इटहरी: इटहरीमा सिलबन्दी गरिएका औषधी पसल सञ्चालकलाई कारबाही गरिएको छ । मंसिर १३ गते अनुगमनका क्रममा इटहरीका तीनवटा औषधी पसलमा सिलबन्दी गरिएको थियो ।
औषधी व्यवस्था विभाग विराटनगरका एलन खड्काका अनुसार इटहरी ६ को अटल फार्मेसी, इटहरी ९ को भगवती बिना मेडिकल र इटहरी २० को स्वस्थ जीवन आयुर्वेदिक औषधी पसलमा सिलबन्दी गरिएको थियो ।
ती औषधी पसलका सञ्चालकलाई औषधी ऐन २०३५ बमोजिम कारबाही गरिएको खड्काले बताए ।
‘हामीले अनुगमनका क्रममा लापरबाही भेटिएपटि सिलबनदी गरेर आवश्यक कारबाहीका लागि औषधी व्यवस्था विभागको केन्द्रीय कार्यालयमा पठाएका थियौँ,’ उनले भने, ‘जसअनुसार महानिर्देशकबाट औषधी ऐन २०३५ बमोजिम निलम्बन गरिएको छ ।’
ऐनअनुसार जरिवाना उल्लेख नभएका कारण एक साता निलम्बन गरिएको थियो । ‘औषधी बिक्री गर्ने अनुज्ञा पत्र सात दिनसम्म नदिएको र निलम्बन गरेपछि हामीले सिलबन्दी खोलेका छौँ,’ उनले भने, ‘कारबाही भइसकेपछि सिलबन्दी खोलिएको हो । लापबारही गर्ने औषधी पसललाई निगरानी बढाएका छौँ ।’
अटल फार्मेसी र भगवती मेडिकलले नार्कोटिक औषधी बेचबिखन गरेको भएपनि रेकर्ड नराखेपछि सिलबन्दी गरिएको थियो । नार्कोटिक औषधी भनेको दुव्र्यसनका फस्ने वा लागूऔषधको रूपमा प्रयोग हुन्छ । उक्त औषधी डाक्टरको सिफारिसबाहेक प्रयोग गर्न पाइँदैन ।
तर, ती मेडिकलले भने डाक्टरको सिफारिसबाहेक नै सम्बन्धित मानिसले खानुपर्ने वा सेवाग्राहीको रेकर्ड नै नराखी बेचेको पाइएपछि सिलबन्दी गरिएको विभागले जनाएको छ ।
यता, स्वस्थ जीवन आयुर्वेदिक औषधी पसलले भने लेभल बिनाको औषधी बेचबिखन गरेका कारण सिलबन्दी गरिएको थियो । ती सबै औषधी पसल सञ्चालकलाई कारबाही गरेपछि सिलबन्दी तोडेर पसलको ‘सटर’ खोलिएको विभागले जनाएको छ ।
प्रतिक्रिया