विराटनगर ; कोशी प्रदेशमा ११ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) फेरिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले गरेको पछिल्लो सरुवाबाट डीएसपीहरु परिवर्तन भएका हुन् ।
प्रहरी प्रधान कार्यालयले बुधबार नेपाल प्रहरीका १ सय २१ जना डीएसपीको सरुवा निकालेको थियो । डीएसपीको सरुवा हुँदा विभिन्न जिल्ला एवं युनिटका इन्चार्जसमेत परिवर्तन भएका छन् ।
डीएसपी अनमोल खड्काको वडा प्रहरी कार्यालय विराटनगरमा काज भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान सहायता शाखा विराटनगरमा सरुवा भएका खड्काको वडा प्रहरी प्रमुखका रूपमा काज सरुवामा भएको हो । यसअघि वडा प्रहरी कार्यालयको प्रमुख बुद्ध श्रेष्ठ थिए ।
डीएसपी ओमप्रकाश खनालको जिल्ला प्रहरी कार्यालय धनकुटामा दरबन्दी कायम भएको छ । विनोदकुमार सुनुवारको सरुवा भएपछि खनाललाई त्यहाँ पठाइएको हो । डीएसपी कोपिला चुँडालको जिल्ला प्रहरी कार्यालय मोरङ सरुवा भएको छ । मदन केसीको सरुवा भएपछि उनका ठाउँमा चुँडाल आउने भएकी हुन् ।
चिरञ्जीवी दाहालको नेपाल प्रहरी प्रदेश कार्यालय मानव स्रोत व्यवस्थापन शाखा धरान सुनसरीमा दरबन्दी तोकिएको छ । मिङ्मा शेर्पाको सरुवा गरेर उनको ठाउँमा दाहाललाई पठाइएको हो । कोशी प्रदेश प्रहरी गण विराटनगरमा बुद्ध श्रेष्ठका ठाउँमा प्रवीण कार्कीको दरबन्दी कायम भएको छ । डीएसपी विजय श्रेष्ठको इलाका प्रहरी कार्यालय अनारमनी झापामा सरुवा भएको छ । प्रकाश विष्टका ठाउँमा श्रेष्ठलाई खटाइएको हो ।
नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीमा वेदप्रसाद गौतमका ठाउँमा बुद्ध श्रेष्ठको सरुवा भएको छ । यसअघि कोशी प्रदेश प्रहरी गण विराटनगर दरबन्दी भएका श्रेष्ठ वडा प्रहरी कार्यालय विराटनगरको प्रमुख थिए । त्यस्तै, मोरङबाट मदन केसीको जिल्ला प्रहरी कार्यालय ओखलढुंगा सरुवा भएको छ । डीएसपी कृष्ण खड्काको ठाउँमा उनलाई पठाइएको हो ।
डीएसपी मनोजित कुँवरको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु सरुवा भएको छ । द्वावारिकाप्रसाद घिमिरेलाई कुँवरले पालो दिने भएका हुन् । वेदप्रसाद गौतमको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा दरबन्दी कायम भएको छ । यसअघि रवि रावल ताप्लेजुङ प्रहरी प्रमुख थिए ।
सन्तोष श्रेष्ठको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सरुवा भएको छ । रामेश्वर त्वातीका ठाउँमा श्रेष्ठलाई पठाइएको हो । डीएसपी सुनील दाहालको कोशी प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना योजना शाखा विराटनगरमा सरुवा भएको छ । सुवास भट्टराईको सरुवा भएपछि दाहाललाई उनका ठाउँमा पठाइएको हो ।
प्रतिक्रिया