धरान : नेपाली कांग्रेस निकट जातीय भातृ संगठन नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बु) संघको प्रथम केन्द्रीय महाधिवेशनले उत्तम सिंह थाङदेनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। शनिबार सम्पन्न निर्वाचन सत्रमा थाङदेनको नेतृत्वमा ३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
नवगठित कार्यसमितिमा उपाध्यक्ष पदमा विवेक योङहाङ, गोमा आङदम्बे, शम्सेर तुम्बाहाम्फे, जापान थेबे र पंच प्रतीक थलङ चयन भएका छन्। महासचिवमा भवानी विक्रम सम्बाहाङफे चयन हुँदा उपमहासचिवमा चक्र येक्तेन अभिषेक, हेमकुमार आङगला, भेषराज चेम्जोङ, विष्णुकुमार सेन्दाङ लिम्बु र दिलीपकुमार आङबो चयन भएका छन्।
त्यस्तै कार्यसमिति सदस्यमा बाबुराम शेर्मा, रगमान थेबे, हस्तकला बेघा वनेम, भीमबहादुर चेम्जोङ, शान्ता नेम्वाङ, मुना आङदेम्बे, ढकलसिंह लिम्बु, प्रमीला जवेगु, सीता योङहाङ, विधान लिम्बु, प्रमेश विक्रम नेम्वाङ, सुजन सुब्बा फागो, अमृता लिम्बु, मोहन कुमार लिम्बु, तुमरान लिम्बु, आलोकहाङ लिम्बु, किस्मत फोम्बो लगायत रहेका छन्।
संस्थाको विधानअनुसार नव निर्वाचित अध्यक्षले भूगोल र समावेशी प्रतिनिधित्वका आधारमा थप सदस्य मनोनीत गर्न सक्ने व्यवस्था रहेको छ।
महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरेका थिए। तीन दिनसम्म चलेको बन्द सत्रमा कोशी प्रदेशअन्तर्गतका अरुण कोशी पूर्व लिम्बुवान क्षेत्रका ९ जिल्ला तथा काठमाडौं उपत्यकासहित १० वटा जिल्ला समितिका प्रतिनिधि, पर्यवेक्षक र तदर्थ समितिका पदाधिकारीसहित १०० भन्दा बढीको सहभागिता रहेको थियो।
महाधिवेशनमार्फत संगठनलाई मजबुत पार्दै लिम्बु समुदायको हक, अधिकार र पहिचानको सवालमा सक्रिय भूमिका खेल्ने तयारी संघले लिएको छ।
प्रतिक्रिया