विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र लोकतन्त्रको पहरेदारका रूपमा उभिनुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघका कोशी प्रदेश र मोरङ जिल्लाका नवचिर्वाचित पदाधिकारी र सदस्यहरूलाई कोइराला निवासमा बधाई दिँदै उनले सञ्चार क्षेत्र कमजोर भयो भने लोकतन्त्रसमेत कमजोर हुने धारणा राखे ।
उनले सञ्चार क्षेत्रले प्रतिपक्षको भूमिकासमेत निर्वाह गर्नुपर्ने बताए । पछिल्लो समय सञ्चार क्षेत्र कमजोर हुँदै गएको हो कि भन्ने आफूले महसुस गरिरहेको कोइरालाको भनाइ थियो ।
नेता कोइरालाले सञ्चार क्षेत्र कमजोर हुँदा लोकतन्त्रसँगै मुलुकमा अराजकता, व्यथिति, भ्रष्टाचार मौलाउँदै जाने बताए ।
‘सञ्चार क्षेत्रले जहिले पनि प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्दछ,’ उनले भने, ‘सञ्चार क्षेत्र बलियो भयो भने लोकतन्त्र पनि बलियो हुन्छ ।’
मुलुकमा आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले तीनै तहको सरकारले सुशासन कायम गर्न नसकेको बताए । भ्रष्टाचार, बेथिति, अराजकताविरुद्ध सञ्चार क्षेत्रले खबरदारी गर्नुपर्ने उनको भनाइ छ ।
‘अहिले देशका सुशासन छैन, भ्रष्टाचार दिन प्रतिदिन मौलाउँदै गएको छ । त्यही भएर युवाहरुमा देशप्रति निराशा बढ्दो छ’ उनले थपे, ‘यस्तो बेला सञ्चारकर्मीहरुको भूमिका अहम् हुन्छ । सबै विकृतिविरुद्ध सञ्चार क्षेत्रले आवाज उठाउनुपर्छ ।’
प्रतिक्रिया