नेपालमै पहिलो भनेर दाबी गरिएको इटहरी उपमहानगरको खाजा कार्यक्रम ‘असफल’, व्यापारीले अझै पाएनन् भुक्तानी

शुक्रबार, २३ फागुन २०८१
इटहरी : नेपालमै पहिलोपटक मेन्युसहित सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई खाजा खुवाउन टेण्डरमार्फत ठेक्का लगाइएको भनेर दाबी गर्ने इटहरी उपमहानगरपालिकाको खाजा कार्यक्रम ‘असफल’ बनेको छ । इटहरीमा रहेका ३६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई मेन्युसहित खाजा खुवाउने भनेर चर्चामा आएको उपमहानगरको खाजा कार्यक्रम ‘असफल’ बनेको हो । उपमहानगरपालिकाले विद्यार्थीलाई २४ मंसिर २०८० बाट पोषिलो खाजा खुवाउन सुरू गरेको थियो । जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताएका थिए । शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयहरूमा दिवा खाजा कार्यक्रम सुरु गरेको उनको भनाइ थियो । तर, दिवा खाजा कार्यक्रम भने असफल बनेको छ । अघिल्लो आर्थिक वर्षकै भुक्तानी नदिनु र यो आर्थिक वर्षमा ठेक्का प्रक्रियामार्फत नभई विद्यालय स्वयम्लाई ठेक्का दिइएको छ । जसकारण अहिले विद्यालयहरूले मनपरी रूपमा खाजा खुवाउने गरेकोसमेत आरोप लाग्दै आएको छ । अघिल्लो वर्ष खाजाको ठेक्का पाएको एरिना टिफिनकी सञ्चालिका कञ्चन थापाका अनुसार पाँच करोड ६५ लाख रुपैयाँमा दिवा खाजाको ठेक्का लागेको थियो । जसमध्येको चार करोड बराबरको खाजा खुवाइएपनि अझै एक करोड ८० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको थापाले जनाइन् । ‘अर्को आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी हुँदा अघिल्लो आर्थिक वर्षकै अझै एक करोड ८० लाख रुपैयाँ भुक्तानी बाँकी छ,’ उनले भनिन्, ‘१५–१५ दिनमा रकम भुक्तानी गर्ने भनेर सम्झौता भएको थियो । सम्झौताअनुसार भुक्तानी दिएको भए असार मसान्तसम्मै सकिन्थ्यो । तर, अर्को असार आउन चार महिना मात्रै बाँकी हुँदा हालसम्म पैसा पाइएन ।’ नेपालमै पहिलोपटक भनेर दाबी गर्दै इटहरी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा बाल कक्षादेखि कक्षा ६ सम्मलाई खाजा खुवाउने भनेर ठेक्का खुलाएको थियो । खासगरी संघीय सरकारले बाल कक्षादेखि कक्षा ५ सम्म मात्रै खाजा खुवाउँदै आएको छ । जसका लागि संघीय सरकारले प्रतिव्यक्ति १५ रुपैयाँ रकम बिनियोजन गरेको छ । इटहरी उपमहानगरपालिकाले १५ रुपैयाँमा थप गरी ४७ रुपैयाँमा ठेक्का लगाएको थियो । प्रतिव्यक्ति ४७ रुपैयाँका दरले ठेक्का लागेर ठेक्का लिएको कम्पनीले विद्यार्थीलाई खाजा खुवाएको आठ महिना बित्न लाग्दासमेत हालसम्म भुक्तानी नपाएको थापाले बताइन् । एरिना टिफिनका सञ्चालक समीर कार्कीले भुक्तानीनपाउँदा इटहरी नै छाडेर हिँड्न बाध्य हुनुपर्ने अवस्था आएको बताए । ‘मेयरसँग भेट हुँदा काम हुन्छ भन्ने जबाफ आउँछ । लेखा शाखामा जाँदै पैसा छैन भन्ने जबाफ आउँछ । खाजा कार्यक्रमको संयोजक उपमेयरले यसबारे आफूलाई थाहै नभएको बताउनुहुन्छ,’ कार्कीको दुखेसो छ, ‘सबै डकुमेन्ट पु¥याएको आठ महिना हुँदासमेत हालसम्म भुक्तानी नहुँदा इटहरी नै छाडेर हिँड्नुपर्ने बाध्यता भइसक्यो ।’ बजारबाट खाजाका लागि किनेको सामानको भुक्तानी दिन नसक्दा दिनानुदिन व्यापारीहरूले घेर्ने गरेका कारण आफू नाजबाफ भएको उनको भनाइ छ । ‘अरू विभिन्न शीर्षकको भुुक्तानी भएपनि खाजाको पैसा भुक्तानी हुन बाँकी छ, यसको कारण के हो भन्ने अझै बुझ्न सकिएन,’ उनले भने । खासगरी उपमहानगरले पैसा अभावको कारण देखाउँदै अघिल्लो आर्थिक वर्षकै विभिन्न योजनाको भुक्तानी दिएको छैन । महत्वाकांक्षी बजेटले थलिएको उपमहानगरमा चालु आर्थिक वर्षमा विकास निर्माणका कुनै पनि योजना प्रभावकारी ढंगबाट कार्यान्वयनमा आएका छैनन् । इटहरीका जनप्रतिनिधिहरू सामाजिक सञ्जालमा मात्रै रमाउने गरेको आरोपसमेत लाग्दैआएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारको १५ रुपैयाँ बजेटमा इटहरी उपमहानगरले १५ रुपैयाँ थप गरी विद्यालयलाई नै खाजाको जिम्मा दिएको छ । जसमा कुनै मेन्यु छैन । अघिल्लो आर्थिक वर्ष भने मेन्युसहितको नेपालमै पहिलोपटक भनेर दाबी गर्र्दै चर्चामा रमाउन चाहेको उपमहानगरपालिका यस वर्ष भने यसबारे मौन छ । इटहरीका मेयर पौडेलले शिक्षा सुधारमा लागिपरेको बताइरहे पनि यसबारे भने पछिल्लो समय कुनै प्रतिक्रिया दिएका छैनन् । दिवा खाजा व्यवस्थापन समितिकी संयोजकसमेत रहेकी उपप्रमुख संगीता कुमारी चौधरीले यस वर्ष विद्यालय स्वयम्ले खाजा खुवाइरहेको बताइन् । ‘अघिल्लो वर्ष टेण्डरमार्फत खाजा खुवाइएको थियो, यस वर्ष भने विद्यालयले नै खुवाइराखेको छ,’ उनले भनिन्, ‘अघिल्लो वर्ष राम्ररी खुवाएन भन्ने कुरा भएपछि यस वर्ष विद्यालयलाई दिएको हो ।’ उनका अनुसार अन्य योजनाको पनि भुक्तानी दिन अझै बाँकी छ । ‘भुक्तानी दिन टन्नै बाँकी छ । पैसा नभएरै हो नदिएको, पैसा भएको भए त यो टेन्सन किन लिनुपथ्र्यो ?,’ उपप्रमुख चौधरीले भनिन् । यता, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले भने झण्डै २२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताए । उनले आफू सरूवा भइसकेको र बिहीबार नै रमानासमेत बुझिसकेको उदृत गर्दै भने, ‘उपमहानगरसँग करिब ६ करोड पैसा छ । तर, भुक्तानी दिन २२ करोडजति छ ।’ उनका अनुसार एउटा शीर्षकको योजना अर्को शीर्षकमा ‘ट्रान्सफर’ गर्न नसक्ने विधिका कारण भुक्तानी दिन बाँकी छ । ‘६ करोड पैसा उपभोक्तालाई दिँदा केही सहज हुन्थ्यो । तर, एउटा शीर्षकको बजेट अर्को शीर्षकमा ‘ट्रान्सफर’ गर्न समस्या हुँदा भुक्तानी दिन समस्या भएको हो,’ उनले भने, ‘म जानुअघि नै सबैको भुक्तानी गर्छु भन्ने थियो । विभिन्न समस्याका कारण भुक्तानी दिन सकिएन ।’ यस्तो थियो मेन्यु अघिल्लो अर्थिक वर्ष उपमहानगरले ठेक्कामार्फत लगाएको खाजाको मेन्यु अनुसार आइतबार प्रति विद्यार्थी दुई सय १० ग्रामको तीन किसिमका फलफूल खुवाउनुपर्ने थियो । सोमबार विद्यार्थीहरूलाई भुटेको अण्डा र चिउरा, मङ्गलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउन सम्झौता भएको थियो । यस्तै, बुधबार खीर र तरकारी खुवाउनुपर्ने थियो । बिहीबार दही, चिउरा र तरकारी खुवाउनुपने सम्झौतमा उल्लेख थियो । शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेसम्झौतामा उल्लेख थियो । शाकाहारीका लागि भने मटर–पनिर र चिउरा खुवाउन पर्ने उपमहानगरले मेन्यु बनाएको थियो । तर, चालु आर्थिक वर्ष भने उक्त मेन्यु कार्यान्वयनमा आउन नसक्दा खाजा योजना असफल बनेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार