इटहरीमा पुस ६ गतेदेखि जेसीजको राष्ट्रिय महाधिवेशन, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

मंगलबार, ०२ पुस २०८१
इटहरी : इटहरी जेसीजको आतिथ्यतामा नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन यही पुस ६ गतेदेखि सुरू हुँदैछ । पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंगलबार पत्रकार सम्मेलन गरी महाधिवेशनबारे जानकारी दिइयो । ५१ औँ राष्ट्रिय महाधिवेशनमा करिब पाँच हजार जना सहभागी हुने तयारी रहेको महाधिवेशन निर्देशक दीपक ढकालले बताए । उनका अनुसार देशैभरका एक सय ७८ शाखाबाट जेसीजका सदस्यहरू सहभागी हुुनेछन् । महाधिवेशनबाट सन् २०२५ का लागि राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन हुनेछन् । पुस ६, ७ र ८ गते इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा महाधिवेशन हुनेगरी तयारी अन्तिम चरणमा पुगेको ढकालले बताए । ‘पुस ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट औपचारिक उद्घाटन भएपछि बाँकी कार्यक्रम अगाडि बढ्छन्,’ उनले भने, ‘कार्यक्रम तालिका अन्तर्गत प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तित्वकला, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता र नेपाल जेसीजको वार्षिक साधारणसभा सम्पन्न हुनेछ ।’ महाधिवेशनका लागि कोशी प्रदेश सरकारले अभिभाकत्व ग्रहण गरेको छ भने इटहरी उपमानगरपालिका संरक्षण रहेको इटहरी जेसीज वर्ष २०२४ का अध्यक्ष सुमन सुवेदीले बताए । महाधिवेशनका लागि सुनसरीसहित मोरङका विभिन्न दुई सय वटा होटलको व्यवस्थापन गरिएको उनको भनाइ छ । खासगरी कोशी प्रदेश सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०८२’ लाई यो महाधिवेशनले प्रबद्र्धनसमेत गर्ने उनको विश्वास छ । ‘स्थानीय पर्यटन र व्यापार प्रबद्र्धनका निम्ति हामीले ५० वटा स्टलसमेत राख्ने तयारी गरेका छौँ,’ सुवेदीले भने, ‘साथै आमन्त्रितहरूलाई कोशी प्रदेशका विभिन्न स्थानमा पर्यटन प्रबद्र्धनका निम्ति अवलोकनको व्यवस्थासमेत गरिएको छ ।’ महाधिवेशनमा करिब तीन करोड खर्च हुने अनुमान गरिएको छ । जसमा एक करोड भन्दा बढी रकम जेसीज सदस्यबाट सहभागी शुल्क लिइनेछ । बाँकी रहेको रकम कोशी प्रदेश सरकार, इटहरी उपमहानगरपालिकासहित विभिन्न पालिका, स्थानीय व्यापारीहरू तथा स्टलबाट व्यवस्थापन गरिने तयारी गरिएको छ । महाधिवेशनमा कूल एक हजार दुई सय ४६ मतदाताले मताधिकार गर्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार