कवि हरि कट्टेलको कविता सङ्ग्रह ‘दीप्तदृष्टि’ विमोचन

मंगलबार, १६ पुस २०८१
विराटनगर । विराटनगरका वरिष्ठ छन्द कवि हरि कट्टेलको नवौँ कृति ‘दीप्तदृष्टि’ कविता सङ्ग्रहको विमोचन गरिएको छ । स्रष्टा समाज नेपाल, कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा सो कविता सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, वरिष्ठ समालोचक प्रा.डा. हरिहर भण्डारी, अग्रज साहित्यकार बलराम पोखरेल, समालोचक प्रा.डा. रमेश घिमिरे, नरेन्द्र चापागाईँ स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईँ, प्राज्ञ खेम नेपाली, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ’मार्सेली’ लगायतले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए । विमोचित कृतिमाथि समालोचक प्रा. डा. रमेश घिमिरेले समीक्षा गरेका थिए । उनले कविता सङ्ग्रहका कविताहरूमा राष्ट्रप्रेम, जीवनदर्शन, शासकीय अहङ्कार, मानवीय चरित्र आदि विषयवस्तुहरूलाई बिम्ब र प्रतीकको यथोचित उपस्थान सहित कलात्मक ढङ्गले प्रस्तुत गरिएकोले कविता सङ्ग्रह नेपाली काव्य क्षेत्रमा उत्कृष्ट कृतिको रूपमा दर्ज हुन सफल देखिएको उल्लेख गरे । त्यस्तै छन्द र रसको उचित प्रयोग भएका यस कृतिका कविताहरूले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू पूर्णतः विश्वस्त रहेको बताए । विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा.डा. हरिहर भण्डारीले पछिल्लो समयमा नेपालको राष्ट्रियता कमजोर बनाउने गरी विभिन्न गतिविधिहरू बढिरहेको तर सरोकारवाला तथा सम्बद्ध पक्षले यसको विरुद्धमा आवाज बुलन्द गर्न नसकिरहेको दुखपूर्ण घडीमा कविले कविता मार्फत सशक्त खबरदारी गरिएको उल्लेख गर्दै कलमी यात्रा निरन्तरताको कामना गरे । यस्तै प्रमुख अतिथि कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सङ्ग्रह भित्रका कविताहरूले देशको विकास र सामाजिक रूपान्तरणको पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सो अवसरमा छन्द बाटिका, नेपालका सचिव चिरञ्जीवी नेपाल, वाल कवि प्रज्ञा कट्टेल लगायतले साङ्गीतिक ढङ्गबाट विमोचन भएको सङ्ग्रह भित्रका कविता वाचन गरेका थिए । नेपाल स्रष्टा समाज, काठमाडौँले प्रकाशित गरेको सङ्ग्रहमा १६ वटा शास्त्रीय छन्दका ५७ वटा कविताहरू रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार