धरान प्राचीन शहर हो: मुख्यमन्त्री कार्की

सोमबार, ०१ पुस २०८१
धरान । कोशि प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले धरान आफैमा प्राचीन शहर रहेको बताएका छन् । सोमबार धरान मेघा हिमालयन कलेजमा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । धरान विभिन्न जातजाति, संस्कृतिको उद्गमस्थल पनि रहेको मुख्यमन्त्री कार्कीले बताए । 'धरानमा पर्यटनको सम्भावना छ यहाँ धेरै मठमन्दीरहरु छन् जसमा बुढासुब्बा मन्दिर, पिण्डेश्वर मन्दिर, दन्तकालि मन्दिर लगायत वराहक्षेत्रको सङ्गम, विष्णु पादुका मन्दिर लगायत धरान, सप्तकोसी नदी लगायत तराईका फाँटहरू देखिने चिन्डे डाँडा लगायतका धार्मिक स्थल र रमणीय ठाउँहरू भएकोले यी सबैलाई व्यवस्थित गरी लैजान सके धरान कोशि प्रदेशको सबै भन्दा राम्रो पर्यटन क्षेत्र बन्न सक्छ' मुख्यमन्त्री कार्कीले भने । 'धरान खेलकुदको सहरको रूपमा पनि परिचित छ, यहाँ खेलकुद खेल्न मात्र होइन सिकाउनको लागी एन्फा एकेडेमी, बास्केटबल पनि त्यतिकै चर्चित, शिक्षामा पनि धरानमा धेरै क्याम्पसहरू रहेकोले धरान हरेक क्षेत्रमा अगाडी रहेकोले धरान धार्मिक स्थल, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सबै क्षेत्रमा अगाडी रहेकोले यसको लागी धरान उपमहानगरपालिकाले सहकार्य गरे कोशि प्रदेश लगायत केन्द्र सरकारले पनि सहयोग गर्ने तयार छ' मुख्यमन्त्री कार्कीले थपे । खेलकुदको विकासको लागी बजेट विनियोजन गरेर मात्र नहुने बताउँदै खेलकुदको विकासको लागी व्यवस्थापन सही हुनु पर्ने, नीति तर्जुमा हुनुपर्ने साथै प्रशिक्षकहरू राम्रो हुनुपर्ने मुख्यमन्त्री कार्कीले बताए । हाल क्रिकेटले नेपाललाई परिचित गराएको कार्कीले बताए । धरानको मुख्य समस्या खानेपानीको लागी नीतिगत प्रबन्ध र बजेटको व्यवस्थापन गर्न समेत कोशि प्रदेश तयार रहको उनले बताए । धरानका उदयमान बास्केटबल खेलाडी स्व। रेवाहाङ रूछेन्चुङ राईको सम्झनामा विद्यालय स्तरीय तेस्रो यु १८ धरान मेघा रेवाहाङ मेमारियल अन्तर कलेज बास्केटबल प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा धरान आदर्श स्कुल र सुनाखरी स्कुल भएको छ । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाउने आयोजक कलेजका अध्यक्ष कैलाश लिम्बुले बताए । विजेता टिमलाई नगद २५ हजार, उपविजेतालाई नगद १२ हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिने प्रतियोगिता संयोजक तथा बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले बताए । कार्यक्रममा स्व।रेवाहाङका पिता रेवतीरवण राई, माता सुजता राई, कोशि प्रदेशको सांसदहरू यशोदा कायस्थ, रमेश कुमार बस्नेत, विजय कुमार राई, धरान बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, अग्रज पत्रकार हर्ष सुब्बा, मजदुर नेता भीम ज्वाला राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार