तेस्रो धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल: आयोजक धरान मेघा ए र होलिल्याण्ड फाइनलमा भिड्ने

विहीबार, ०४ पुस २०८१
धरान: मेघा कलेजको आयोजनामा आयोजित धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको फाइनलमा आयोजक धरान मेघा ए र होलिल्याण्ड स्कुल फाइनलमा भिड्ने पक्का भएको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक धरान मेघा ए टिमले सियोन स्कुललाई ५१-३९ अङ्कले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएका हुन । प्रतिस्पर्धात्मक भएको खेलको पहिलो क्वाटरमा सियोन स्कुल ८-४ अङ्कले अघि रहे भने दोस्रो, तेस्रो र चौथो  क्वाटरमा धरान मेघा कलेज १४-११, १३-११ र २०-९ अङ्कको अन्तर बनाउँदै फाइनल यात्रा तय गरेका थिए । सोही दिन भएको सेमिफाइनल खेलमा होलिल्याण्ड स्कुलले टावर टेम्पल स्कुल झापालाई ५९-३७ अङ्कको अन्तरले सहज जित निकाल्दै फाइनल पुगेका हुन । होलिल्याण्ड र टावर टेम्पल स्कुल झापाले प्रत्येक क्वाटरमा १४–६, ४–१४, २०–५ र २१–१२ अङ्क जोडेका जोडेका थिए । १२ कक्षा सम्मका विद्यार्थीहरूले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको थियो । प्रतियोगिताका विजेता टिमले नगद रु। २५ हजार, उपविजेताले नगद रु. १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयर र उदीयमान खेलाडिले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा धरान बास्केटबल सङ्घ, सुनसरि बास्केटबल सङ्घ र रेवाहाङ रुछेन्बुङ राई स्मृति प्रतिष्ठानको विशेष सहयोग रहेको छ । फाइनल खेल शुक्रवार बिहान ८ बजे धरान मेघा कलेजको बास्केटबल कोर्टमा हुने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार