धरान । योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गरेर नेकपा (एमाले) ले श्रमिकहरूको जीवन रक्षाका लागि ऐतिहासिक काम गरेको नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीम ज्वाला राईले बताएका छन् ।
श्रमिकहरूको जीवनमा आइपर्ने हरेक सङ्कट समाधान योगदानमा आधारित सामाजिक सुरक्षा योजना रहेको, श्रमिक बिरामी हुँदा उपचार, घाइते हुँदा उपचार, श्रमिकको ज्यान गएमा आश्रित परिवारलाई राहत, बुढ्यौलीमा पेन्सन, काम रोकिदा भत्ता सहितको सामाजिक सुरक्षा योजना नेकपा एमाले सरकारको पालमा जारी गरिएको र अहिले करिब १६ लाखले लाभ लिएको राईले बताए ।
नेकपा (एमाले) धरान उपमहानगर मजदुर शाखा कमिटीको दोस्रो अधिवेशनको शनिवार उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि राईले श्रमिकहरूको हित रक्षा र अधिकारको ग्यारेन्टी अनुरूप नेकपा एमालेले श्रमिकहरूको पक्षमा काम गरिरहेको बताए ।
कार्यक्रममा नेकपा एमाले धरान उपमहानगर अध्यक्ष हर्कजंङ एभेङले पार्टीभित्र श्रमिकहरूको उपस्थिति बलियो बनाउनु पर्ने बताए । पार्टी श्रमिकहरूको मुद्दामा प्रतिबद्ध भएको र त्यही अनुपातमा पार्टीभित्र मजदुरहरूको सङ्ख्या उल्लेख्य वृद्धि गर्नुपर्ने बताए ।
मजदुर शाखा कमिटीको नेतृत्व भट्टराईलाई
नेकपा (एमाले) धरान उपमहानगर मजदुर शाखा कमिटीको दोस्रो अधिवेशनले हरि भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा तिलक बिक, सचिवमा बलबहादुर लिम्बू, सहसचिवहरूमा टिका निरौला र गणेश योङहाङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा वीरबहादुर राई, कमला बस्नेत, यमुना काफ्ले, शान्ति केसी, उर्मिला रसाइली, आशा राई, कुविर श्रेष्ठ, लेखराज थापा मगर, प्रेम कुँवर र रत्न तामाङ रहेका छन् ।
कार्यक्रममा नेकपा एमाले सुनसरी सदस्य ऋषिराज राई, सल्लाहकार रङ्गलाल गिरी, पूर्व प्रदेश सदस्य मुक्तिनाथ गिरी, धरान नगर सदस्य तथा शाखा इन्चार्ज कमल भट्टराई, जीफन्ट धरान अध्यक्ष शमशेर बर्देवा लगायतका नेताहरू सहभागी रहेका थिए ।
प्रतिक्रिया