भिजिट भिसा प्रकरणबारे गगन थापाको तीन बुँदे कडा धारणा,गृहमन्त्रीको राजीनामाबारे के भने?

बुधबार, १४ जेठ २०८२

धरान : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणमा तीन बुँदे स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

बुधवार धरानमा आयोजित काँग्रेसको उप–महानगर सम्मेलनमा बोल्दै उनले राज्य संयन्त्रकै सहायतामा नागरिक ठगिने घटनालाई अत्यन्त गम्भीर बताउँदै दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका हुन्।

थापाले भने, “राज्य संयन्त्रको दुरुपयोग गर्दै नागरिकलाई ठगिएको यो प्रकरण गैर कानुनी मात्र होइन, अमानवीय पनि हो। यसमा संलग्न जोसुकै होस्—राजनीतिक होस् वा प्रशासनिक, अगाडिको होस् वा पछाडिको—कानुनी कारबाहीबाट उम्कनु हुँदैन।”

भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा कुनै दबाब वा प्रभावमा नपरी निडर ढङ्गले अघि बढ्नुपर्ने उनले बताए। “अनुसन्धानले जरा, हाँगा र बिँगा सबै खोज्नुपर्छ,” थापाले भने।

गृहमन्त्री रमेश लेखकको नामसमेत जोडिएको चर्चा–परिचर्चाबारे पनि उनले धारणा राख्दै भने, “कसैलाई कारबाही गर्नु कानुनी प्रमाणका आधारमा मात्र सम्भव हुन्छ।

गृहमन्त्रीमाथि हालसम्म ठोस प्रमाण नआएको अवस्था न्यायिक दृष्टिले जिम्मेवार ठहरिने अवस्था होइन।” यद्यपि, यदि अनुसन्धान गृहमन्त्रीसम्म पुग्ने हो भने उनले पदबाट अलग भएर अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्ने थापाको धारणा छ।

गगन थापाले संविधानले अख्तियारलाई दिएको जिम्मेवारीप्रति सबैले सम्मानजनक व्यवहार गर्नुपर्ने उल्लेख गर्दै अनुसन्धान प्रक्रियामा कुनै हस्तक्षेप नगरिनुपर्ने बताएका छन्। “हामी गृहमन्त्री लेखक इमानदार र कुशल व्यक्ति भएकोमा विश्वास गर्छौँ,” उनले भने, “तर कानुनी राज्यमा विश्वासभन्दा प्रमाण बलियो हुन्छ।”

महामन्त्री थापाको यो धारणा भिजिट भिसा प्रकरणको गम्भीरता, त्यसमा संलग्न सञ्जाल र राज्य संयन्त्रभित्रको संलग्नता उजागर गर्नुपर्ने मागका रूपमा आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार