थारु संस्कृतिले झल्कियो उन्नति कल्चर भिलेज

विहीबार, ०७ चैत्र २०८१
नवलपरासी : नेपालका प्रतिष्ठित उद्योगपति एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीको पहिरन आज अरू दिनभन्दा विशेष थियो । यति बेला आफ्नो निर्वाचन क्षेत्र पश्चिम नवलपरासीमा रहेका उनी थारु भेषभुषामा सुसज्जित थिए । बर्दघाट नगरपालिका वडा न ७ बेलहानी स्थित उन्नति कल्चरल भिलेजमा सांसद चौधरीसँगै उनकी धर्मपत्नी पनि थारु पहिरनमै थिइन् । दुवै जनाको पहिरनले थारु संस्कृतिलाई झल्काइरहेको थियो । पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन सांसद चौधरीले थारु संस्कृतिलाई प्रोत्साहन गर्ने र यसको प्रवद्र्धनका लागि विशेष थारु सांस्कृतिक कार्यक्रमको आयोजना गरेका हुन् । थारु संस्कृति, थारु खाना, हाम्रो पहिचान, थारु समुदायलाई उद्यमशील बनाउने हाम्रो अभियान भन्ने नाराका साथ उन्नति कल्चरल भिजेलमा थारु सांस्कृतिक प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो । उद्योगपति चौधरीले उन्नति कल्चरल भिलेजमार्फत् थारु कला संस्कृतिलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने कार्य गर्दै आएका छन् । कार्यक्रममा सांस्कृतिक प्रदर्शनीका साथै थारु समुदायको पहिचान झल्काउने थारु घर, विविध स्टलहरू र उनीहरूले तयार गरेका सामग्रीहरूको स्टलहरू राखिएको थियो । साथै थारु खानाका परिकारहरू पनि राखिएको थियो । संघीय सांसद चौधरीले नेपालको चौतर्फी विकासमा थारु समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सरकारले थारु संस्कृतिको प्रोत्साहन र प्रवद्र्धनका लागि ध्यान दिनुपर्ने बताए । उनले भने, ‘नेपाल बहु सांस्कृतिक एवं बहु पहिचान भएको मुलुक हो । विविध जातजातिका आफ्नै पहिचान र सभ्यता छन् । यसमा पनि थारुहरूको आफ्नै विशिष्ट पहिचान छ । म सरकारलाई आग्रह गर्दछु कि थारु समुदायको सभ्यता र संस्कृतिलाई जगेर्ना गर्न विशेष कार्यक्रम नै अगाडि सार्न जरुरी छ ।’ उन्नति कल्चरल भिलेजको मुख्य आयोजना तथा नेपाल थारु संघको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार