देशभर स्ववियू चुनावको रौनक : राजनीतिक दलहरूको परीक्षा

शनिबार, ०२ चैत्र २०८१
काठमाडौँ ।  राजनीतिको नर्सरी मानिने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को निर्वाचनका कारण देशभरका क्याम्पसहरूमा चुनावी रौनक छाएको छ । यही चैत ५ गते हुने निर्वाचनका लागि त्रिवि अन्तर्गत देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियू निर्वाचन हुँदैछ । विशेष गरी राजनीति दलहरूले स्ववियू निर्वाचनलाई आफ्नो शक्ति प्रदर्शनका रूपमा हेरेका छन् । चुनावको मिति नजिकिएसँगै क्याम्पस परिसरमा निर्वाचन केन्द्रित गतिविधिहरू भइरहेका छन् । उम्मेदवारहरूले चुनावी प्रचारलाई तीव्र बनाएका छन् । मुख्य गरी काठमाडौँको प्रदर्शनी मार्ग, बागबजार, पुतली सडक, घण्टाघर क्षेत्रमा विद्यार्थीहरूको चहलपहल बाक्लो छ । यद्यपि, कतिपय ठुला मानिएका क्याम्पसमा भने विद्यार्थी, निर्वाचन समिति, क्याम्पस प्रशासनबिच मनमुटाब हुँदा निर्वाचन स्थगित समेत भएको छ । तथापि, निर्वाचन निश्चित भएका काठमाडौँका क्याम्पसमा चुनावी रौनक तीव्र देखिन्छ । उम्मेदवार आफ्ना एजेन्डाहरू बोकेर विद्यार्थी माझ पुगिरहेका छन् । उपत्यका र उपत्यका बाहिरका केही क्याम्पसमा विवादका कारण तालाबन्दी र क्याम्पसमा तोडफोडले काठमाडौँका केही ठुला क्याम्पसमा चुनावी माहौल तातेको छ । काठमाडौँको प्रदर्शनी मार्गमा रहेको रत्न राज्यलक्ष्मी(आरआर) क्याम्पसमा निर्वाचन प्रक्रिया सहज रूपमा भइरहेको निर्वाचन समितिका संयोजक प्राध्यापक महेश भट्टराईले जानकारी दिए । आरआर क्याम्पसमा प्रत्यक्षमा ८ ओटा र समानुपातिकमा १० ओटा सङ्गठन दर्ता भएको भन्दै उनले स्ववियु निर्देशिका २०८१ अनुसार प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए । उनले आरआरमा चुनाव नहुने भन्ने भाष्य गलत भएको भन्दै चुनावका लागि विद्यार्थी र विद्यार्थी सङ्गठनहरू उत्साही रहेको प्रतिक्रिया दिए । ‘यहाँ ५१४६ जना मतदाताहरू छन् । यही आधारमा सात वटा बुथ निर्माण गर्दैछौ । त्यसका लागि सर्वदलीय, सर्वपक्षीय बैठक बसी छलफल गरिरहेका छौ । सबै विद्यार्थी र सङ्गठनहरू बिच सहमति गरेका छौ । मतपत्र गणनाका आधारमा मतपत्र कति खस्छ, धेरै खसे ढिला होला थोरै खसे छिटै मत परिणाम ल्याउँछौ,’उनले भने । उनले सुरक्षा निकायहरूसँग पर्याप्तता समन्वय गरेको जानकारी दिँदै भने, ‘हामीले यहाँको जिल्ला प्रशासन, प्रहरी, अनामनगर वृत्त, महानगरीय, सशस्त्रमा पनि निवेदन दिएका छौ । सुरक्षा व्यवस्थाको लागि निरन्तर सम्पर्कमा छौ । सुरक्षाकर्मीले सुरक्षाको कुनै कसुर छोड्नुभएको छैन ।’ यस्तै, त्रिचन्द्र क्याम्पसका नेपाल स्वाभिमानी सङ्घका स्ववियु सभापतिका उम्मेदवार विवेक वाँनियाले त्रिचन्द्र उजाड बन्दै गएको र विद्यार्थीहरूको सङ्ख्या घट्दै गएको अवस्थामा यसको विकासको लागि आफूले उम्मेदवारी दिएको सुनाए । उनले भने, ‘त्रिचन्द्रमा धेरै विषयहरू पढाइ हुन्छन् । जस्तै विसिए, विएस् सिआइटी जस्ता विषयहरू पढाइ हुन्छ । आइटी सम्बन्धी कोर्सहरू ल्याउन सक्यो भने धेरै राम्रो हुन्छ । यहाँ पार्ट टाइमका शिक्षकहरू छन् उनीहरूलाई करार गराउने वा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसका साथै यहाँ त्रैमासिक परीक्षा हुँदैन । परीक्षा नहुँदा विद्यार्थीहरूलाई आफ्नो मुल्याकंन गर्न अप्ठ्यारो भएको छ । आफू विजयी भए त्यसका लागि वातावरण बनाउँछु ।’ यस्तै अर्का सभापतिका स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले पनि निर्वाचनको भव्य तयारी गरिरहेको बताए । उनले घण्टाघर र त्रिचन्द्र क्याम्पस जोड्ने पुल निर्माणको काम गर्ने योजना रहेको बताए  । उनले भने, ‘त्रिचन्द्रमा क्यान्टिन, लाइवे्ररी, अनुसन्धान कक्षको व्यवस्थापन जरुरी छ । १०७ वर्षभन्दा पुरानो क्याम्पस क्याम्पस र घण्टाघरको सम्बन्ध हामीलाई थाहा छ । त्यसको लागि हामीले महानगरसँग प्रस्ताव भइसकेको छ । त्यो प्रस्तावलाई पारित गर्नेछौँ ।’ यस्तै उनले त्रिचन्द्र क्याम्पस भग्नावशेष अवस्थामा पुगेको भन्दै राजनीतिक अस्थिरताले स्ववियु नहुँदा विद्यार्थीको मुद्दाहरू ओझेल परेको पनि बताए । यसैगरी, संयुक्त अनेरास्ववियु प्यानलका सचिव सुमनकुमार पुलामीले विद्यार्थीहरूको मुद्दाहरूसँगै भूकम्पबाट जीर्ण बनेको क्याम्पस भवन निर्माणका लागि पहल गर्ने, बैङ्क काउन्टरको लागि काम गर्ने बताए । लामो समयपछि हुन लागेको निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नका लागि त्रिबिले मतदान यही चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ । हुन त स्ववियू निर्वाचन विद्यार्थी हकहितको विषयमा केन्द्रित हुनुपर्ने भए पनि अधिकांश क्याम्पसहरूका आफ्नो माउ पार्टीको उपस्थितिलाई प्रमुख ठानेका छन् ।  दलगत स्वार्थको अखडा बन्ने हो कि भन्ने चिन्ता थपिएको छ । मुख्य राजनीतिक दलहरूले आफ्नो प्रभाव बलियो बनाउन विद्यार्थी सङ्गठनहरूलाई प्रयोग गरिरहेको कतिपय विद्यार्थीहरूको बुझाइ छ । निर्वाचन हुने अधिकांश क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले सत्ता र प्रतिपक्षमा रहेका पार्टीका भातृ सङ्गठनहरूले अलग अलग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएकाले राजनीतिक शक्ति मापनको केन्द्रका रूपमा क्याम्पसहरूलाई प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार