इटहरी : एक साताका लागि बस्ने भनेर स्थगित गरिएको इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक तीन महिनापछि बस्दैछ । गत असोज ७ गते एक सातापछि बैठक बस्ने भनेर स्थगित भएपनि तीन महिनापछि मात्रै बस्न लागिएको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलले आज बिहान ११ बजे कार्यपालिका बैठकका लागि सदस्यहरूलाई बोलाएका छन् । विभिन्न विषयमाथि छलफल हुने तयारी छ ।
उपमहानगरका प्रवक्ता तथा इटहरी ६ का वडाध्यक्ष दिवस पोखरेलका अनुसार आज विभिन्न विषयमाथि छलफल हुनेछ ।
पुरानो ठेक्काको म्याद थप गर्ने कि ठेक्का रद्ध गर्ने, आगामी वर्षको कार्ययोजना, पैनी तथा बाटोको मापदण्ड विषयलगातमा छलफल हुने प्रवक्ता पोखरेलले बताए ।
उनका अनुसार विद्यालय खाजाको थप सम्बन्धमा, बेरुजु खर्च सम्बन्धमालगायतका विषयमाथि छलफल हुनेछ । ‘११ बजेका लागि बैठक बोलाइएको छ,’ उनले भने, ‘विविध शीर्षकमा पनि छलफल हुनेछ ।’
पछिल्लो पटक (असोज ११) बसिएको कार्यपालिका बैठकमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले इटहरी १२ स्थित श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले ८० लाख रुपैयाँ अपचलन गरेको घटनामा कारबाहीको माग राखेका थिए ।
रकम घोटाला गर्ने प्रअ तिम्सिनालाई कारबाही गर्नुपर्ने, जिम्मेवारीबाट हटाउनुपर्ने, निलम्बन गर्नुपर्ने र रकम घोटाला गरेको विषयमा कार्यपालिका बैठकबाटै छानबिन समिति बनाउनुपर्ने विषय व्यापक बहस भएको थियो ।
तर, मेयर हेमकर्ण पौडेलले एक सातापछि अर्थात् असोज १८ गते पुनः बैठक बस्ने भन्दै कार्यपालिका बैठक स्थगित गरेका थिए ।
विद्यालयलाई जानुपर्ने भन्दा करिब ८० लाख रकम उपमहानगरका कर्मचारीको गम्भीर त्रुटिका कारण विद्यालयको खातामा गएको थियो । रकम गएको २२ महिनासम्म प्रअ तिम्सिनाले उक्त रकमबारे कुनै जानकारी नगराइकन घोटाला गरेका थिए ।
उक्त रकम घोटाला गरेको प्रमाणसहित पहिलोपटक प्रदेश खबरले समाचार सार्वजनिक गरेको थियो । समाचार सार्वजनिक भएसँगै इटहरी उपमहानगरपालिकाले छानबिन समिति बनाएपनि उक्त समितिले ‘झारो मात्रै टार्ने’ काम गरेको स्रोतको दाबी छ ।
यसअघि लेखा अधिकृत लखन चौधरीको संयोजकत्वमा प्रशासन अधिकृत सञ्जीव खड्का र कानुन अधिकृत कमलराज पोखरेल सदस्य रहनेगरी छानबिन समिति बनाएको थियो । उक्त समितिले गत भदौ १३ गते नै प्रतिवेदन बुझाएको छ । तर, समितिले भने ‘झारो टारेर’ प्रअ तिम्सिनालाई चोख्याएको थियो ।
बढी गएको रकम बुझाउनुपर्ने भएकाले यसअघि नै बुझाइसकिएकाले चोख्याइएको कुरा प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो कार्यपालिका बैठकमा प्रअ तिम्सिनामाथि कारबाही हुनुपर्ने व्यापक कुरा उठेपनि कुनै निष्कर्ष बिना नै बैठक सकिएको थियो ।
मेयर पौडेलले हरेक शुक्रबार बैठक बस्ने र सोही विषयदेखि बैठक प्रारम्भ हुने भन्दै बैठक समापन भएको घोषणा गरेका थिए । रकम घोटाला गर्ने प्रअमाथि आफूले कारबाही गर्ने तर उनीसहित कर्मचारीलाई पनि कारबाही गर्ने उल्लेख गरेका थिए ।
तर, शुक्रबार (असोज १८) मा भने बैठक बस्न सकेन । बैठक बस्न नसक्नुको एक कारण भने उक्त घोटालाको विषय रहेको बताइन्छ ।
त्यससँगै ठेक्का सम्झौता म्याद थप गर्ने कि नगर्ने भन्ने पनि अर्को कारण रहेको इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीले बताए ।
सुवेदीका अनुसार एक साताअघि नै रकम घोटाला गर्ने तिम्सिनालाई प्रअको जिम्मेवारीबाट निलम्बन गर्ने सहमति भएको थियो । तर, निलम्बन गर्ने सहमति भएपनि त्यो कार्यान्वयन नभएको उनले बताए ।
‘शिक्षकको विषयमा प्रअबाट निलम्बन गर्ने सहमति भएको छ । तर, हिजो बेलुकासम्म पनि निलम्बनको चिट्ठी पठाइएको छैन,’ सुवेदी भन्छन्, ‘निलम्बन गर्ने सहमति भएसँगै कार्यपालिका बैठक बस्न लागिएको हो । तर, निलम्बनको पत्र नपठाएका कारण त्यसबारे पनि कार्यपालिकामा कुरा उठ्छ ।’
उनले यसअघि पटकपटक कार्यपालिका बैठक बस्नका लागि निवेदन दिएकोसमेत बताए ।
‘हामीले अस्ति पनि निवेदन दिएका हौँ । मेयरले एकल ढंगले स्वेच्छाचारी किसिमबाट उपमहानगर चलाउन खोजेकोजस्तो देखिन्छ, उनले भने, मनखुशी गर्ने र कार्यपालिका बैठक र छलफल बिना नै नियुक्ति गर्ने लगायतका कुरा छन् । यसबारे पनि हामी कुरा उठाउँछौँ ।’
यो पनि – इटहरीमा ‘८० लाख घोटाला गर्ने हेडसर’लाई अझै भएन कारबाही, कार्यपालिका बैठक नै रोकियोयो पनि – इटहरीमा प्रधानाध्यापकद्धारा ८० लाख घोटाला प्रकरण : कर्मचारी मुछिने डरले ‘चोख्याइयो’यो पनि – इटहरीमा प्रधानाध्यापकद्धारा घोटाला प्रकरण : हर्जनासहित रकम फिर्ता, छानबिनको प्रतिवेदन के आउँछ ?यो पनि – इटहरीमा प्रअद्धारा ‘घोटाला’ प्रकरण : निलम्बनको मागसहित आज उपमहानगरमा पत्र बुझाइनेयो पनि – इटहरीमा प्रअद्धारा ८० लाख ‘घोटाला’ प्रकरण : विद्यालयबाट बिल, भौचर, चेक र माइन्युट ‘जफत’यो पनि – इटहरीमा प्रधानाध्यापकले ‘कीर्ते हस्ताक्षर’ गरी ८० लाख ‘झ्वाम’ पारेको खुलासा, छानबिन समिति गठनयो पनि – सम्पादकीय : राज्यको पैसा ‘घोटाला’ गर्ने प्रधानाध्यापकमाथि निष्पक्ष छानबिन गरयो पनि – एक्सक्लुसिभ : इटहरी उपमहानगरको लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण ८० लाख रकम ‘घोटाला’
प्रतिक्रिया