काठमाडौं : झापाको भद्रपुरमा शुक्रबार पक्राउ परेको भनिएका दुर्गा प्रसाईं नेपालबाट सडकमार्ग हुँदै करिब १२ घण्टा टाढाको दुरीमा थिए। त्यही दुरी पार गरेर प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा सीमावर्ती क्षेत्रमा ल्याउन नेपाल प्रहरी सफल भएको थियो।
भारतीय प्रहरीले बुधबारबाटै उनको ‘रेकी’ सुरु गरेको थियो। ‘स्थानीय प्रहरीले रेकी सुरु गरिसकेको थियो तर प्राविधिक कारणले ढिलो भयो।
बिहीबार बिहानै उनलाई नियन्त्रणमा लिन गरिएको प्रयास लम्बिन पुगेको थियो तर दिउँसोतिर उनी भने नियन्त्रणमा आइसकेका थिए,’ अनुसन्धान खटिएका एक अधिकारीले भने।
व्यवस्थाविरोधी आन्दोलनमा लागेर हिंसा मच्चाएका प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई दुई साता कुर्नुपरेको थियो। नेपालमै रहेको भन्दै राज्यलाई चुनौती दिइरहेका उनी अन्नतः भारतमा भेटिएका हुन्।
नेपाल प्रहरीले भने शुक्रबार बिहान भद्रपुर ल्याएपछि मात्रै प्रसाईं पक्राउ परेको जानकारी दिएको थियो। खासगरी नेपाल–भारतबिच अपराधीहरू गुपचुपमै लेनदेन गरिन्छ।
प्रसाईंका हकमा पनि त्यसै गरिएको थियो। तर बिहीबार साँझ हल्लीखल्ली भएपछि प्रहरीले ढाकछोपको प्रयास गरेको थियो।
एक साताभन्दा लामो समय बिताएको टोलीले भारतको आसामस्थित तामलपुर बास्कामा रहेको एक घरबाट प्रसाईंलाई नियन्त्रणमा लिएर नेपालबाटै गएको प्रदेश नं. १–०१–००२ च ३७९३ नम्बरको स्कोर्पियोमा राखेर ल्याइएको थियो।
उक्त घर नेपालीभाषी अभिचन्द्र पाठकको हो। उनी एक हिन्दुवादी नेता भएको बताइएको छ। ‘भारतीय र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेका दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले सीमा क्षेत्रमा छाडेपछि नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो,’ स्रोतले भन्यो।
नेपाल प्रहरीको विशेष ब्युरो र उपत्यका अपराध महाशाखाको टोलीले मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा प्रसाईं बसेको घर पहिचान गरिसकेको थियो।
सुरुमा भारतको उत्तर प्रदेशस्थित प्रयागराज पुगेको विशेष ब्युरोको टोली प्रर्सांलाई नभेटेपछि आसाम पुगेको थियो। तर प्रहरीका अनुसार उनी दिल्ली, लखनउ हुँदै राजस्थान पनि पुगेका थिए।
लखनउमा योगी आदित्यनाथलाई भेट्न खोज्दा सम्भव नभएपछि सुरक्षित स्थान खोज्दै प्रसाईं आसाम पुगेका हुन्। भुटानी सीमानजिकको बास्कामा उनलाई झापातिरकै एक आफन्तले बस्न उक्त घर खोजिदिएका थिए।
उनी सुरुदेखि नै त्यही घरमा बस्दै आएका थिए। त्यहीँबाट पक्राउ गरेपछि उनको सचिवालयले बिहीबार आसाम प्रहरीसमक्ष आत्ममसर्पण गरेको जनाएको थियो।
नेपाल र भारतबिच एकअर्काको देशमा पक्राउ परेका आरोपितलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ। अर्को देशमा पक्राउ परे त्यहाँको प्रहरीले सीमा क्षेत्रमा ल्याएर छाड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्याउने गरिन्छ। यो क्रम गुपचुपमै हुने गरेको छ।
नेपाल र भारतका सुरक्षा अधिकारीहरूले यो विषयमा औपचारिक धारणा राख्ने गरेका छैनन्।
दुर्गा प्रसाईंका हकमा पनि दुवै देशका अधिकारीहरूले यही विधि अपनाउन खोजेका थिए। तर नेपालतर्फ सूचना चुहिएपछि प्रहरी अप्ठेरोमा परेको थियो। त्यस्तो अवस्थामा भारतीय प्रहरीले जिम्मा लगाउन आनाकानी गर्ने सम्भावना देखेपछि प्रहरीले विज्ञप्ति जारी गरेर प्रसाईं पक्राउ नपरेको बताएको थियो।
काठमाडौंको तीनकुनेमा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका प्रसाईं चैत १५ देखि फरार थिए। उनले नेतृत्व गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’ले चैत १५ मा काठमाडौंको तीनकुनेमा प्रदर्शन आयोजना गर्दा हिंसा भड्किएको थियो।
उक्त प्रदर्शन हिंसात्मक बनेसँगै तीनकुनेबाट बिएबी–४२०८ नम्बरको स्कोर्पियो चढेर उनी सीमापार भएका थिए।
प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको स्कोर्पियो यसअघि नै झापाबाट काठमाडौं ल्याइएको थियो। स्कोर्पियो चालक ईश्वर विकले प्रसाईंलाई झापाको बिर्तामोड स्थित बिएन्डसी मेडिकल कलेजमा लगेर छाडेको बयान दिएका थिए।
भारत पुगेपछि प्रसाईं चुप बसेनन्। भिडियो बनाएर सार्वजनिक गर्ने र राज्यलाई चुनौती दिने काम उनले गरिरहे। त्यसकारण पनि नेपाल प्रहरीलाई उनको लोकेसन ट्र्याक गर्न सहज भएको थियो।
पहिलो र दोस्रो भिडियो बनाएको मन्दिरमा पुगेर नेपाली सुरक्षाकर्मीले लोकेसन ट्र्याक गरेका थिए। त्यसपछि भारतीय प्रहरीसमक्ष प्रसाईंलाई पक्रन अनुरोध गरिएको थियो।
आसाममा उनी बसेको घरको तस्बिरसहितको ‘लोकेसन’ दिएपछि भारतीय प्रहरीले नेपाली सुरक्षाकर्मीलाई सहयोग गरेको थियो।
बिहीबार साँझ आसाममा पक्राउ परेपछि प्रसाईं निकटहरूले ‘समर्पण’ गरेको दाबी गरे। तर उनले आत्मसमर्पण गरेको भन्ने सत्य नभएको प्रहरी अधिकारीहरू बताउँछन्।
प्रसाईंको खोजीमा विशेष ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली निरन्तर लागेको थियो। हाल विशेष ब्युरोको कमान्ड डिआइजी सिद्धविक्रम शाहले गरेका छन्।
उपत्यका अपराध महाशाखामा एसएसपी रमेश बस्नेत छन्। प्रसाईं पक्राउमा उनीहरू दुवैको पहलकदमी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तर प्रसाईं पक्षधरहरूले सुरक्षाका लागि आफैं प्रहरीमा गएको दाबी गर्दै आएका छन्। प्रहरीले यसलाई अस्वीकार गर्दै आएको छ।
अनुसन्धान गर्न १२ दिनको समय
चैत १५ गतेको हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रहरीलाई १२ दिनको समय दिएको छ। भद्रपुरबाट ल्याएपछि काठमाडौं प्रहरी परिसरले अदालतसँग अनुसन्धानका लागि समय मागेको थियो।
जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले राज्यविरुद्धको कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको थियो। उनीसँगै रहेका अंगरक्षक दीपक खड्काको अनुसन्धानका लागि पनि १२ दिनको समय दिइएको छ।
खड्कालाई पनि प्रहरीले भारतबाटै ल्याएको थियो। प्रसाईंले नै आन्दोलनको कमान्डर बनेर सुरक्षा निकायलाई नै गाडीले किच्ने र मिच्ने गरी भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन उच्छृंखल बनेको बनेको थियो। प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित दुई जनाको मृत्यु भएको थियो ।
आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया