लोकगायिका कविता आलेलाई ‘प्रथम सरु सङ्गीत राष्ट्रिय पुरस्कार’

विहीबार, १५ साउन २०८२

ललितपुर : नेपाली लोकसंगीतमा पाँच दशकदेखि अविचल साधना गर्दै आएकी वरिष्ठ लोकगायिका कविता आलेलाई यस वर्षको प्रथम सरु सङ्गीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ। सरु सङ्गीत घरले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा उक्त निर्णय सार्वजनिक गर्दै आलेलाई सम्मान गर्न पाउँदा ‘गर्वको अनुभूति’ भएको जनाएको छ।

उक्त पुरस्कार प्रतिष्ठान स्व. सरस्वती निरौलाको स्मृतिमा स्थापना गरिएको हो, जसको संयोजन सङ्गीतकार कोमल निरौला र उनका परिवार - श्रीमती इन्दिरा निरौला, छोरा डेनी निरौला, भिषण निरौला, गायिका झुमा निरौला लगायतले गरेका हुन्। पुरस्कार स्थापनाका लागि रु. पाँच लाखको अक्षयकोष निर्माण गरिएको छ। पुरस्कार राशि रु. २५,५०५/- तोकिएको छ।

पुरस्कार छनोट समितिमा संयोजक सङ्गीतकार कोमल निरौलासहित वरिष्ठ गायक/सङ्गीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, साहित्यकार डा. रत्नमणि नेपाल र सदस्यसचिव डेनी निरौला रहेका छन्। समितिले वरिष्ठता, योगदान र प्रभावको आधारमा कविता आलेको नाम चयन गरेको हो।

गायिका आलेले पाँच दशकदेखि नेपाली लोकगीतको प्रवर्द्धनमा अनवरत योगदान दिएकी छन्। स्वदेश तथा विदेशमा नेपाली लोकसंगीतको पहिचान स्थापना गर्नुका साथै,चालिस वर्ष उमेर पार गरेका नेपाली महिलालाई लक्षित पुरस्कार मापदण्ड पूरा गरेकाले उनलाई पुरस्कार दिने निर्णय भएको हो। यो सम्मान २०८२ भाद्र १४ गते शनिवार सरु सङ्गीत घरको पाँचौँ वार्षिकोत्सवमा प्रदान गरिनेछ।

सरु सङ्गीत घर, ललितपुरको महालक्ष्मी नगरपालिका–५ मा रहेको एक प्रतिष्ठित सङ्गीत विद्यालय हो। पाँच वर्षदेखि सञ्चालनमा रहेको यस संस्थाले गायन (क्लासिकल,आधुनिक, लोक) र वाद्यवादन (हार्मोनियम, मादल, गिटार, किबोर्ड, तबला) मा ८५ जना विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक सङ्गीत शिक्षा प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार