नेपालमा मनसुन र बाढी : जोखिम कसरी घटाउने?

विहीबार, १५ जेठ २०८२

२०१९ को एसियाली विकास बैङ्कको प्रतिवेदन अनुसार बाढी प्रकोपबाट नेपालमा वार्षिक रूपमा औसतमा १४ करोड अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ। सोही प्रतिवेदनमा यी क्षति नेपालको कुल गार्हस्थ्य उत्पादनको १.४ प्रतिशत बराबर हुन्छ भनी लेखिएको छ।

प्रकाश रेग्मी

पृष्ठभूमि

नेपालमा मनसुन मौसम सामान्यतया जुन महिनाको मध्यतिर सुरु हुन्छ र सेप्टेम्बरसम्म जारी रहन्छ। सबैभन्दा धेरै वर्षा सामान्यतया जुलाई र अगस्टमा हुन्छ। तर यस वर्ष २०८२ मा पिर्-मनसुनकै अवधिमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलामा आएको बाढी र हुम्ला जिल्लामा १ जेठ २०८२ को राति भएको हिम पहिरोबाट सिर्जित बाढीले अग्रिम विपद् जोखिमको अलार्म गराएको आभाष मिल्छ।  

नेपालमा मनसुन सामान्यतया जुन महिनाको १३ तिर सुरु हुन्छ र सेप्टेम्बर २३ सम्म रहन्छ। यस अवधिको वर्षाले देशको कुल वार्षिक औसत वर्षाको ८० प्रतिशत भाग समेट्दछ। यद्यपि, नेपालमा मनसुनको अवधि जुन महिना १३ देखि सेप्टेम्बर २३ सम्म भनिए तापनि यसको सुरु मिति र समाप्तिको मिति प्रत्येक वर्ष फरक-फरक हुने गरेको छ। नेपालको औसत वार्षिक वर्षा १६०० मिलिमिटर हुने गरेकोमा कहिलेकाहीँ १८०० मिलिमिटरसम्म पनि हुने गरेको रेकर्डहरू छन्।  

भारतीय मौसम विज्ञान विभागले मे १३, २०२५ मा दक्षिण बङ्गालको खाडी, दक्षिणी अण्डमान सागर, निको बार टापुहरू र उत्तरी अण्डमान सागरका केही क्षेत्रहरूमा सामान्य तालिकाभन्दा एक हप्ता अगाडि मनसुन सुरु हुने घोषणा गरेको छ। मे १९, २०२५ मा प्रकाशित काठमाडौँ पोस्टका अनुसार यस वर्ष नेपालमा मनसुन सामान्य मितिभन्दा एक हप्ताअगाडि नै प्रवेश गर्न सक्छ छ। साथै नेपालमा यस वर्ष औसत वार्षिक वर्षाभन्दा ५ देखि १० प्रतिशत बढी हुने पनि प्रक्षेपण गरेको छ।

नेपालको धरातलीय स्वरूप

नेपाल तीन किसिमको धरातलीय स्वरूपमा विभाजित छ। उत्तरमा हिमालय क्षेत्र, बिचमा पहाडी भाग र दक्षिणमा समतल मैदान रहेको छ। भूकम्प प्रभावित क्षेत्रमा अवस्थित यो इलाकाको उच्च हिमाली क्षेत्रमा बारम्बारको भूकम्पका धक्काहरूको कारण हिमालय क्षेत्र खुकुलो हुँदै जाँदा कमजोर धरातलीय अवस्थामा रहेका छन्। अर्कोतिर बढ्दो वायुमण्डलीय तापक्रमको कारण हिउँ पग्लने क्रम पनि तीव्र छ। यसै कारण हिमालय क्षेत्रमा हिम पहिरोका सङ्ख्यामा वृद्धि हुनाको साथै पानीको बहावको मात्रामा पनि वृद्धि भएको छ। हिमाली भागभन्दा तलतिर रहेको पहाडी भागमा बढ्दै गएको भूमि उपयोगको चापले भूमि खुकुलो भई मनसुनको समयमा लेदोसहितको पानी हिमाली भेगबाट आएका नदीमा मिसिन गई बहाव बढ्न जान्छ। अतिरिक्त पानी र त्यसमा मिसिएका लेदो पदार्थले तराई क्षेत्रमा बाढीको सम्भाबवलाई बढाउँदै लगेको छ।

नेपालमा बाढीबाट भएको क्षतिको विवरण

हिमाली र पहाडी भागबाट आएका नदीहरू तराईमा पुगेपछि नदीको बहाव गतिमा सुस्तता सुरु हुँदै गर्दा नदीले बगाएर ल्याएका पदार्थहरू नदीको पिँध र किनारामा थुप्रिँदै जान्छन् र नदीको सिमानाभित्र रहेर पानी प्रवाह हुन सक्ने क्षमतामा कमी हुँदै गएको छ। अर्थात् नदीको आफ्नो मार्ग साँघुरिँदै गएको छ। यसरी वर्षायाममा खोलाको पानी आफ्नो नियमित मार्गमा अटाउन नसकी नदी मार्गको किनारातिर पोखिन जान्छ र नदीको तल्लो तटीय क्षेत्रमा बाढीको सम्भावनालाई बढाउँछ। यसरी दक्षिण एसियामा बाढीको जोखिममा बङ्गलादेशपछि नेपाल दोस्रो उच्च स्थान र विश्वमा बाढी विपद् जोखिममा ११ औँ स्थानमा पर्दछ।

२०१९ को एसियाली विकास बैङ्कको प्रतिवेदन अनुसार बाढी प्रकोपबाट नेपालमा वार्षिक रूपमा औसतमा १४ करोड अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ। सोही प्रतिवेदनमा यी क्षति नेपालको कुल गार्हस्थ्य उत्पादनको १.४ प्रतिशत बराबर हुन्छ भनी लेखिएको छ।

यस लेख तयार पार्ने क्रममा तथ्याङ्कको लागि संयुक्त राष्ट्र सङ्घको प्रकोप सम्बन्धित तथ्याङ्क र भण्डारण गर्ने निकाय ‘डेसिनभेन्टर’ र  नेपाल सरकारको विपद् जोखिम न्यूनीकरण पोर्टलका तथ्याङ्कलाई आधार बनाइएको छ। विगत ४८ वर्ष (सन् १९७१ देखि सन् २०१९ सम्म)को बाढी प्रकोपको छोटो विवेचना गरिएको छ। 

बाढी लगभग सबै किसिमको धरातलमा आउन सक्छ। जहाँसुकै पानी भएको ठाउँमा बाढी आउन सक्ने अनुमान लगाउन सकिन्छ। भारी वर्षा हुने क्षेत्र, हिउँ पग्लिने सम्भावना भएका क्षेत्रहरू, नदी तट र ताल तटजस्ता पानीका स्रोतहरू वरपर बाढी आउने सम्भावना बढी हुन्छ। बाढी प्रकोपको जोखिममा पर्ने  सामान्य क्षेत्रहरूमा, मैदानी क्षेत्र, तल्लो तटीय क्षेत्रहरू, कमजोर पानीको निकास भएका सहरी क्षेत्रहरू, नदी र पहाडी किनारहरूलाई बाढीको प्रकोप हुन सक्ने क्षेत्रमा समावेश गरिन्छन्।

नेपालको उत्तर पट्टी रहेको हिमालय क्षेत्रमा वर्तमानको ग्लोबल वार्मिङका कारण बढ्दै गएको तापक्रमले अतिरिक्त हिउँ पग्लने क्रम जारी छ। जसका कारण हिमाली भेगमा वर्षा नहुँदै पनि नदीहरूमा पानीको बहाव बढ्ने गरेको छ र साथै त्यस भेगमा रहेका हिमताल फुटेर बाढी आउने गरेको छ। त्यस्ता बाढीका सङ्ख्या कम भएका भए पनि त्यसबाट हुने क्षतिको मात्रा अत्यधिक हुने गरेको छ।

नेपालको बिचमा रहेको पहाडी भागमा अत्यधिक मानवीय क्रियाकलापका कारण भू-क्षयमा तीव्रता आएको छ। यसले गर्दा नदीका किरानी भागमा निर्माण गरिएका संरचनाहरू बाढीको प्रकोपको चपेटामा पर्ने गरेका छन्।  

नेपालको तराई प्रदेश बाढी प्रकोपको पर्यायवाचीजस्तै बनेको छ। प्रत्येक वर्ष तराईमा ठुलो मात्रामा धनजनको क्षति हुने गरेको छ। यसरी विगत ४८ वर्षको अवधिमा जम्मा ४३ सय बाढीका घटना रेकर्ड भएका छन्। ती घटनाहरू पूर्वी तराईमा अत्यधिक छन्। 

सुदूर पूर्वको झापा जिल्लामा सबैभन्दा बढी (२३२ घटना) बाढी प्रकोपको घटना रेकर्ड गरिएका छन्। त्यसपछि क्रमशः रौतहट (२२१ घटना), सर्लाही (१९७ घटना), मोरङ (१८० घटना), सप्तरी (१८० घटना), सुनसरी (१५४ घटना) र कैलाली (१५० घटना) रहेका छन्। बाढी प्रकोपको कारण सोही अवधिमा जम्मा तीन हजार पाँच सय ६७ जनाको ज्यान गुमेको रेकर्ड छ। बढी मानव क्षति हुने जिल्लाहरू क्रमशः सर्लाही (७३४ जना), मकवानपुर (२५६ जना), सिन्धुली (२३९ जना), रौतहट (१८३ जना), चितवन (१७० जना), मोरङ (१२० जना) र झापा (११२ जना) रहेका छन्।

नेपालमा बाढी प्रकोप न्यूनीकरणका विकल्पहरू

सूचना नेटवर्क

 अहिलेको संसारमा सूचनाको पहुँच एक शक्तिशाली औजारको रूपमा प्रयोग हुँदै आएको छ। बाढी प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सूचनाको महत्त्वपूर्ण भूमिका हुन सक्ने कुरामा दुई मत हुन सक्दैन। संसारमा अहिले विभिन्न किसिमका मौसम सम्बन्धित सूचनाहरू विभिन्न स्याटलाइटहरूबाट उपलब्ध गर्न सकिन्छ। उक्त सूचनाहरू एक क्लिकको भरमा देशभर पुर्‍याउन सकिन्छ।

जसको लागि दूरसञ्चार प्रदायक कम्पनीको सहयोग लिन सकिन्छ। हाल नेपालमा झन्डै ७५ प्रतिशत नेपाली जनतामा मोबाइल फोनको पहुँच रहेको छ। उक्त सञ्चारको माध्यमबाट सम्भावित वर्षाको पूर्वानुमान र बाढी जान सक्ने सम्भावित क्षेत्रहरूको पहिचान गरी सूचना प्रसार गरी स्थानीय बासिन्दाहरूलाई सजग गराई क्षति कम गराउन सकिन्छ।   

प्रतिधारण पोखरीहरू

 नेपालको हिमाली र पहाडी भागमा असङ्ख्य खोँचहरू रहेका छन्। ती खोँचहरूमा स-साना परियोजनाबाट अस्थायी रिटेन्सन पोखरीहरू निर्माण गरी अतिरिक्त आँधीबेहरीको पानीलाई सङ्कलन गरी, आँधीबेहरीको समाप्तिपछि क्रमशः छोडिन्छ र यस प्रक्रियाले परम्परागत पानी निकास प्रणालीमा पर्ने दबाब कम हुन्छ र बाढीको जोखिम पनि कम हुन्छ। 

अर्थात् ती मानव निर्मित स-साना पोखरीहरूमा पानीलाई अस्थायी रूपमा रोकेर राखिन्छ र भारी वर्षा सकिएपछि सङ्कलित पानीलाई नियन्त्रित दरमा छोडेर तल्लो तटीय क्षेत्रमा हुन सक्ने बाढीको जोखिमलाई कम गर्न सकिन्छ। यस्ता किसिमका परियोजनाहरू स्थानीय निकायहरूबाट नै देशभर सञ्चालन गरी बाढीको जोखिमलाई कम गर्न सकिन्छ। 

मेगा प्रोजेक्टहरू

वर्तमान समयमा भएको विज्ञान र प्रविधिको विकासले असम्भवजस्तो लाग्ने लगभग सबै जसो कुराहरू सम्भव तुल्याएको छ। भारत सरकारले विस्तृत नदी जोड परियोजना अन्तर्गत एक-आपसमा नहर वा कृत्रिम नदीहरू निर्माण गरेर धेरै नदीहरूलाई जोड्ने परियोजना अन्तर्गत काम गरिरहेको छ।

यसको मुख्य उद्देश्य बाढीग्रस्त क्षेत्रहरूबाट खडेरीग्रस्त क्षेत्रहरूमा अतिरिक्त पानी स्थानान्तरण गर्नु हो। क्यानडामा रहेको कोलम्बिया नदीको पेन्टिकटन बाँध निर्माणको लागी अमेरिकाले ठुलो मात्रामा लगानी गरेको थियो।

यसको मुख्य उद्देश्य उक्त नदीको सम्भावित बाढीबाट अमेरिकाको वासिङ्टन राज्यमा हुन सक्ने बाढीको प्रकोपबाट संरक्षण गर्नु थियो। यसरी अमेरिकाको सम्भावित बाढी प्रकोप न्यूनीकरण गर्न क्यानडाको जमिन डुबानमा पर्ने गरी बनाइएको पेन्टिकटन बाँधबापत वार्षिक रूपमा अमेरिकाले क्यानडा सरकारलाई रोयल्टी बुझाउने गरेको कुरा पत्रिकाहरूमा पढ्न पाइन्छ।

पाकिस्तान भएर सिन्धु नदीको अपर रिपेरियन क्षेत्रमा भारत सरकारले विभिन्न बाँधहरू निर्माण गरी बाढी सम्भावित क्षेत्र र सूखा क्षेत्र बिच समायोजन गर्दै आएको छ। गएको मे महिनाको ७ तारिख २०२५ देखि मे १० तारिख २०२५ सम्म भारत र पाकिस्तानबिच द्वन्द्व बढेको बेला ती माथिल्लो नदी क्षेत्रमा निर्माण गरिएका बाँधहरूलाई दुरुपयोग गर्ने धम्कीसमेत भारत सरकारले गरेका समाचारहरू आएका थिए।

नेपाल भारत र बङ्गलादेशका लागि अपर रिपेरियन क्षेत्रमा पर्ने मुलुक हो। नेपालबाट बहने नदीहरूले भारत र बङ्गलादेशका क्षेत्रहरूमा सुख्खा हुने हिउँदको समयमा सिँचाइको लागि महत्त्वपूर्ण भूमिका खेल्छन् भने वर्षायाममा बाढीको समस्या सिर्जना गर्दछन्।

यस्तो परिस्थितिमा हिउँदमा पानीको आपूर्तिलाई सन्तुलन राख्न र वर्षातको समयमा बाढीको प्रकोपबाट बच्न त्रिदेशीय सहकार्य र साझेदारीमा विभिन्न नदीहरूलाई नेपालमा रहेका पहाडका फेदीहरूमा सुरुङहरू निर्माण गरी एक-अर्कासँगै आन्तरिक नदी जोडजस्तो मेगा परियोजनाहरूको अवधारणाको सुरुवात प्रयासमा किन विलम्ब गर्ने?

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार