विराटनगर : विराटनगर महानगरपालिकाको आयोजनामा रोजगार मेला सुरू भएको छ ।
विराटनगर–७ स्थित इको पार्कमा सुरू भएको मेलाको मेयर नागेश कोइरालाले उद्घाटन गरे । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको महानगरले जनाएको छ ।
युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका लागि मेला आयोजना गरिएको मेयर कोइरालाले जानकारी दिए ।
विराटनगर महानगरपालिकाले बेरोजगार युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बीचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको उनको भनाइ छ ।
दुईदिने मेलाबाट तीन सयभन्दा बढी युवायुवतीले रोजगारी प्राप्त गर्ने मेयर कोइरालाले बताए ।
‘२०८० सालमा आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट एक सय ९७ जना युवा रोजगार भएका थिए, उनले भने, ‘यस वर्ष चार सय जनाभन्दा बढी बेरोजगार युवाले रोजगार प्राप्त गर्ने हाम्रो अनुमान छ ।’
उपमेयर शिल्पा निराला कार्कीले रोजगार उपलब्ध गराउने निकाय र रोजगारको खोजीमा रहेका युवालाई एउटै थलोमा राखेर पुलको काम महानगरपालिकाबाट भएको बताइन् ।
‘महानगरपालिकाले हरेक वर्ष रोजगार मेला आयोजना गर्ने गरेको छ,’ उनले भनिन्, बेरोजगारलाई रोजगारी सिर्जना गर्न, बेरोजगार र रोजगारदाताको बीचमा सम्बन्ध स्थापित गर्नका लागि पनि मेलाको महत्वपूर्ण छ ।’
इनरुवा नगरपालिकाकी उपमेयर विनिताकुमार मेहता, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ३ का वासुबहादुर बस्नेत, १० का अर्जुन गिरी, १९ का श्याम घिमिरेलगायतको उपस्थितिमा भएको कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा दक्ष प्राविधिक नहुँदा भारतबाट कामदारहरू ल्याउनुपर्ने बाध्यता विद्यामान रहेको उल्लेख गरे ।
अहिले बजारमा दक्ष जनशक्तिको अभाव रहेको उनीहरूको भनाइ थियो ।
विराट व्यापार संघका उपाध्यक्ष शरद श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलालगायतले घरेलु तथा साना उद्योगमा युवा तथा किशोरीहरूले रोजगार प्राप्त गर्दै आएको बताएका थिए । ३० वटा बढी स्टल रहेको रोजगार मेलामा आफ्नो दक्षता र सीपको आधारमा रोजगारदाताले युवा जनशक्तिसँग परामर्श गर्नेछन् ।
यसैबीच मेलामा सबैभन्दा बढी ‘स्टाप नर्स’को माग आएको महानगरको रोजगार शाखाका कपिल थापाले जानकारी दिए । नोबेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट एक सयभन्दा बढी ‘स्टाप नर्स’को माग आएको थापाले बताए ।
उनका अनुसार ‘स्टाप नर्स’पछि प्रशासन, बजार व्यवस्थापक (मार्केटिङ), सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल, रिसेप्सनिस, बिक्रेतालगायतमा माग आएको छ ।
स्टल राखेका सबै रोजगारदाताबाट चार सयभन्दा बढीको माग आएको छ । त्यस्तै, दुई हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । गत वर्षको मेलामा ३२ वटा स्टल समावेश गरिएको थियो भने एक सय ९७ जनाले रोजगारी प्राप्त गरेका थिए ।
तीन हजार दुई सयले मेलाको प्रत्यक्ष अवलोकन गरेका थिए । यस वर्षको मेलामा ५ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा राखिएको थापाले बताए ।
प्रतिक्रिया