सुनसरीमा प्रहरीको ‘एक्सन’ले धमाधम पक्राउ पर्दै फरार प्रतिवादी

मंगलबार, २० जेठ २०८२

इटहरी : अदालतबाट दोषी ठहर भएर कैद तथा जरिबानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गर्न सुनसरी प्रहरी सक्रिय बनेको छ । 

‘एक्सन’मा गएको प्रहरीले फरार रहेका अपराधीलाई पक्राउ गर्न विशेष अभियान नै चलाएको छ । जसका कारण सुनसरी प्रहरीले हालसम्मकै उल्लेखनीय सफलता हासिल गरेको छ। अपराधमा संलग्न भए पनि वर्षौंसम्म सजाय भुक्तान नगरी लुकीछिपी बसेका कुख्यात अपराधीहरूलाई पक्राउ गर्न थालेपछि कानुनी शासनप्रति जनताको भरोसा बढ्न थालेको निष्कर्ष प्रहरीले निकालेको छ । 

सुनसरीको गढी गाउँपालिका–५ होलैयाका विनायककुमार यादव २०६९ कात्तिक २३ गते झुम्का कारागारबाट ११ जना अन्य कैदीसहित सुरुङ खनेर फरार भएका थिए । पछि सप्तरीको गोबरगाडाबाट पक्राउ परेका उनलाई सिन्धुपाल्चोक कारागार चलान गरिएको थियो।

तर, २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि जेलको संरचना क्षतिग्रस्त भएका बेला उनी फेरि भाग्न सफल भए। दुईपटक कारागारबाट भागेका विनायक लामो समय भारतमा लुकेर बसे । 

उनलाई सुनसरी प्रहरीले २०८१ कात्तिक २२ गते कोशी गाउँपालिका–८ को नेपाल–भारत सीमा क्षेत्रस्थित पत्थरचट्टानबाट पक्राउ गर्यो । पक्राउको प्रयासमा भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको थियो। 

सुनसरी अदालतले कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दामा दोषी ठहर गर्दै २०६५ साल जेठ ८ गते उनलाई २० वर्ष ८ महिना १४ दिन कैद सजायको फैसला सुनाएको थियो । २०६५ वैशाख १६ गते गोली हानेर प्रकाशपुरका केशव कार्कीको हत्या गरेको अभियोगमा विनायक दोषी ठहर भएका हुन् । 

त्यसैगरी, धनकुटा जिल्ला अदालतले २०७० साल पुस ४ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भइ २० वर्ष कैद सजाय सुनाइएका बराहक्षेत्र नगरपालिका–१ का शम्भु सिक्तेन राईलाई सुनसरी प्रहरीले ११ वर्षपछि २०८१ चैत ३ गते पक्राउ गर्यो । 

सजाय नकटाई उनी फरार बनेका थिए । इलाका प्रहरी कार्यालय चतराको टोलीले शम्भुलाई २०८१ साल चैत ३ नियन्त्रणमा लियो । प्रहरीले बुझाएपछि सुनसरी अदालतले उनलाई सजाय भुक्तानका लागि झुम्का कारागार चलान गर्यो । 

यस्तै, २०८० साल चैत ९ गते अदालतबाट १६ वर्ष ८ महिना कैद सजाय सुनाइएका सुनसरीको रामधुनी नगरपालिका–७ का निशान्तकुमार चौधरीलाई पनि प्रहरीले २०८१ पुस २८ गते राति पक्राउ गर्यो । सुनसरी अदालतबाट कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका उनाई पनि प्रहरीले पक्राउ गरेपछि कारागार चलान गरियो । 

प्रहरीका अनुसार, पछिल्लो समय अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै सुनसरीमा विशेष अभियान सञ्चालन गरिएको छ। अपराध गरेर फरार भएका र सजाय नकटाई लुकेका प्रतिवादीको खोजी तीव्र पारिएको छ। 

सुनसरी प्रहरीका प्रवक्ता तथा डीएसपी योगराज खतिवडाले अदालतको फैसला अनुसार कैद तथा जरिबाना भुक्तान नगरेका प्रतिवादीलाई पक्राउ गर्ने अभियान निरन्तर चलिरहेको बताए। ‘हामीले पछिल्लो समय सूक्ष्म अनुसन्धानका आधारमा खोजी तीव्र पारेका छौं,’ डीएसपी खतिवडाले भने, ‘अपराधी जति नै लुके पनि अन्ततः कानुनको दायरामा ल्याउने हाम्रो उद्देश्य हो। प्रहरीको अभियान प्रभावकारी भएको छ।’

उनका अनुसार चालु आर्थिक वर्ष २०८१–०८२ को वैशाख मसान्तसम्ममा सुनसरी प्रहरीले ९ सय ४७ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाबाट २ सय ४९ वर्ष ३ महिना २२ दिन कैद र १४ करोड ४० लाख २ हजार ९९ रुपैयाँ जरिबाना असुल भएको खतिवडाले बताए । 

यसअघिका वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिना सुनसरी प्रहरीले चलाएको अभियान सबैभन्दा प्रभावकारी बनेको छ । आर्थिक वर्ष २०८०–०८१ मा १ सय ५५ जना फरार प्रतिवादी पक्राउ परी १ सय ९७ वर्ष १० महिना ७ दिन कैद र ६ करोड ८८ लाख ७७ हजार २ सय ८ रुपैयाँ जरिबाना असुल गरिएको थियो। २०७९–०८० मा ५ सय ५२ जना प्रतिवादी पक्राउ परी १ सय ६५ वर्ष ५ महिना १६ दिनको कैद र ४० लाख ७५ हजार ४ सय ४४ रुपैयाँ जरिबाना असुल गरिएको थियो।

अझै पनि सुनसरीमा अदालतबाट दोषी ठहर भएका २ हजार २ सय १३ जना प्रतिवादी फरार रहेका छन् । भागिरहेका अपराधीबाट ३ हजार १ सय ६० वर्षभन्दा बढी कैद र १७ करोड ७३ लाख ६५ हजार रुपैयाँभन्दा बढी जरिबाना असुल्न बाँकी रहेको छ।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले फरार अपराधी पक्राउका लागि प्रहरीले चलाएको अभियानबाट न्याय प्राप्तिमा पीडितलाई राहत पुगेको बताए। उनका अनुसार ‘घरगाउँमै लुकीछिपी बसिरहेका अपराधीहरू धमाधम पक्राउ पर्न थालेपछि पीडितले न्याय पाउने विश्वास गरेका छन्। ‘समग्र शान्ति सुरक्षाको अवस्था बलियो भएको छ । प्रहरीमाथिको विश्वास बढेको छ,’ तिमल्सिनाले भने । 

उनले अपराध गरेर उम्किन सकिन्छ भन्ने मानसिकता अन्त्य गर्न प्रहरी सक्रिय रहेको उल्लेख गरे। ‘प्रहरीको सक्रियताले कानुनप्रतिको भरोसा बढेको छ,’ तिम्सिनाले भने, ‘हामी अपराध गरेमा सजाय अनिवार्य हुन्छ भन्ने सन्देश दिन चाहन्छौं। अपराधी जति नै चलाख भए पनि कानुनको कठघरामा ल्याउन प्रहरी सक्षम भएको प्रमाणित गरिरहेका छौं।’

सुनसरीका एसपी तिम्सिनाका अनुसार प्रहरीले पछिल्लो समय अदालतको आदेश कार्यान्वयन, न्यायको अनुभूति र अपराधविरुद्ध जनविश्वास बढाउने अभियानलाई थप सशक्त बनाउँदै लगेको छ। अपराध गरेर उम्किन सकिन्छ भन्ने धारणा चिर्दै अपराधीलाई पक्राउ गर्न प्रहरी अग्रसर बनेको उनको भनाइ छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले पनि अदालतको फैसला कार्यान्वयनमा प्रदेशभरिका प्रहरी कार्यालयलाई विशेष निर्देशन दिइएको बताए। ‘अदालतबाट दोषी ठहर भए पनि फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न पूर्ण विवरणसहित हामी अभियानमा छौं,’ उनले भने, ‘कानूनको नजरबाट कोही पनि उम्कन सक्दैन। अपराधीलाई सजाय दिनु नै कानुनी शासनको मुख्य उद्देश्य हो।’

उनका अनुसार अपराधी उम्किरहँदा कानुन कार्यान्वयनमा चुनौती थपिन्छ र विधिको शासन कमजोर भएर पीडितले न्याय पाउँदैनन्। ‘कानूनको आँखाबाट भाग्न सकिँदैन भन्ने सन्देश जनतामा प्रवाह गर्न हामी अझ सशक्त ढंगले अभियान चलाइरहेका छौं,’ डीआईजी कार्कीले भने।

कतिपय अपराधीको नाम, थर, वतन अस्पष्ट भएका कारण पहिचान गर्न चुनौती देखिएको प्रहरीको भनाइ छ। कतिपय अदालतबाट साधारण तारेख वा धरौटीमा छुटेका व्यक्ति पछि सजाय सुनाइएपछि फरार हुने गरेका छन्। फैसला कार्यान्वयनमा जुटेको प्रहरीले त्यस्ता प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको डीआईजी कार्कीले बताए ।

यो पनि-लागुऔषधको ‘हट स्पट’सुनसरी: भारतसँग सीमा जोडिएको कारण नियन्त्रण चुनौतीपूर्ण
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार