इटहरी : इटहरी उपमहानगरपालिकामा नयाँ नेतृत्व आएको ३ वर्ष पुरा भएको छ । नेपाली काँग्रेसका तर्फबाट इटहरी उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका हेमकर्ण पौडेलका लागि तीन वर्षको कार्यकाल सहज र शान्त रहन सकेन।
मेयर पौडेलले कार्यकालको सुरुवातदेखि नै विभिन्न विवाद र असहज परिस्थितिहरूको सामना गर्नुपर्यो। कहिले आफ्नै वडाध्यक्ष र उपप्रमुखसँगको आन्तरिक मतभेदले घेराबन्दी अवस्था सिर्जना गर्यो भने, कहिले विकास निर्माणमा ठेकेदार र उपभोक्ताहरूसँगको भुक्तानीको विषयमा आलोचना खेप्नुपर्यो।
विकास योजनाहरूको कार्यान्वयनमा ढिलाइ, पारदर्शिताको प्रश्न, र समयमै भुक्तानी नहुँदा आलोचनाको केन्द्रमा समेत रहेका मेयर पौडेल सामाजिक सञ्जालमा बढी सक्रिय देखिएको आरोप पनि खेपिरहेका छन्। यही कारणले गर्दा विभिन्न सार्वजनिक कार्यक्रममा समेत नागरिक तहबाट विरोधका स्वरहरू उठ्न थालेका छन्।
पौडेलले चुनावी घोषणापत्रमा स्मार्ट सिटीको अवधारणा, यातायात व्यवस्था सुधार, फोहोर मैला व्यवस्थापन, शिक्षा र स्वास्थ्यमा सुधार तथा युवा रोजगारीको अवसर सिर्जना लगायतका महत्त्वाकाङ्क्षी योजना अघि सारेका थिए।
यस सामग्रीमा हामीले इटहरी उपमहानगरको नेतृत्व मेयर हेमकर्ण पौडेलले सम्हालेदेखि भौतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, सहर सौन्दर्यीकरण, सवारीसाधन खरिदका साथै चर्चा र विवाद बारेमा समीक्षा गरेका छौँ ।
भौतिक क्षेत्रमा भएका काम
इटहरीको मेयरमा पौडेल निर्वाचित भएयता इटहरीको भौतिक विकासले गति लिएको छ । उपमहानगरपालिकामा अहिले नागरिक साहयता कक्षको स्थापना गरेर सहज ढङ्गबाट सेवा दिन नागरिक सहायता कक्ष तयार गरी सञ्चालन गर्दा नागरिकको पहुँच र सहजता बढेको अनुभव हुने गर्दछ ।
कक्षमा सेवाग्राहीको निवेदन लेखिदिने, नबुझेको कुरा बुझाइदिने, अशक्त भए फाइल सम्बन्धित शाखामा पु¥याएर काम गरिदिने काम कर्मचारीले गरिदिन्छन् । आएका निवेदनहरूको दर्ता चलानी गर्ने साथै सेवाग्राहीहरूले निःशुल्क फोटोकपी गर्न सक्ने, चिया कफीका साथै स्तनपन कक्षको पनि छुट्टै व्यवस्था गरिएको छ ।
यस्तै अघिल्लो सरकारको पालामा सुरु भएको तर काम भने सुस्त गतिमा भइरहेको इटहरी उपमहानगर परिसरमा रहेको ६ तले प्रशासनिक भवनको निर्माण सम्पन्न भएर शाखाहरूले सेवा प्रदान गर्न थालेका छन् ।
पौडेल मेयरमा निर्वाचित भएको केही समयमा नै शिलान्यास गरेका २ तले विभिन्न सुविधाहरू भएको भेटेरिनरीको भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । इटहरीमा सुविधा सम्पन्न भेटेरेनरिको भवन मार्फत अहिले सेवा प्रदान भइरहेको इटहरीमा पशु चिकित्सक दुर्गा श्रेष्ठले बताए ।
इटहरी अस्पतालको जीर्ण भवनको स्तरोन्नति गर्दै रङ्गरोगन समेत गरेर व्यवस्थित रूपमा सेवा प्रदान सुरु भएको छ । इटहरी ९ मा भएको जीर्ण बसपार्कको स्तर उन्नति गर्दै मेयर हेमकर्ण पौडेलले नै शिलान्यास गरेको सुविधा सम्पन्न ३ तले बसपार्क निर्माण सम्पन्न भएको छ भने अब केही समयमा नै सो बसपार्क सञ्चालनमा आउने उपमहानगरको दाबी रहेको छ ।
सार्वजनिक शौचलालको अभाव खेपिरहेको कारण इटहरी मुख्य चौक र पूर्व बस स्टेन्डमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । अर्कोतर्फ इटहरी ५ स्थित काव्य वाटिकाको जग्गामा सभा हल निर्माण धमाधम भइरहेको छ । एकै पटक ५ सय मानिस अट्ने क्षमता भएको आधुनिक सभा हल निर्माण तीव्र गतिमा भइरहेको हो । १७ हजार ८०३ स्क्वायर फिट क्षेत्रफलमा ३ तलाको आधुनिक शैलीको सभा हल निर्माण धमाधम भइरहेको इन्जिनियर जीवन घिमिरे जानकारी दिए ।
काम नगर्ने ठेकेदारलाई कालो सूचिमा राख्दै, अधुरा कार्य अघि बढाउँदै
काम नगर्ने निर्माण कम्पनी विरुद्ध एक वेला इटहरी उपमहानगर एक्सनमा उत्रियो । सडक तथा पूर्वाधार निर्माणका योजनाहरूको काम बिचमै अलपत्र पार्ने निर्माण कम्पनीहरुलाईं कारबाही गर्दै कालोसूचीमा राख्न इटहरी उपमहानगरले स्पष्टीकरण सोध्यो ।
आदिवासी जनजाति रङ्गशाला, इटहरी अस्पताल, स्मार्ट शौचालय लगायतका अन्य १४ योजना अलपत्र पार्ने कम्पनीलाई उपमहानगरले स्पष्टीकरण सोध्यो । पटक पटक सम्पर्क गर्दा तथा सार्वजनिक सूचना जारी गर्दा पनि सम्पर्कमा नआए पछि उपमहानगरले कालो सूचिमा राख्ने प्रक्रिया अगाडि बढाएको थियो ।
कालोसूचीमा राख्ने भएपछि धेरै कम्पनीहरू उपमहानगरको सम्पर्कमा आएर काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
अहिले रोकिएका धेरै काम सुरु भएर धमाधम कार्य अघि बढिसकेको छ भने सम्पर्कमा नआएका ठेकेदारलाई इटहरीमा प्रमुख स्तरीय बैठक बसेर ठेक्का रद्द गर्दै कारबाही गरिने मेयर पौडेलले बताएका छन् ।
शिक्षा सुधारका यी हुन् आधार
शिक्षा राम्रो भएमा इटहरीको भविष्य राम्रो हुने मेयर पौडेलले बताउँदै आएका छन् ।जस अनुसार इटहरीमा रहेका निजी विद्यालयहरूले सेवा सुविधा कम भए पनि मनोमानी रूपमा शुल्क उठाउँदै आएका थिए तर मेयर पौडेलको नेतृत्वमा विद्यालयमा रहेको सेवा सुविधाको आधारमा श्रेणी विभाजन गर्ने नियम रहेको छ ।
अहिले इटहरीमा सञ्चालित निजी विद्यालयहरूले श्रेणीगत रूपमा शुल्क लिन पाइने नियम रहेको छ । विद्यालयको भौतिक संरचना, यातायात, खानेपानी लगायतका सेवा सुविधाको आधारमा शुल्क लिन पाउने व्यवस्था रहेको छ ।
इटहरीमा सञ्चालित निजी विद्यालयहरूलाई (क), (ख), (ग), (घ) र श्रेणी विहीन गरेर पाँच वटा श्रेणीमा विभाजन गरिएको छ । क श्रेणीमा १३ वटा, ख श्रेणीमा ४८ वटा, ग श्रेणीमा २१ वटा, घ श्रेणीमा २ वटा र श्रेणी विहीनमा ४४ वटा विद्यालय रहेको उपमहानगरको तथ्याङ्कमा उल्लेख छ । यसरी उल्लेखित श्रेणीमध्ये ‘क’ श्रेणीको विद्यालयले मासिक रूपमा पूर्व प्राथमिक कक्षा (नर्सरी) को अधिकतम दुई हजार पाँच सय रुपैयाँ लिन पाउने व्यवस्था छ भने कक्षा १० को अधिकतम पाँच हजार रुपैयाँ लिन पाउने व्यवस्था छ ।
यसै गरी ‘ख’ श्रेणीको विद्यालयले मासिक रूपमा पूर्व प्राथमिक कक्षा (नर्सरी) को अधिकतम एक हजार आठ सय ५० रुपैयाँ लिन पाइने र कक्षा १० को अधिकतम तीन हजार सात सय ५० रुपैयाँ लिन पाउने तोकिएको छ । यस्तै ‘ग’ श्रेणीको विद्यालयले मासिक रूपमा पूर्व प्राथमिक कक्षा (नर्सरी) को अधिकतम एक हजार दुई सय ५० र कक्षा १० को अधिकतम दुई हजार पाँच सय लिन पाउने उपमहानगरले जनाएको छ ।
यसै गरी ‘घ’ श्रेणी र श्रेणीविहीन विद्यालयहरूले अभिवाकहरूको भेलामा छलफल गरेर दुई तिहाइको सहमतिबाट पास भएको शुल्क लिन पाउने व्यवस्था रहेको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख द्रोण दाहालले बताए ।
मेयर पौडेलले इटहरीका सबै सामुदायिक विद्यालयको पोसाकमा समेत एकरुपता ल्याएका छन् । विद्यालयमा टाई हटाएर भादगाउँले टोपी साथै निलो रगंको सर्ट र निलै रगंको पेन्ट इटहरीका सामुदायिक विद्यालयको पोसाक रहेका छन् ।
यस्तै इटहरीका विद्यालयमा खाजा कार्यक्रम सञ्चालन भइरहेका छन् । एक वर्ष सम्म ठेक्का मार्फत नै विभिन्न मेन्यु सहित इटहरी उपमहानगरले विद्यार्थीहरूलाई खाजा खुवाएको थियो तर विविध कारण अहिले भने स्कुल मार्फत नै खाजा खुवाउँदै आएको छ । सङ्घीय सरकारको १५ रुपैयाँ बजेटमा इटहरी उपमहानगरले १५ रुपैयाँ थप गरी विद्यालयमा नै खाजा खुवाउँदै आएको छ ।
निजी विद्यालयहरूले अहिले १० प्रतिशत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको उपमहानगरपालिकाको दाबी रहेको छ । यस नियमका कारण हजारौँ विद्यार्थीहरूले अहिले छात्रवृत्ति प्राप्त गरेर पढ्दै आएका छन् ।
इटहरी नगर अस्पताललाई व्यवस्थित गरिँदै
मेयरमा निर्वाचित भएपछि हेमकर्ण पौडेलले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरेको परिणाम समेत देखिन थालेको छ । इटहरी अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा, १५ बेड मार्फत बिरामीको उपचार सुरु भएको छ । अस्पतालमा सेवा विस्तार भएका छन् । एमबिबिएस डाक्टरहरू नियमित रूपमा अस्पतालमा बस्न थालेका छन् ।
अस्पतालमा अहिले दैनिक रूपमा हाड जोर्नी, महिला तथा स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञ डाक्टरले बिरामीको उपचार गर्ने इटहरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मनिस कुमार शर्माले जानकारी दिए । अहिले अस्पतालमा नियमित रूपमा रगत जाँच, एक्स–रे, भिडियो एक्स–रे, ई सिजी लगायतका स्वास्थ्य परीक्षण गर्न सकिने सुविधा छ ।
पहिला इटहरी अस्पतालमा डाक्टर नै छैनन् भनेर धरान र विराटनगर जाने गरेका स्थानीय अहिले पहिला इटहरी अस्पतालमा गएर उपचार गराउँछन् अस्पतालले रेफर दिएपछि मात्र अहिले इटहरीबाट अन्यत्र विराटनगर र धरान जाने गरेका छन् । यो सँगै इटहरी अस्पतालमा भिडभाड हुन थालेपछि व्यवस्थापनका लागि टोकन सिस्टम लागु गरिएको छ ।
इटहरी अस्पतालको नयाँ भवन निर्माण कार्य अहिले अन्तिम चरणमा छ । अस्पतालको भवन निर्माण बिचैमा छाडेर अलपत्र रहेको समयमा मेयर पौडेलले ठेकेदारलाई सम्पर्कमा ल्याएर सुरु भएको अस्पताल निर्माण कार्य लगभग अन्तिम चरणमा रहेको छ । जसको निर्माणपछि थप सहजता हुने अपेक्षा स्थानीयले गरेका छन् ।
यस्तै इटहरी उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन भइरहेको छ । सरकारले प्राथमिकतामा राखेको विद्यालयमा नर्स कार्यक्रम अन्तर्गत इटहरीका ३६ वटा सामुदायिक विद्यालयमा सेवा सञ्चालन भएको हो । विद्यालयमा प्राथमिक र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न खटाउने गरी इटहरी उपमहानगरपालिकाले नर्सिङ सेवा कार्यान्वयनमा ल्याएको मेयर पौडेलले जनाएका छन् ।
सामुदायिक विद्यालय तथा क्याम्पसमा नर्सहरूले स्वास्थ्य सम्बन्धी प्रवद्र्धनात्मक सेवा, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्दै आएका छन् । सङ्घीय सरकारको आर्थिक सहयोग र इटहरी उपमहानगरपालिकाको साझेदारीमा विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन भएपछि इटहरीका सामुदायिक विद्यालयमा थप आकर्षण बढाएको मेयर पौडेलले बताए ।
विद्यार्थीको समग्र स्वास्थ्य, सरसफाइ र पोषणमा प्रवद्र्धन गर्दै मानसिक स्वास्थ्य र किशोर, किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अवस्थामा सुधार ल्याउन विद्यालय नर्सिङ सेवा कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको इटहरीका स्वास्थ्यकर्मीहरू दाबी गर्दछन् ।
यस्तै इटहरीका प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीहरूबाट समेत स्तरीय सेवा प्रदान हुँदै आएको छ । इटहरीका विभिन्न स्थानमा खुल्ला व्यायामशाला राखिएको छ । जस अन्तरगत वडा नं १ को कञ्चन चोक, वडा २ को शान्तिनगर सामुदायिक वन नजिक, वडा ५ को ज्योति मावि नजिक, इटहरी ८ को फूलबारी टोल, वडा १२ को वडा कार्यालय भन्दा पूर्व पट्टी नहरसँगै रहेको जग्गामा व्यायामशाला राखिएको छ ।
यसै गरी वडा १४ को गैसारमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा, वडा नं १५ को एकम्बा विद्यालयको प्राङ्गणमा, वडा नं १८ को इकाहा मन्दिर पूर्व पट्टी र वडा १९ को जब्दी स्कुल छेउमा र तामाङ टोलको खेलमैदान नजिकमा खुल्ला व्यायामशाला स्थापना भएको उपमहानगरका मेकानिकल इन्जिनियर रुपेश आचार्यले बताए ।
यसै गरी वडा नं ९ मा समेत व्यायामशाला राख्ने काम अगाडि बढाएको उनले बताए । खुल्ला व्यायामशालाहरूमा हात, खुट्टा, कम्मर, घाँटी, ढाड, पेट लगायत शरीरका विभिन्न अङ्गहरूको व्यायाम हुने आचार्यको भनाइ छ।उनका अनुसार ‘पुस अप बार,’ ‘सिङ्गल स्काईवाकर,’ ‘डबल एयर वाल्कर,’ ‘डबल सिट अप बोर्ड,’ ‘हर्ष राइडर’ लगायत १६ प्रकारका उपकरण रहेको उनले जानकारी दिए ।
सवारी साधन खरिद, आवश्यकता की मोह ?
मेयर पौडेल निर्वाचित भएयता इटहरीमा एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारी साधनहरूको खरिद भएका छन् । मेयर पौडेलले कार्यभार सम्हाले लगतै २ वटा एम्बुलेन्स र शववाहन खरिद गरेर इटहरी अस्पताललाई हस्तान्तरण गरियो ।
अहिले ‘घर देखी घाटसम्म’ भन्ने नारा सहित इटहरीवासी कोही कसैको मृत्यु भएमा निःशुल्क घर देखी घाट सम्म लास पुर्याउिने काम शववाहान मार्फत हुँदै आएको छ ।
यस्तै इटहरी अस्पताललाई हस्तान्तरण गरिएको एम्बुलेन्सले इटहरी बासीलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ । यस्तै इटहरीको लागी सडक मर्मत गर्न ग्रेडर, रोलर, खरिद भएको छ ।
इटहरीको लागी एउटा मात्र दमकल अपुग भन्दै नयाँ दमकल समेत मेयर पौडेलकै पालामा खरिद भएका छन् ।
इटहरीमा विद्युतीय नगर बस खरिदबारे विवाद कायमै
इटहरी उपमहानगरपालिकाले ६ करोड ३६ लाख रुपैयाँ खर्चेर खरिद गरेको ४ ओटा बिद्युतिय नगर बसबारे विवाद र चर्चा अझै सेलाएको छैन। यो बस प्रयोगमा नआएको, यात्रुहरूले चासो नदिएको र अनावश्यक खर्च गरिएको भन्ने आरोपहरू उठिरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक चौधरीले प्रतिनिधिसभाको बैठकमै यस विषयलाई उठाउँदै भ्रष्टाचारको आशङ्का समेत व्यक्त गरेका थिए। उनले नगर बसको खरिद प्रक्रियामा पारदर्शिता नभएको र जनताको करको पैसा दुरुपयोग भएको भन्दै बिरोध गरेका थिए ।
स्थानीय स्तरमा पनि यस विषयमा आलोचना भइरहेका छन्। बासिन्दाहरूले बस प्रयोगमा नआएको, नियमित सेवा नपाएको र व्यवस्थापनमै कमजोरी देखिएको गुनासो गर्दै आएका छन्।
यसैगरी हरित नगरी इटहरी अभियान अन्तर्गत इटहरीमा धुलो पखाल्न तथा सुख्खा याममा पानी हाल्न रोड वासर समेत खरिद गरिएको छ । यसरी सवारी साधन खरिदमा आलोचित बनेका मेयर पौडेलमाथि खरिद मोह र भ्रष्ट्राचार गरेको आरोप समेत लागेको छ ।
तर, यी विषयहरूलाई अस्वीकार गर्दै पौडेल सवारी साधनका सामग्रीहरू इटहरीको आवश्यकताको विषय बनेको उपमहानगरपालिका श्रोत बताउँछ ।
थारु जाती पहिलो, सार्वजनिक बिदा
मेयरमा निर्वाचित भए लगतै नेपालमै पहिलो पटक थारु जातीलाई इटहरीको प्रथम जाती घोषण गरियो । यो सँगै उपमहानगरले थारु जातिको सम्मानका लागि नयाँ बर्ससँगै सुरु हुने सिरुवा पर्वको अवसरमा प्रत्येक वर्ष वैशाख ३ गते सार्वजनिक बिदा दिँदै आएको छ ।
थारु समुदायले आफ्ना कुल, पितृहरूको सम्झना गर्दै सामूहिक रूपमा पूजा गरिने स्थललाई देउथान वा ग्रामथानको सूचीकरणको काम पनि भएको छ । उपमहानगरले थारुलाई पहिलो जाति घोषणा गरेसँगै उनीहरूको धार्मिक तथा सांस्कृतिक भूमिको खोजी गर्दै संरक्षण गर्ने काम पनि सुरु भएको हो ।
यस्तै इटहरीका विभिन्न मठ मन्दिर निर्माण तथा पुर्न निर्माण विभिन्न भजन र्कितन मण्डलीहरूको उत्थान तथा धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणको लागी बजेटहरू विनियोजन हुँदै आएको समेत इटहरीका मेयर पौडेलले बताएका छन् ।
उज्यालो इटहरी अभियान, रोकिएला डुबान ?
इटहरी उपमहानगरपालिकाका विभिन्न वडामा १० हजार भन्दा बढी बत्ती जडान गरिएको बताइएको छ । यस्तै इटहरीका १५ वटा मुख्या चोकमा 'हाइमास्ट' लाइट समेत जडान गरिएको छ । इटहरीका सबै ठाउँ उज्यालो नहुन्जेलसम्म यो अभियान चलिरहने मेयर पौडेलले बताएका छन् ।
इटहरीको मुख्य चोक, उपमहानगरपालिका कार्यालय परिसर, हलगडा चोक, आँपगाछी चोक, तरहरा चोक, बूढीगंगा–जमुना मुक्तिघाट, खनार चोक र एनटिभी चोकमा बत्ती जडान गरिएको उपमहानगरले जनाएको छ ।
‘उज्यालो इटहरी’ अभियानअन्तर्गत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकसँगै बिजुलीका पोलमा बत्ती जडान गरिएको उपमहानगरले जनाएको छ । गत असारमा इटहरी १ बाट सुरु भएको बत्ती जडान कार्य इटहरीको २० वटै वडामा पुगेको छ । बजार क्षेत्रमा पर्याप्त सडक बत्तीको व्यवस्था भएपछि नै इटहरीमा चोरीका घटनामा कमी आएको छ ।
दिउँसोको समयमा हात्तीको बथान चारकोसे झाडीको जङ्गलमा गएर बस्ने र रात परेपछि बस्तीमा प्रवेश गरी घर भत्काउने र घरभित्र भण्डारण गरेर राखिएका अन्न खाने र मान्छेको ज्यानै लिने गरेपछि उपमहानगरले सडकमा बत्ती जडानको कार्यलाई तीव्रता दिएको जनाएको छ ।
इटहरीको ताल तलैया, पानीपिया र शान्तिनगर क्षेत्रमा जङ्गली हात्तीको समूहले बस्तीमा वितण्डा मच्चाउन थालेपछि बस्तीहरूका स्थानीय बासिन्दाहरूले टर्च लाइटको व्यवस्था गरिदिन आग्रह गरेका थिए तर अहिले जताततै सडक बत्ती जडान भएपछि हात्ती आतङ्क पनि कम भएको छ भने उज्यालोमा हात्ती देखिने भएपछि आक्रमणको जोखिम समेत कम भएको छ ।
सडक बत्ती रात पर्दा आफैँ बल्ने र उज्यालो हुँदा आफैँ बन्द हुने प्रविधि रहेको मेयर पौडेलले बताए । मुख्य राजमार्गहरूमा एक सय वाटको र भित्री सडकहरूमा ५० र ६० वाटको बत्ती जडान गरिएको उनले बताए । इटहरीको जङ्गल आसपास हात्ती आतङ्कबाट हुने क्षति कम गर्न, सहरमा चोरी बढ्दै गएको अवस्थामा त्यसलाई न्यूनीकरण गर्ने हिसाबले पनि पोलैपिच्छे बत्ती जडानको काम भएको उनको भनाइ छ ।
यसै गरी इटहरी वर्षै पिच्छे डुबानमा पर्ने र वर्षै पिच्छे मानिसको ज्यान जाने भइरहेको अवस्थामा मेयर पौडेलले इटहरीका खोला र नालाहरू सफा गरेका छन् । इटहरीको टेङ्ग्रा खोला किनारामा खोलाको जग्गा मिचेर बनाइएको साना र ठुला गरेर १०० भन्दा बढी घर र टहराहरू भत्काइएको छ । यस्तै इटहरी डुबानमा पर्ने विभिन्न स्थानहरूका नाला तथा ढल पनि सफा गरिएको छ ।
सिसी क्यामराको निगरानीमा इटहरी
इटहरी उपमहानगरपालिका अहिले सिसी क्यामराको निगरानीमा रहेको छ । अहिले इटहरीको पूर्वपश्चिम, उत्तर दक्षिण हाइवे, मुख्य बजार, व्यस्त बजार र सार्वजनिक स्थललाई सिसी क्यामराले निरन्तर निगरानी गर्दै सुरक्षा दिइरहेका छन् ।
जडान भएका सिसी क्यामराको व्यवस्थापन, इलाका प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालय र वडा नम्बर ६ ले गर्ने गरेको छ । विभिन्न स्थानमा जडान भएका सिसी क्यामराको डिस्प्ले मानिटर तथा कन्ट्रोल निश्चित स्थानमा राखिएको छ ।
दैनिक विभिन्न प्रकारका घटनाहरूको निगरानी गर्न तथा घटिसकेका घटनाहरूको अनुसन्धान गर्न सिसी क्यामराले प्रहरीलाई सहज बनाइदिएको छ । बजारमा शान्ति सुरक्षा कायम राख्न देखी लिएर विभिन्न समयमा हुने राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा पसेर हुलदङ्गा गर्ने समूहलाई निगरानी गरी व्यवस्थापन गर्न पनि सिसिक्यामरा सहयोगी बनेको प्रहरी अधिकारीहरू बताउँछन् ।
विशेष गरी चोरीका घटनामा चोरको पहिचान गर्न सिसिटिभी फुटेजले धेरै सहज भएको इटहरी प्रहरीको भनाई छ ।
इटहरीमा चोरीका घटनामा संलग्नको पहिचान गर्ने र पक्राउ गर्न सिसिक्यामराले सहज बनाइदिएको इलाका प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले बताए ।
सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा सो घटनामा संलग्नको पहिचान तथा कारबाही गर्न इटहरीमा जडान भएका सिसी क्यामराले सहज बनाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।
मुख्य गरी सवारी दुर्घटना हुँदा दुर्घटना गरी फरार भएका सवारी साधन तथा चालकलाई पक्राउ गर्न सिसी क्यामराले सहयोग पु¥याउदै आएको ट्राफिक प्रहरी बताउँछन् । तर स्थानियहरु भने सिसी क्यामेरा जडान गरिएको भए पनि मर्मत सम्भारको अभावमा कहिले कहिले यसले कामै नगर्ने गरेको बताउँछन् ।
आर्थिक सङ्कटले चुनावी बाचा पूरा गर्न अवरोध
अहिले देशभरिको स्थानीय तहहरूमा आर्थिक सङ्कट छ । सोही सङ्कटको चपेटाबाट इटहरी उपमहानगर पनि अछुतो रहन सकेको छैन । इटहरी उपमहानगरले उपभोक्ता समिति र ठेकेदार कम्पनीहरूलाई करोडौँ रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
उपमहानगरले भुक्तानी दिन नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको स्थितिमा देशै भरका स्थानीय तह आर्थिक सङ्कटमा परेको मेयर हेमकर्ण पौडेल बताउँछन् । उनी भन्छन् ‘आज देश मै वित्तीय समस्या छ । स्थानीय सरकारलाई दिएको अनुदान केन्द्र सरकारले समयमा दिन सकेको छैन । केही समस्या इटहरीमा पनि छन् जुन समाधान हुने प्रकारका छन् ।
देश भरिका पालिकामा सानो ठुलो समस्या छन् तर इटहरीलाई दलका कार्यकर्ता र दलीय मुख पत्र सञ्चार माध्यमबाट बदनाम गराईदैछ । इटहरी सरकारमा बहुमतमा बसेर जिम्मेवारी बहन गर्न नसक्ने नागरिक प्रतिको कर्तव्यको ख्याल नभएको छेपारो प्रवृत्ति, अथवा बिरालो धेरै भएर मुसा मार्न नसक्नुको दलीय छटपटी र आफू सही अर्को गलत भन्ने, बुझाउने र भ्रम छर्ने योजनाबद्ध प्रहारको कारण यो वर्ष समस्या भएको छ ।’
यस्तै आर्थिक सङ्कटले इटहरीमा निर्वाचन हुनु पूर्व गरिएका बाचा पुरा गर्न समस्या देखिएको छ । इटहरी चौक आसपास पार्किङ स्थल बनाउन आवश्यक जग्गा नभएको कारण समस्या भएको मेयर पौडेल नै बताउने गर्दछन् ।
इटहरीका पूर्व जनप्रतिनिधीहरुले पार्किङ चाहिन्छ भन्ने विचार नगरेको हुँदा पार्किङ स्थल बनाउने जग्गा नै नभएको र समस्या समाधानका लागी आफू प्रयासरत रहेको मेयर पौडेलले बताए ।
इटहरीका खेती खोला र सुकुमारी पैनीमा खोलाको जग्गा मिचेर बनाइएका घर तथा संरचनाहरू हटाउने कार्यमा आफू आफ्नो टिम लागिरहेको मेयर पौडेलले बताएका छन् । यसका अलावा इटहरीमा करोडौँ रुपैयाँ खर्चेर ल्याइएको नगर बस पनि अहिले प्रभावकारी नभएको भनेर आवाज उठिरहेको भए पनि त्यसको समाधानतर्फ इटहरी उपमहानगरको ध्यान नदिएको स्थानीयको आरोप समेत छ ।
इटहरी उपमहानगर प्रदेशस्तरीय मूल्याङ्कनमा दोस्रो कमजोर पालिका
सुनसरी जिल्लाका १२ स्थानीय तहमध्ये इटहरी उपमहानगरपालिका प्रदेशस्तरीय मूल्याङ्कनमा सबैभन्दा कमजोर देखिएको छ। स्थानीय शासन सुदृढीकरण सम्बन्धी सूचकहरूका आधारमा गरिएको यो मूल्याङ्कनमा इटहरीले जम्मा ३९.७ प्रतिशत अङ्क प्राप्त गरेको छ, जसले प्रदेशभरकै पालिकामध्ये दोस्रो कमजोर स्थानमा पारेको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको आयोगले निर्धारण गरेका १७ वटा सूचकका आधारमा गरिएको मूल्याङ्कनले इटहरी उपमहानगरपालिकाको प्रशासनिक दक्षता, वित्तीय व्यवस्थापन, सेवा प्रवाह र विकास कार्यक्रमको कार्यान्वयनमा गम्भीर कमजोरी रहेको सङ्केत गरेको छ।
यस नतिजाले तीन वर्षअघि कार्यभार सम्हालेको इटहरी नेतृत्वका योजनाहरू र कार्यान्वयन क्षमताप्रति प्रश्न उठाएको छ। आगामी दिनमा इटहरी उपमहानगरले सुधारको स्पष्ट रणनीति नल्याउने हो भने सेवा प्रवाहमा अझ बढी चुनौती सिर्जना हुनसक्ने देखिन्छ।
पौडेलको नेतृत्वमा इटहरी उपमहानगरपालिका विकासको यात्रामा केही सकारात्मक सङ्केतहरू देखिए पनि आर्थिक स्रोतको कमजोर व्यवस्थापन र कार्यान्वयनमा आएको ढिलाइले गर्दा ठुलो परिणाम हासिल गर्न भने चुनौती बनेको छ। अब बाँकी कार्यकालमा ती योजना पूरा गर्न सक्नेछ कि भन्ने कुरामा स्थानीयको निगरानी र समर्थन दुवै आवश्यक देखिन्छ।
प्रतिक्रिया