विराटनगर : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान गर्न दिनु आवश्यक रहेको बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हाल गृहमन्त्री रमेश लेखकसँग जोडिएको विषयमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप हुनु नहुने स्पष्ट पारे।
महामन्त्री थापाले यो घटनाले कानुनी सुधारको खाँचो औंल्याएको भन्दै अख्तियारलगायतका अनुसन्धान निकायहरूको संरचना, भूमिका र कार्यप्रक्रियामा सुधार गर्न आवश्यक रहेको धारणा राखे।
त्यसैगरी, कांग्रेसको आउँदो १५औं महाधिवेशनबारे सोधिएको प्रश्नमा उनले अहिले त्यसबारे सोच्ने समय नभएको बताए। आफू १४औं महाधिवेशनमा पाएको जिम्मेवारी पूरा गर्नतिर केन्द्रित रहेको जानकारी पनि उनले दिए।
महामन्त्री थापा लोकतान्त्रिक याक्थुङ संघको अधिवेशनमा सहभागी हुन धरान आएका हुन्।
प्रतिक्रिया