इटहरी : बारा जिल्लाको सिमरा उपमहानगरपालिका निवासी रानी चौधरी होस नभएको अवस्थामा कहिले मुर्छा पर्छिन्, कहिले होसमा आएर पुकार्छिन् – “रुपलाल...रुपलाल...” ।
उनी फत्तेपुरका २२ वर्षीय छोरा रुपलाल चौधरी गुमाएको शोकमा छिन् । एक छिन रुँदै, अर्को छिन चिच्याउँदै बेहोस हुने उनको अवस्था यति नाजुक छ कि बोल्नका लागि पनि शक्ति बाँकी छैन ।
उनी सहित पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज ढल्दा एकै पटक तीन युवा गुमाएका फत्तेपुर गाउँ नै अहिले शोकमा डुबेको छ ।
शनिवारको बिहानको त्यो कालो खबरले फत्तेपुर गाउँका तीन घरको उज्यालो निभायो – रूपलालसँगै २२ वर्षीय राकेश चौधरी र २७ वर्षीय राजन चौधरी पनि अस्ताएका हुन् ।
रुपलाल अविवाहित थिए, तर राकेश र राजनको पछाडि रोइरहेका छन् श्रीमती र साना छोराछोरी । राकेशकी पत्नी रञ्जिता आफ्नो ९ वर्षीया छोरीलाई काखमा च्यापेर बाटो हेर्दै भन्दै थिइन्, “अब यो छोरीलाई के भन्ने ? उसले त अझै सोधिरहेकी छे, बाबु किन फर्किएनन् ?”
राजनका दुई छोराहरू ११ र १३ वर्षका छन् । उनीहरू अझै पनि बुबाको प्रतीक्षा गरिरहेका छन् । तर, आमाको चिच्याहट, हजुरआमाको बारम्बार बेहोस हुने अवस्था र घरमा जम्मा भएका छिमेकीको रुवाबासीले उनीहरूलाई पीडाको परिभाषा सिकाउँदै छ ।
राजनकी आमा तेतरीदेवी र पत्नी भोजियादेवी अर्धचेत अवस्थामा छन् – आँखाभरि आँसु र मनभित्र शून्यताले छाएको छ ।
गत शनिवार निर्माणाधीन बेलिब्रिज भाँचिदा तीन जनाको ज्यान गएको थियो भने तीन जना गम्भीर घाइते भएका छन् । पुल भाँचिँदा त्यहीँ काममा संलग्न मजदुरहरू खोलामा खस्दा ६ जना घाइते भएका थिए ।
घाइतेहरूलाई सुरुमा फिदिम अस्पताल लगिएको भए पनि अवस्था गम्भीर भएपछि सबैलाई विराटनगरस्थित नोबल अस्पतालमा थप उपचारका लागि पठाइएको थियो ।
नोबल अस्पतालमा उपचारका क्रममा उनीहरूको ज्यान गएको हो । यसैगरी अन्य तीन जना भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीको भने विराटनगरमै उपचार भइरहेको छ ।
यो पनि
प्रतिक्रिया