'भ्यालेन्टाइन डे' विशेष: धरानमा गायिका रचना दाहालको प्रस्तुति

शुक्रबार, ०२ फागुन २०८१
धरान । भ्यालेन्टाइन डे को अवसरमा धरानमा आयोजित विजिनेश एक्स्पोमा चर्चित गायिका रचना दाहालले प्रस्तुति दिने भएकी छिन्। कार्यक्रमको लागि दुई दिनअघि नै धरान आइपुगेकी दाहालले बिहीबार एक्स्पो अवलोकन गर्दै सामाजिक सञ्जालमा लाइभ भिडियो सेयर गर्दै प्रेम दिवस मनाउन सबैलाई आमन्त्रित गरिन्। सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठका अनुसार यो विशेष प्रस्तुति भ्यालेन्टाइन डे को सेलेब्रेसनका लागि नै आयोजना गरिएको हो। उनले भने, 'यो कार्यक्रममा अत्याधुनिक लाइट र साउण्ड सिस्टम प्रयोग गरिएको छ। विशेष गरी काठमाडौँबाट मात्रै १० लाख रुपैयाँ बराबरको लाइट ल्याइएको छ।' श्रेष्ठले गायिका दाहाललाई धरान बोलाएर दुई दिनदेखि अभ्यास गरिरहेको बताए। 'यसपटक हामीले अझ धेरै मेहनत गरेका छौँ। यसले एक्स्पोलाई थप रोचक र अविस्मरणीय बनाउनेछ,' उनले बताए। गायिका रचना दाहाल आफ्नो लोकप्रिय गीतहरू “आज्ञा”, “भूमरी”, “दागबत्ती”, “हे भगवान” र “सपनाको राजा” जस्ता गीतहरू लिएर धरानका दर्शकमाझ पहिलो पटक प्रत्यक्ष रूपमा प्रस्तुत हुँदैछिन्। कार्यक्रमले धरानका स्थानीय फ्यानहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। धरान उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष शिवराज श्रेष्ठका अनुसार विजिनेश एक्स्पो धरान २०८१ व्यापार व्यवसायलाई चलायमान बनाउन, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न र आन्तरिक पर्यटनलाई विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो। एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुनेछ, जसमा प्रत्येक दिन चर्चित कलाकारहरूको प्रस्तुति समावेश गरिएको छ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार