त्रिविमा ‘गोल्ड मेडल’ पाउनेमा छात्रा धेरै

शनिबार, १३ पुस २०८१
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय ६५ वर्षअघि स्थापना हुँदा भर्ना हुने छात्रा भेट्न पनि मुस्किल थियो । तर स्वर्ण दीक्षान्तसम्म आइपुग्दा अब्बल नतिजा ल्याएर पदक जित्नेमा छात्रभन्दा छात्रा विद्यार्थीको संख्या धेरै छ । त्रिविले ५० औं दीक्षान्तबाट ७४ हजार १ सय ४९ जनालाई शैक्षिक उपाधि प्रदान गर्ने भएको छ । शनिबार दशरथ रंगशालामा हुने स्वर्ण दीक्षान्तमा तीमध्ये सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै २२ वटा पदक र पुरस्कार प्रदान गरिँदै छ । पदक र पुरस्कार पाउनेमा छात्रभन्दा छात्राको संख्या बढी छ । २२ पदक र पुरस्कारमध्ये १७ वटा छात्रा र ५ वटा मात्र छात्रले पाएका छन् । विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा सर्वप्रथम भएका छात्रछात्रालाई पदक र पुरस्कार प्रदान गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए । त्रिविका शिक्षाध्यक्ष (रेक्टर) खड्ग केसीले सबै पेसा, व्यवसाय, प्राज्ञिक क्षेत्रमा पनि महिलाको उपस्थिति बढ्दै गएकाले अब्बल हुने छात्राको संख्या पनि वृद्धि हुँदै गएको बताए । ‘मिहिनेत गरेर छात्रा पनि प्रतिस्पर्धामा उत्कृष्ट हुन सक्छन् भन्ने उदाहरण यो हो,’ उनले भने, ‘उनीहरूले कोटामा परेर उत्कृष्ट नतिजा ल्याएका होइनन्, प्रतिस्पर्धामै उत्रेर सर्वोत्कृष्ट बनेका हुन् । मिहिनेत गर्न पुरुषभन्दा महिला अघि देखिए ।’ ‘देशभरमै उच्च शिक्षामा छात्राको संख्या बढेर गएको छ, मौका पायो र मिहिनेत गरियो भने प्रतिस्पर्धामा महिला पनि अब्बल हुन सक्छन्,’ केसीले भने । दीक्षित हुनेमध्ये १४ हजार ३ सय ८ जनाले दीक्षान्त समारोह दशरथ रंगशालामा सहभागी हुन आवेदन दिएका छन् । तीमध्ये ८ हजार ४ सय ४९ जना ९५९ प्रतिशत० छात्रा, ५ हजार ८ सय ५८ जना ९४१ प्रतिशत० मात्र छात्र र १ जना लैंगिक अल्पसंख्यक रहेका छन् । त्रिविमा पढ्ने विद्यार्थीमा पनि महिला बढी छन् । विश्वविद्यालय अनुदान आयोगकाअनुसार ४ लाख ९१ हजार २९९ विद्यार्थीमध्ये २ लाख ८६ हजार ८५० जना ९५८ प्रतिशत० छात्रा र २ लाख ४ हजार ४४९ जना ९४२ प्रतिशत० छात्र छन् । समग्र उच्चशिक्षामा पनि छात्राको संख्या बढेर गएको छ । देशभरका २२ विश्वविद्यालय तथा सोही हैसियतमा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ लाख ५८ हजार छात्रा ९५७ प्रतिशत० र २ लाख ७४ हजार छात्र ९४३ प्रतिशत० अध्ययरत रहेको आयोगको वार्षिक प्रतिवेदनको तथ्यांक छ । शिक्षाध्यक्ष केसीले छात्राको संख्या बढ्दै गएको कक्षाकोठमा समेत देख्न सकिने बताए । ‘धेरै कक्षामा छात्राको संख्या बढी देखिन्छ, कम्ती देखिएको कक्षामा पनि ५० प्रतिशत छात्रा नै हुन्छन्,’ उनले भने । पुरुष युवा वैदेशिक रोगजारीमा गएका कारण पनि महिलाको संख्या बढेको हुन सक्ने उनले औंल्याए । त्रिवि इतिहास शास्त्रका प्राध्यापक भवेश्वर पंगेनीले विश्वविद्यालय स्थापनाताका छात्राको संख्या अत्यन्त न्यून रहेकामा साढे ६ दशकमा पर्याप्त हुन पुगेको बताए । ‘पहिले छात्राको संख्या नितान्त कम थियो, ज्यादै थोरै मात्र भर्ना हुन आउँथे, हिजोको समाजले छोरीलाई अघि बढाएको थिएन, छोरीलाई पढ्नका लागि घर छाडेर पठाउने अवस्था नै थिएन,’ त्रिविको इतिहाससम्बन्धी पुस्तकसमेत लेखेका उनले भने, ‘अहिले अवस्था र समाज फेरिएको छ, समाजले छोरीलाई अघि बढाएको मात्र छैन, हरेक ठाउँमा स्थापित गर्न चाहन्छ ।’ उच्चशिक्षा अध्ययरतमध्ये ७८ प्रतिशतभन्दा बढी विद्यार्थी त्रिविमा पढ्छन् । यस वर्ष स्नातक गरेका ५३ हजार ६ सय ८२, स्तातकोत्तर तह पूरा गरेका २० हजार १ सय ३५, एफफिलका १ सय ७८ र विद्यावारिधि पीएचीडी गरेका १ सय ५४ जना विद्यार्थी दीक्षित हुने रजिस्ट्रार केदार रिजालले जानकारी दिए । त्रिवि व्यवस्थापन संकायअन्तर्गत एमफिलमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने हीरा श्रेष्ठले त्रिवि प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक प्राप्त गरेकी छन् । उनले ३.९५ जीपीए ल्याएकी थिइन् । व्यवस्थापन संकायको एमबीए कार्यक्रममा ३.३४ जीपीए प्राप्त गर्ने स्कुल अफ म्यानेजमेन्टकी छात्रा सुधा काफ्लेले इन्द्रभक्त श्रेष्ठ पदक पाएकी त्रिविले जनाएको छ । एमएस्सी वातावरण विज्ञानमा सर्वप्रथम भएकी रिकिता भण्डारीले मदन विद्या वातावरण विज्ञान पुरस्कार पाएकी छन् । वातावरण विज्ञान केन्द्रीय विभागकी उनले ३.९४ जीपीए प्राप्त गरेकी थिइन् । काठमाडौं मोडेल कलेजकी छात्रा रेबिका भण्डारीले एमबीएसमा सर्वप्रथम भएर पदक र पुरस्कार दुवै प्राप्त गरेकी छन् । उनी ३.९० जीपीए ल्याएर नेपाल बैंक सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार पाउने भएकी हुन् । एमए अंग्रेजी साहित्यमा रत्नराज्य लक्ष्मी क्याम्पसबाट सर्वप्रथम हुने सुदीक्षा घिमिरेले नरेन्द्रमणि आचार्य दीक्षित पदक प्राप्त गरेकी छन् । उनले ३.८८ जीपीए प्राप्त गरेकी थिइन् । वनस्पति शास्त्र केन्द्रीय विभागबाट एमएस्सीमा सर्वोत्कृष्ट नतिजा ३.८० जीपीए प्राप्त गर्ने श्रीणा श्रेष्ठले पनि पदक हात पारेकी छन् । उनले इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक पाउनेछिन् । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट एमएमा ३.६८ जीपीएसहित सर्वप्रथम हुने चेतना कुँवरले नारायण शान्ति मिश्र पदक पाएकी छन् । अर्थशास्त्र केन्द्रीय विभागबाट अर्थशास्त्र एमएमा ३.६७ जीपीए प्राप्त गर्ने श्रीज्या काफ्लेले तारापद चौधरी पदक पाउन सफल भएकी छन् । उनले खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कारसमेत पाउने त्रिविले जनाएको छ । शिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार सीताकुमारी श्रेष्ठले पाएकी छन् । शिक्षा शास्त्र केन्द्रीय विभागबाट एमएड तहमा छात्रामध्येबाट ३.४५ जीपीएसहित सर्वप्रथम भएर उनले पुरस्कार जितेकी हुन् । एमएस्सी रसायन शास्त्र विषयमा सर्वप्रथम भएका सुशील पोखरेलले अमृत पदक पाएका छन् । रसासन शास्त्र केन्द्रीय विभागबाट उनले ३।९५ जीपीए प्राप्त गरेका थिए । एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा सर्वप्रथम भएका प्रतीकराज जोशीले ३.८१ जीपीएसहित डा.दुबसु क्षेत्री मिश्र पदक पाएका छन् । एमए पुस्कालय विज्ञान विषयमा प्रथम भएका सन्जिककुमार सिंहले शान्ति नारायण मिश्र पदक प्राप्त गरेका छन् । उनले ३.८२ जीपीए ल्याएका थिए । स्नातक तहको परीक्षा सर्वप्रथम भएकी शंकरदेव क्याम्पसकी आकृति झाले दुई पदक प्राप्त गरेकी छन् । बीबीए व्यापार प्रशासनमा उनले ३.९९ जीपीए प्राप्त गर्दै भाइस चान्सलर पदक र भ्वाइथ सत्य माँ स्मृति स्वर्ण पदक पाएकी हुन् । नेपाल ल क्याम्पसबाट एलएलबी परीक्षामा प्रथम सिजन बोहराले लोकराज ज्ञवाली पदक हात पारेका छन् । उनले परीक्षामा ३.७१ जीपीए प्राप्त गरेको कार्यालयले जनाएको छ । सिभिल इन्जिनिनियरिङ विषयमा स्नातक (बीई सिभिल) मा ८४.२१ प्रतिशत अंकसहित सर्वप्रथम भएका आशिष थापा पुरस्कृत भएका छन् । क्याथफोर्ड इन्टरनेसनल कलेजका थापाले शिवराज पन्त स्मृति पुरस्कार पाएका हुन् । व्यवस्थापनतर्फ बीबीएस कार्यक्रममा ८०.७० प्रतिशत अंक प्राप्त गरी सर्वप्रथम लिबर्टी कलेज धनकुटाकी समिता ढुंगेलले नेपाल बैंक छत्रबहादुर पदक हात पारेकी छिन् । शिक्षा संकायमा बीएड परीक्षामा छात्रातर्फ उत्कृष्ट संगीता प्रजापतिले शुशीलादेवी शर्मा पुरस्कार पाएको त्रिविले जनाएको छ । सानोठिमी क्याम्पसकी उनले ७५.१५ प्रतिशत अंक प्राप्त गरेकी थिइन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली र कृषि अर्थशास्त्री रामप्रकाश यादवले पुरस्कार र पदक वितरण गर्ने कार्यक्रम रहेको त्रिविले जनाएको छ । ओलीको अध्यक्षतामा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा यादव उपस्थिति हुँदै छ । २०१७ मा एसएलसी पास गरेका यादव अमेरिकाबाट पीएचडी गरेर कृषि र अर्थशास्त्रको क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्ति हुन् । त्रिवि ६५ वर्षको भए पनि ५० औं दीक्षान्त मनाउनुको कारणचाहिँ आन्तरिक विवाद, नजिता प्रकाशनमा ढिलाइ, राजनीतिका कारण हुने आन्दोलनले समयमा दीक्षान्त गर्न नसक्नु हो । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार