काठमाडौं । स्कुटर चोरीको आरोपमा ट्राफिक प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट स्कुटर चोरीमा संलग्न सिन्धुपाल्चोकका २० वर्षीय शनिस श्रेष्ठ र रुकुमपूर्वका १८ वर्षीय सुशान्त बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
ट्राफिक प्रहरीले तार्केश्वर नगरपालिका–१० घलेपुलमा नम्बर प्लेटविहीन स्कुटर चलाइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। उक्त स्कुटरको वास्तविक नम्बर बा ८७ प १६४४ रहेको खुलेको छ, जुन सामाखुसीका महेशचन्द्र खनालको रहेको र हराएको भन्दै निवेदन दर्ता गरिएको थियो। अनुसन्धानका क्रममा उक्त स्कुटर सुशान्त बुढा मगरले दिएको खुलेपछि प्रहरीले उनलाई मनमैजुबाट नियन्त्रणमा लिएको हो।
थप अनुसन्धान गर्दा उनीहरूले अर्को चोरीको स्कुटर लुकाएर राखेको पत्ता लागेपछि खोजी गर्दा, तार्केश्वरकै घलेपुलमा नम्बर प्लेट नभएको अर्को स्कुटर फेला परेको थियो। यसको वास्तविक नम्बर बा ९२ प ९३९५ रहेको खुलेको छ, जुन टोखाबाट हराएको भन्दै रामेछापका रिकी थापा मगरले निवेदन दिएका थिए।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।
प्रतिक्रिया