इटहरीको प्लाइउड फ्याक्ट्रीमा लागेको आगो १७ घण्टासम्म नियन्त्रणमा आउन सकेन

१५ करोड बढीको क्षति

बुधबार, १४ जेठ २०८२

इटहरी : सुनसरीको खनारस्थित तिरुपति प्लाइउड फ्याक्ट्रीमा बुधवार बिहान २ बजेदेखि लागेको आगो १७ घण्टासम्म पनि नियन्त्रणमा आउन नसक्दा ठुलो क्षति भएको छ।

इटहरी उपमहानगरपालिका–१२ मा रहेको उक्त फ्याक्ट्रीमा लागेको आगोका कारण हालसम्म करिब १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, आगो अझै निभिन नसकेकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको सञ्चालक बसन्त राठीले जानकारी दिए।

आगो नियन्त्रणका लागि इटहरी, धरान, विराटनगर, बेलबारी, कानेपोखरीलगायतका १० भन्दा बढी पालिकाबाट आएका १८ वटा दमकल परिचालन गरिए पनि आगो पूरै नियन्त्रणमा आउन सकेको छैन। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत परिचालन गरी फ्याक्ट्रीमा रहेका बाँकी प्लाइउड तथा मेसिनरी सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ।

सञ्चालक राठीका अनुसार, हालसम्म झन्डै १५० ट्रक बराबरको प्लाइउड र मेसिनरी उपकरण पूर्ण रूपमा जलेर नष्ट भइसकेका छन्।

भारतले प्लाइउड आयातमा कडाइ गरेपछि फ्याक्ट्रीले पछिल्ला दुई महिनादेखि रातिको सिफ्ट बन्द गरेको थियो। सो फ्याक्ट्री नेपालभित्रै मात्र नभई भारतसमेत प्लाइउड निर्यात गर्ने गर्थ्यो।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार, फ्याक्ट्रीमा अत्यधिक ज्वलनशील सामग्री काठ र क्यामिकल हुँदा आगो नियन्त्रणमा समस्या भइरहेको छ।

आगलागीको कारण विद्युत् सर्ट हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। आगो पूर्ण रूपमा निभिएपछि मात्र क्षतिको पूर्ण विवरण बिहीबार सार्वजनिक हुने डिएसपी भण्डारीले बताएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार