खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र पर्ने ऐतिहासिक, धार्मिक, एवं पुरातात्त्विक महत्वका क्षेत्रहरू समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।
नगरपालिकाको १५ औँ नगर सभाले लोगो छनोटसँगै स्वीकृत गरेपछि पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले लोगो सार्वजनिक गर्नुभएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो ।
पूर्व अर्थमन्त्री डा महतसँगै सांसद सरस्वती बजिमय र हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख राईलगायतले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर लोगो सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाको लोगो निर्माणका लागि नगरपालिका कार्यपालिकाको कार्यालयले यसअघि सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
नगरपालिकाले प्रकाशन गरेको उक्त सूचनाका आधारमा सात वटा लोगो कार्यालयमा आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा सङ्कलन भएका सात लोगोमध्ये हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका सन्तोष दाहालले बनाउनुभएको लोगो उत्कृष्टमा छनोट भएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।
नगरपालिकाले औपचारिकरुपमा सार्वजनिक गरेको लोगो अब नगरपालिकाका सबै जनप्रतिनिधिले अनिवार्यरुपमा लगाउनेछन् । हलेसी तुवाचुङ –७ महादेवस्थानमा रहेको हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्र त्रिधार्मिकस्थल हलेसी लगायत ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेका क्षेत्र समेटेर लोगो निर्माण भएको नगरप्रमुख राईले बताउनुभयो ।
हलेसी तुवाचुङ नगरपालिका हिमालको काखमा रहेकाले लोगोमा हिमाल पनि समेटिएको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसअघि जिल्ला समन्वय समिति खोटाङले आफ्नो जिल्लाको प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याएको थियो । जिल्लाका अन्य स्थानीय तहले अहिलेसम्म आफ्नो छुट्टै लोगो प्रयोग गरेका छैनन् ।
प्रतिक्रिया