रामथान गाउँपालिका २ झोराहाट चौकस्थित घिनाघाट सडक खण्डमा दुर्घटना भएको हो ।
विराटनगरबाट विराटचौकतर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ ।
अनियन्त्रित भएर नहरको पुलमा ठक्कर हुँदा मोटरसाइकल चालक ग्रामथान १ बस्ने अन्दाजी २२ वर्षीय आशिक मरिक र पछाडि सवार उनकै बुबा ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । घटनामा दुवैजना घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि विराट नर्सिङ होम अस्पताल पठाइएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया